चुनौतीको चाङबीच कुलमानको प्राधिकरणमा दोस्रो इनिङ्स



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको दोस्रो इनिङ्स शुरु भएको छ ।

प्राधिकरणबाट विदा भएको झण्डै ११ महिनापछि उनले पुनः दोस्रो कार्यकालका लागि बुधबार नियुक्ति पाएका छन् । यो खबरलाई आम नेपालीले सहर्ष स्वीकार गरेका छन् । सामाजिक सञ्जालमा आएका बधाई तथा व्यक्त विचारले पनि उनीप्रति आम जनताको कुन हदसम्मको सदासयता रहेछ भन्ने स्पष्ट भएको छ ।

सम्भवतः तत्कालीन प्राधनमन्त्री खड्गप्रसाद शर्मा ओली सकारात्मक हुन्थे भने दोस्रो कार्यकाल उनले सम्हालिइरहेका हुन्थे । प्राधिकरणमा देखिएका वेथिती पनि देखिने थिएनन् होला । तर अमूमक पार्टी र व्यक्तिको बिल्ला भिराइदिएर ओलीले कार्यकाल थप गरेनन् ।

उनका हजारौ अवगुणलाई छोप्ने एउटा राम्रो हतियार पनि हुन सक्थ्यो, कुलमानको पुनः नियुक्ति । तर, हठ, दम्भ, अहंकारका सामु कोही कसैको जोर चलेन । अन्ततः २०७७ भदौ २८ गते पुनः नियुक्ति नभएपछि अवकाश पाएका कुलमान यसबीचमा चुपचाप घरमै बसे । आफूले जानेबुझेका कुरा सामाजिक सञ्जालमा सेयर गर्दै बसे । आयोजनाका देखिएका समस्याका बारेमा सञ्चारमाध्यमसँग अन्तरक्रिया गरिरहे ।

झण्डै ११ महिनापछि उनको पुनरागमन भएको छ । यो आम नेपालीका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको पहिलो सकारात्मक कामका रुपमा लिइएको टिप्पणी भइरहेको छ ।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । त्यतिबेला देश १८ घण्टासम्मको लोडसेडिङको कहरमा थियो । मानिसहरु विकल्पको खोजीमा थिए । लामो खडेरीमा वर्षा भए जस्तै नियुक्ति भएको दुई महिना पनि नबित्दै कुलमानले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाए । त्यसमा उनको मात्रै जोडबल थिएन । सरकारको पनि उत्तिकै हात थियो । प्राधिकरणका कर्मचारीको पनि उत्तिकै सहयोग थियो ।

चार वर्षको अवधिमा उनले गर्न सक्नेजति सबै काम गरे । लोडसेडिङ अन्त्य गरेर आम नागरिकको मनमा बस्न सफल घिसिङले कुलेखानी तेस्रो, माथिल्लो त्रिशुली थ्री ए र राहुघाट जस्ता आयोजना सम्पन्न गरे ।

आम मानिस उनलाई दोस्रो पटक देख्न चाहन्थे । उनको काम हेर्न चाहन्थे, तर ओलीले उनलाई नियुक्त गरेनन् । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले नियुक्तिका लागि लगेको प्रस्तावलाई अस्वीकार गरियो ।

प्रधानमन्त्रीका सचिवालयका रहेकाले कुलमानलाई भगवान बनाउन खोजिएको भन्दै चर्को अलोचना गरे । सामाजिक सञ्जालमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका सूर्य थापा र तत्कालीन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच जुहारी नै चल्यो ।

अन्ततः कुलमान पुनः प्राधिकरणको कमान सम्हाल्न आइपुगेका छन् । विगतमा लोडसेडिङ हटाए मात्रै हुन्थ्यो । अहिले अवस्था फेरिएको छ । रातको समयमा खेर गइरहेको ५०० मेगावाट बिजुलीको खपतको योजना बनाउनुपर्नेछ । यस्तै, वर्षेनी थपिदै गएको बिजुलीको खपतका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्नेछ ।

यस्तै चौतर्फी विवादै विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादको निरुपण गर्नुपर्नेछ । विगतमा जस्तै कुलमान खरो रुपमा उत्रन्छन् वा उत्रदैनन् त्यो भने आगामी दिनमा उनले देखाउने कामले निर्धारण गर्नेछ ।

देशभर निर्माण भइरहेका प्रसारण लाइनको अवस्था गतिलो छैन । प्रसारण लाइन नहुँदा बिजुली खेर जाने अवस्था छ । यसलाई पनि सम्बोधन गर्नुपर्ने दायित्व छ । यस्तै, देशभित्र बिजुलीको नयाँ नयाँ बजार विस्तार गर्दै औद्योगिक करिडोरमा माग भएको झण्डै ८०० मेगावाट बिजुलीको व्यवस्थापन गर्नुपर्नेछ ।

झण्डै एक वर्ष प्राधिकरणका कुलमान नहुँदा देखिएका विसंगतिलाई तत्काल हटाउनु जरुरी छ । किनकी, प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्य आफनो विषयमा काबिल भएपनि उनलाई कर्मचारीले अटेर गरेका थिए ।

उनलाई काम गर्ने भन्दा पनि खुट्टा तान्ने प्रवृत्ति हावी भएको थियो । स्वार्थहरुको गठजोड बनेको थियो । प्र्राधिकरणको काम गर्न छाडेर शक्तिकेन्द्रलाई सूचना पुर्याउने जमातहरु बढेका थिए । प्राधिकरणको सम्पत्तिलाई व्यक्तिगत हितका लागि प्रयोग गर्ने वातावरण बनेको थियो ।

यी र यस्ता समस्या समाधानका लागि उनले खरो उत्रनुपर्नेछ । यस्तै, आम नेपाली जनताको इच्छालाई सम्बोधन गर्दै गुणस्तरीय बिजुली प्रवाह गराउनु उनको अर्को अहम् दायित्व रहेको छ । यसलाई बेलैमा सदुपयोग गरेको खण्डमा कुलमानको दोस्रो इनिङ्स पनि सफल हुने आशा गर्न सकिन्छ ।


क्लिकमान्डु