समावेशी वित्तीय पहुँचको साटो बैंकहरु व्यवसायीक स्वार्थमा, ६८% व्यवसाय बाग्मतिमा
काठमाडौं । नेपालको वित्तीय पहुँच सहर केन्द्रित देखिएको छ । बैंक तथा वित्तीय संस्थाले शाखा बिस्तारदेखि व्यवसायको आकारसमेत दुर्गम क्षेत्रलाई भन्दा सुगमलाई नै फोकस गरेको तथ्यांकले देखाएको छ ।
हाल नेपालमा २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी र ७२ वटा लघु वित्त गरी १३७ वटा बैंक तथा वित्तीय संस्थाले बैंकिङ सेवा प्रवाह गरिरहका छन् । तर, यी बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ सेवा भने सुगम क्षेत्र केन्द्रित रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा बैंक तथा वित्तीय संस्थाले अन्य प्रदेशको तुलनामा राजधानी अवस्थित बाग्मति प्रदेशमा शाखा विस्तारदेखि व्यवसाय समेत बढी छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकअनुसार बैंकहरुको कुल शाखा बिस्तार बाग्मति प्रदेशमा २६ प्रतिशत छ । साथै, सो अवधिमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेका कुल निक्षेपमा ६८ प्रतिशत बाग्मति प्रदेशको हिस्सा छ भने कुल कर्जामा ५७ प्रतिशत हिस्सा रहेको छ ।
सामावेशी वित्तीय पहुँच विस्तारका लागि राष्ट्र बैंकले आफ्नो पक्षबाट धेरै नीतिगत तथा अन्य कार्यक्रमहरु गरेपनि विभिन्न लक्ष्य पूरा हुन विभिन्न कठिनाइ भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
‘सरकारी कारोबार बैंकमार्फत् नै हुनपर्ने र सबै स्थानीयतहमा वाणिज्य बैंक पुग्न निर्देशन दिएका छौं, सोही अनुसार अब ३ वटा स्थानीयतहमा मात्रै वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘बैंकको शाखा पुगेरमात्र पनि हुँदैन, त्यहाँ आर्थिक क्रियाकलाप पनि हुनपर्छ । बैंकहरुले मागको आधारमा आफ्नो व्यवसाय गर्ने हुन्, आर्थिक क्रियाकलापले नै बैंकको माग बढ्ने हो ।’
विकास पूर्वाधारका कामसँगै आर्थिक गतिविधिहरु विकास बिस्तार हुँदै जाँदा समावेशी वित्तीय पहुँच विस्तार हुने उनको भनाइ छ ।
हालसम्म बाग्मति प्रदेश धादिङको रुवीभ्याली, कर्णाली प्रदेश जाजरकोटको जुनीचाँदे र सुदुरपश्चिम प्रदेशको बझाङको साइपाल गाँउपालिकामा वाणिज्य बैंक उपस्थित हुन नसकेका हुन् ।
प्रदेश अनुसार बैंकको उपस्थिती
राष्ट्र बैंकको तथ्यांक अनुासर गत पुस मसान्तसम्म नेपालको सातै प्रदेशमा गरी बैंक तथा वित्तीय संस्थाको १० हजार १ सय ८८ वटा शाखा कार्यालय छन्् । जसमध्ये वाणिज्य बैंकको ४ हजार ६ सय १३ वटा, विकास बैंकको १ हजार ४८ वटा, वित्त कम्पनीको २ सय ५४ वटा र लघुवित्त कम्पनीको ४ हजार २ सय ७२ वटा हुन् ।
प्रदेश अनुसारको बैंक उपस्थितीमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था बागमति प्रदेशमा र सबैभन्दा थोरै कर्णली प्रदेशमा छन् । देशका राजधानी काठमाडौं बागमति प्रदेशमै हुनका साथै, भौतिक पुर्वाधार विकास र जनसंख्याको हिसाबमा पनि बागमति प्रदेश अन्य प्रदेशको तुलनामा विकसित सुगम प्रदेश हो ।
साथै कर्णली, सुदुरपश्चिम प्रदेश शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधारलगायत अन्य विकासमा पछाडि नै छ । सबै क्षेत्रमा समानुपातिक वित्तीय पहुँच विस्तार गर्ने सरकार तथा राष्ट्र बैंकको लक्ष्य भएपनि बाग्मति प्रदेशमा २ हजार ६ सय ४१ वटा बैंक तथा वित्तीय सस्थाको शाखा उपस्थीति हुँदा कर्णाली प्रदेशमा भने ३ सय ९९ वटा बैंक तथा वित्तीय संस्थाको शाखा उपस्थीति छन् ।
यसैगरी, प्रदेश नम्बर १ मा वाणिज्य बैंकको ६ सय ९९, विकास बैंकको १ सय ७०, वित्त कम्पनीको ४६ र लघुवित्त संस्थाको ६ सय ९८ गरी कुल १ हजार ६ सय १३ वटा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्चालनमा छन् ।
