विद्युत् प्राधिकरणमा कुलमानको दोस्रो कार्यकाल, यस्ता छन् उनका कार्ययोजना



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबारबाट दोस्रो कार्यकाल शुरु गरेका छन् ।
घिसिङको स्वागतका लागि प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो केही योजना र उनको नेतृत्वमा प्राधिकरण कसरी अगाडि बढ्ने भन्ने सार्वजनिक गरेका छन् ।

घिसिङले आफू निकै चुनौतीका बीच प्राधिकरणको नेतृत्वमा आएको र दोस्रो कार्यकाल अझ सफल बनाउनका लागि कुनै पनि विषयमा सम्झौता नगर्ने बताएका छन् ।

घिसिङले कर्मचारी हेरफेर र संगठनात्मक संरचना परिवर्तनको कुरा गरेपनि आफूले सबै कर्मचारीलाई उत्तिकै संरक्षण गर्ने र अविभावक भएर काम गर्ने बताएका छन् ।

यस्तो छ घिसिङको स्वागत कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंशः
म जुन हिसाबले यहाँ आएको छु, यो मेरा लागि निकै ठूलो चुनौती हो । यसअघि प्राधिकरणको नेतृत्व सम्हालिरहेका हितेन्द्रदेव शाक्यलाई पनि सरकारले न्याय गरेको छ । जल तथा उर्जा आयोगको विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यको जिम्मेवारी दिएको छ । उहाँलाई पनि ४ वर्षकै लागि नियुक्त गरेकाले सरकारले उहाँको पनि सम्मान नै गरेको छ जस्तो लाग्छ ।

म सही मान्छे, सही ठाउँ (राइट म्यान राइट प्लेस) मा विश्वास राख्छु । कर्मचारी टीमलाई कसरी चलाउने र कसरी नतिजामुखी बनाउने भनेर सबैका आफ्नै खालको कार्यशैली हुन्छन् । मलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने सरकारको निर्णय स्वीकारेर आएको छु । यो भनेको म ठूलो चुनौती स्वीकारेर आएको हुँ ।

यो चुनौती पार गर्न नयाँ टीम र नयाँ जोश जाँगरका साथ अघि बढ्नुपर्नेछ । मेरो पुरानो टीमका साथीहरु केही अवकास भइसके केही अवकास हुने क्रममा रहेका छन् । तर नयाँ टीमसँग काम गर्न पनि म उत्तिकै लालायित छु ।

नेपालमा प्रधानमन्त्री को हुन्छ भन्ने भन्दा पनि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक को हुने भन्ने बढी चर्चा हुन्छ । यो भनेको प्राधिकरणकै उचाइ बढेको छ ।

अर्को एउटा विषयलाई पनि संयोग नै मान्नुपर्छ । पहिलो कार्यकालमा म कार्यकारी निर्देशक हुँदा तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्छ । त्यो बेला पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो बेला पनि सरकारमा माओवादी र कांग्रेसको गठबन्धन थियो । मैले आफ्नो पहिलो कार्यकालमा यो देशका लागि केही योगदान गर्न सफल भए भन्ने लाग्छ ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनको नेताका हिसाबले प्रचन्ड, अर्थमन्त्री शर्मा र उर्जामन्त्री पम्फा भुसालले मलाई यो जिम्मेवारी दिनुभएको छ ।

सरकारले दिएको जिम्मेवारी र निर्देशनअनुसार नेपालको उर्जा क्षेत्रलाई अझ उचाइमा पुर्याउनेछु । आजै मन्त्री भुसालले उर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रका आफ्ना कार्ययोजना सार्वजनिक गर्दै हुनुहुन्छ । सोही कार्ययोजनाअनुसार अघि बढ्नु मेरो जिम्मेवारी हो । हामी सबै त्यहिअनुसार अघि बढ्छौ ।