प्रदेश नम्बर २ मा बैंक तथा वित्तीय संस्थाको कुल १ हजार ५ सय १३ वटा शाखा उपस्थीति छन् । जसमा वाणिज्य बैंकको ५ सय ३२, विकास बैंकको ७७, वित्त कम्पनीको ३४ र लघुवित्तको ८ सय ७० वटा हुन् ।
बाग्मति प्रदेशमा पूर्वाधार विकास बैंकसहित बैंक तथा वित्तीय संस्थाको कुल २ हजार ६ सय ४१ वटा शाखा उपस्थीति छन् । जसमा वाणिज्य बैंकको १ हजार ६ सय २७, विकास बैंकको २ सय ८७, वित्त कम्पनीको ९६ र लघुवित्तको ६ सय ३० वटा हुन् ।
गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल १ हजार ३ सय २१ वटा शाखा उपस्थीति छन् । जसमा वाणिज्य बैंकको ५ सय ७३, विकास बैंकको १ सय ८३, वित्त कम्पनीको ३० र लघुवित्तको ५ सय ३५ वटा हुन् ।
लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल १ हजार ९ सय ७९ वटा शाखा उपस्थीति छन् । जसमा वाणिज्य बैंकको ६ सय ७८, विकास बैंकको २ सय ७०, वित्त कम्पनीको ३८ र लघुवित्तको ९ सय ९३ वटा हुन् ।
कर्णली प्रदेशमा कुल ३ सय ९९ वटा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय छन् । जसमा वाणिज्य बैंकको १ सय ८८, विकास बैकको १७ वटा, वित्त कम्पनीको ४ वटा र लघुवित्त कम्पनीको १ सय ९० वटा शाखा कार्यालय छन् ।
यसैगरी, सुदुरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल ७ सय २२ वटा शाखा कार्यालय छन् । जसमा वाणिज्य बैंकको ३ सय १६ वटा, विकास बैंकको ४४ वटा, वित्त कम्पनीको ४ वटा र लघुवित्तको १ सय ९० वटा हुन् ।
प्रदेशअनुसार निक्षेप र कर्जा
राष्ट्र बैंकको तथ्यांक अनुसार गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सातै प्रदेशमा कुल ४२ खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । जुन अघिल्ला आवको सोही अवधिको तुलनामा २३.८३ प्रतिशत बढी हो ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपको ६७.९९ प्रतिशत अर्थात् २९ खर्ब १२ अर्ब २४ करोड रुपैयाँ बाग्मति प्रदेशबाट, १२.६३ प्रतिशत अर्थात् ३ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ लुम्बिनी प्रदेशबाट, ११.५५ प्रतिशत अर्थात् ३ खर्ब ३६ अर्ब ५९ करोड गण्डकी प्रदेशबाट र १०.७४ प्रतिशत अर्थात् ३ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ प्रदेश नम्बर १ बाट संकलन गरेका हुन् ।
साथै, बैंक तथा वित्तीय संस्थाले कुल संकलित निक्षेपमा ७.४९ प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ प्रदेश नम्बर २ बाट, ३.१४ प्रतिशत अर्थात् ९१ अर्ब ७० करोड रुपैयाँ सुदुर पश्चिम प्रदेशबाट र १.४९ प्रतिशत अर्थात् ४३ अर्ब ४३ करोड रुपैयाँ कर्णाली प्रदेशबाट गरेका हुन् ।
सो अवधिमा संकलित निक्षेपमा सबैभन्दा बढी हिस्सा बागमति प्रदेशको र सबैभन्दा थोरै हिस्सा कर्णाली प्रदेशको छ ।
यसैगरी, राष्ट्र बैंकको सर्वेक्षण रिर्पोट अनुसार गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ३६ खर्ब ५४ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १९.४१ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी बागमति प्रदेशको र सबैभन्दा थोरै कर्णाली प्रदेशमा प्रवाह भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामा बागमति प्रदेशमा ५६.९४ प्रतिशत अर्थात् २० खर्ब ८१ अर्ब ७ करोड रुपैयाँ, लुम्बिनी प्रदेशमा ११.४३ प्रतिशत अर्थात् ४ खर्ब १७ अर्ब ८५ करोड रुपैयाँ र प्रदेश नम्बर १ मा ११.४१ प्रतिशत अर्थात् ४ खर्ब १७ अर्ब १३ करोड रुपैयाँ प्रवाह भएको हो । साथै, सो अवधिमा प्रवाहित कुल कर्जाको ८.४५ प्रतिशत अर्थात् ३ खर्ब ८ अर्ब ९४ करोड रुपैयाँ प्रदेश नम्बर २ मा, ७.५७ प्रतिशत अर्थात् २ खर्ब ७६ अर्ब ७३ करोड रुपैयाँ गण्डकी प्रदेशमा, ३.०२ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब २० करोड रुपैयाँ सुदुर पश्चिम प्रदेशमा र १.१७ प्रतिशत अर्थात् ४२ अर्ब ६४ करोड रुपैयाँ कर्णाली प्रदेशमा प्रवाह भएको छ ।