म कम्तीमा १ महिना संचारमाध्यममा नआउने भन्ने सोचमा थिए । कुरा गरेर भन्दा पनि कामै गर्नुपर्ने हुन्छ । हामी काम गरेर देखाउँछौं । प्राधिकरणले आफ्ना अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छ ।

अब म प्राधिकरणमा मैले जिम्मेवारी सम्हालेपछि मेरा कामका प्राथमिकता के हुन्छन् भन्ने विषयमा कुरा गर्छु । मेरो कामको पहिलो प्राथमिकता उर्जामा सरल–सहज पहुँच र प्राधिकरणले दिने सेवामा चुस्तता हो ।

अब हामी विद्युत् प्राधिकरणका सेवा चुस्त–दुरुस्त र उपभोक्तामैत्री बनाउन केन्द्रित हुनेछौं । प्राधिकरणले दिने सेवामा गुणस्तर हुनेछ । प्राधिकरणले राम्रो सेवा दिने भनेर विभिन्न गुनासो आउँछन् । ती गुनासो कसरी सम्बोधन गर्ने र कम गर्ने भन्नेमा हाम्रो प्राथमिकता हुनुपर्छ ।

प्राधिकरण भित्रको सुशासन र धेरै ठाउँमा अनियमितता भएका गुनासा छन् । ती विषयलाई पनि महत्वका साथ हेरेर हामी अघि बढ्छौं ।

वितरण प्रणाली र संस्थालाई नै कसरी डिजिटलाईजेसन गर्ने, देशभरी स्मार्टमिटर कार्यान्वयनमा ल्याउनेका तत्कालै गर्नुपर्ने छ । भूमिगत रुपमा तार बिच्छाउने (अन्डरग्राउन्ड केबलिङ) को काम प्रभावकारी रुपमा हुन सकेन । यो विषयमा म आफै आजै के कस्तो भइरहेको छ भनेर जानकारी लिन्छु । सजिलो ठाउँमा मात्रै काम गरेको जस्तो देखियो । यसो गर्न भएन । यसलाई जुनसुकै हातलमा प्रभावकारी रुपमा काम गर्ने बनाउनुपर्छ ।

प्रशारणलाइनका धेरै योजना निर्माण सम्पन्न हुन नसक्दा पेनाल्टीमा पर्ने कुराहरु छन् । यसलाई हामी बढी भन्दा बढी ध्यानमा राखेर आयोजना सम्पन्न गर्नेतर्फ लाग्छौं ।

अहिले बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारणलाइन बनाउन एकदमै आवस्यक छ । यो अन्तरदेशी प्रशारणलाइन कसरी अगाडि बढ्दैछ भनेर मैले मन्त्रालयसँग पनि समन्वयात्मक रुपमा केही जानकारी मागेको छु । यसमा रोकिएका काम तत्काल शुरु हुन्छन् । त्यसको तत्कालै कार्यान्वयन गछौं । बुटवल पश्चिम पनि ४ सय केभी प्रशारणलाइन अगाडि बढाउनुपर्ने छ ।

उत्पादन आयोजनाहरुमा ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमलाई आक्रामक रुपमा अगाडि बढाउँछौं । माथिल्लो अरुण, तामाकोशी ५, बेतन कर्णाली, किमाथांका अरुण लगायतका आयोजनाको काम गर्नुपर्नेछ । निर्माण सम्पन्न भइसकेको माथिल्लो तामाकोशीबाट मात्र वार्षिक २० अर्ब रुपैयाँ राजस्व आउँदा त्यो पैसाले हामी अरु आयोजनामा लगानी गर्न सक्छौं ।

ठूला जलाशयुक्त आयोजनाको लागि बढी भन्दा बढी प्राथमिकतामा राखेर काम गर्छौं । एक वर्षभित्रै केही आयोजनाको वित्तीय व्यवस्थापनको काम सकेर निर्माणको चरणमा जानैपर्छ । तबमात्र त्यसको नतिजा हामी ७–८ वर्षपछि पाउँछौं ।

ग्रामीण विद्युतीकरण हाम्रो अर्को मुख्य प्राथमिकता हो । पछिल्लो ४ वर्षमा हामीले ८० प्रतिशत बढी जनतामा विद्युत पहुँच पुर्याएका छौं । १–२ वर्षभित्र ग्रामीण विद्युतीकरण गर्ने मात्र होइन खेतीयोग्य जमिनमा सिचाईका लागि उर्जाको पहुँच पुर्याउने काम पनि हामी गर्छौ । अब घर–घरमा होइन खेत–खेतमा बिजुली पुग्छ । यसको शुरुवात प्रदेश नम्बर २ बाट शुरु भइसकेको छ ।

हामीले विद्युत् बजार पनि खोज्नुपर्नेछ । तत्कालै, भोलिबाटै यो काम शुरु गछौं । विद्युत् माग कसरी बढाउने भनेर पनि हामी कार्ययोजना बनाएर अघि बढ्नपर्छ । माग अहिले पनि उत्तिकै छ । उदाहरणका लागि हामीले होङ्सीलाई अझैपनि विद्युत् दिन सकेका छैनौं । मागको धेरै समस्या होला जस्तो मलाई लागेको छैन ।

अहिले प्राधिकरण अन्तर्गत धेरै आयोजनाहरु छैनन् । लामो समयदेखि बन्न नसकेका चिलिमे अन्तर्गतका सबै आयोजनाहरु एक–डेढ वर्षभित्रै सबै आयोजनाहरु निर्माण सम्पन्न गरिसक्नुपर्छ । त्यसका लागि सबै आयोजना प्रमुखहरु, कर्मचारी र हामी सबै सक्रिय भएर लाग्नुपर्नेछ ।

प्राधिकरणको संरचना परिवर्तनको कुरा उठेको छ । नयाँ ऐन आउँदैछ । प्राधिकरणलाई माथि राखेर, अझ सशक्त बनाएर बढ्नेगरी पुनर्संरचना गर्छौं ।

सुशासन, अनियमिता, ठेकेदारबाट काम नभएको लगायतका समस्या छन् । यी सबै विषयलाई तत्काल सुल्झाउन जरुरी छ । यस्ता कुनै पनि विषयमा म सम्झौता गर्दिन । हाम्रा कुनै पनि साथीले, कुनै सम्झौता गर्दैनन् । प्राधिकरणले अनुकरणीय काम गर्छ ।

कर्मचारी व्यवस्थापनका पनि कुरा छन् । अघिल्लो कार्यकालमा पनि यो विषयमा मैले राम्रै गरेको जस्तो लाग्छ । टीम बन्न पर्यो । प्रणाली बनाउनुपर्यो । हामी अटोमसन, डिजिटलाइजेसनमा जानैपर्छ । कर्मचारी साथीहरुले यो जिम्मेवारी भएन, उ भएन भन्ने भन्दा पनि जुन जिम्मेवारी छ त्यसलाई नै ठूलो सम्झेर कार्यसम्पन्न गरौं । म तपाईहरुकै पछि छु । तपाईंको छाता भएर प्रोटेक्सन गर्न तयार छु । कसैलाई मर्का परेको छ भने प्रोटेक्सन गर्छु ।

मैले कुनैपनि मन्त्रालय, निकायमा कुरा गर्न सक्छुजस्तो मलाई लाग्छ । मलाई सहज छ । प्राधिकरलाई अलि बढी सहज हुन्छ जस्तो लागेको छ ।

प्राधिकरणले विभिन्न क्षेत्रलाई विद्युत् महशुल छुट सुविधा दिएर राहत दिइरहेको छ । राहत दिने कुरा प्राधिकरणका लागि ठूलो समस्या हुँदैन । हामी प्राधिकरण सक्षम भएकै कारणले हामीले राहत, सहुलियत दिन सकेका हौं । २० युनिटसम्मको विद्युतु निःशुल्क दिने भनेकोमा हामी आर्थिकरुपमा सबल भएकै कारण यो सम्भव भएको हो ।


क्लिकमान्डु