यस्तो छ भेट्रान बैंकर शोभनदेव पन्तको रामकहानी, नयाँ पुस्ताले के सिक्ने ?



काठमाडौं । हरेक मानिसका आ-आफ्नै सपना हुन्छन् । ती सपना कतिका पूरा हुन्छन् त कतिका पूरा हुँदैनन् । सपना पूरा गर्न मेहनत गर्नेले मिठो स्वाद चाखेरै छाड्छन् । त्यस्तै सफलता पाउने र आफ्नो लक्ष्यमा सफल हुने थोरै मानिसमध्ये एक हुन शोभनदेव पन्त ।

पाल्पाबाट अध्ययनको शिलशिलामा काठमाडौं आएका पन्तलाई अझै पनि हुँगी गाँउ झल्झली आँखामा छाउँछ । जुन ठाउँसँग उनको शैशवकालको वर्णन गर्नै नसकिने मिठो अनुभव छ । रामपुरको तस्विर उसैगरी मनमा अटाउँछ । पाल्पाली ढाकाको उस्तै मायाँ छ ।

ऋषिदेव र रोहिणीकुमारी पन्तको दोस्रो सन्तानकारुपमा २०१७ सालमा जन्मेका शोभनदेवले प्राथमिक शिक्षा घरमै लिए । बाल्यकालमा घरमै सिकेको ज्ञान र परिवारबाट पाएको आँटका कारण समस्यासँग भाग्ने होइन जुधेर समाधान गर्नसक्ने व्यक्तिकारुपमा आज हामी उनलाई चिन्छौं ।

आज हामी उननै भेट्रान बैंकरको रामकहानी लेख्दैछौं । ताकी, नयाँ पुस्ताका बैंकले उनीबाट धेरै कुरा सिकुन् ।

पारिवारिक समस्याले गर्दा औपचारिक शिक्षाका लागि पन्तले ११ वर्षसम्म कुर्नुपर्यो । एकैपटक उनले स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना पाए ।

त्यस समयमा हुँगीमा ८ कक्षासम्मको निम्म माध्यामिक विद्यालयमात्रै थियो । त्यसपछि सदरमुकाम तानसेन जानु पर्ने भयो । उनले पद्म पब्लिक हाइस्कुलमा भर्ना पाए । र, प्रवेशिकासम्मको अध्ययन गरे ।

परिवार सबै गाँउमै बस्ने हुनाले सदरमुकाममा कोठा भाडामा लिएर भाइसँग बसेर वद्यालय जानुपर्ने भयो । सोही बेला अभाव के हो भन्ने उनले राम्ररी बुझ्न पाए । घरको यादले सताउँथ्यो ।

‘महिनामा एक दुई पटक आमा आइरहनुहुन्थ्यो, त्यसले थोरै राहत दिन्थ्यो,’ पन्तले ती दिन स्मरण गरे ।

सदरमुकाममा रहेको त्रिभुवन कलेजबाट उनले आइकम र बीकमको अध्ययन २०३४ सके । त्यतिबेला थोरैले मात्रै म्यानेजमेन्ट संकायमा पढ्थे । रमाइलो त के भयो भने उनी मास्टर पढ्न आउँदा १९ वर्षका मात्रै थिए । यो कुरा थियो २०३५ सालको । अल्लारे उमेरमै मास्टर पढ्न काठमाडौं आए ।

काठमाडौंँ गएर कीर्तिपुरमा पढ्ने भन्ने कुरा आफैंमा सानो कुरा थिएन । अध्ययन शुरु गर्दा बैकिङ क्षेत्रमा लाग्छु नै भन्ने थिएन । उनले खास कुरा अब शुरु गरे । जसो जसो मास्टरको अध्ययन शुरु भयो । मास्टर सकेपछि बेरोजगार बस्नु परेन । यो २०४० सालको कुरा थियो । गाँउले भाषामा जुन कलेजमा पढे, त्यही जागिर पनि पाए । अर्थात् पाल्पाबाट झरेको केटोले त्रिभुवन विश्वविद्यालयमा मास्टरी जागिर पायो ।

मास्टरमा सेमेस्टर टप हुनेलाई छात्रवृत्ति दिइन्थ्यो । कलेजले दिने ६ सय रुपैयाँ आफैंमा ठूलो पैसा थियो ।

‘मैले प्रत्येक सेमेस्टरमै टप गर्दै छात्रवृत्ति पाए । कलेजबाट आउने पैसाले आफूलाई खर्च गर्न प्रर्याप्त मात्राम पुग्थ्यो,’ पन्त भन्छन्, ‘अभावकाबीचमा शुरु भएको पढाईले दिएको कमाइ आफैंमा ठूलो थियो । किनकी, मेरा लागि अभावका दिनहरु सकिएजस्तै लाग्थ्यो ।’

विश्वविद्यालयको प्राध्याकप भएपछि उनको भेट अंगुर पन्तसँग भयो । एक अर्कामा मन परापर पनि भयो । अंगुर बागबजारस्थित पद्मकन्या कलेजमा पढ्थिन् । सामान्य भेटभाटले डोर्याएको सम्बन्ध प्रेम हुँदै विवाहमा परिणत भयो । यो कुरा २०४१ सालको थियो ।

विषय पनि मिल्ने थियो । ब्याचलर र मास्टर फाइनान्स विषयमै थियो । पद्मकन्या नाम चलेको कलेज थियो ।

‘विवाह गरेपछि मलाई फलिफाप भयो, श्रीमतीजी मेरा लागि लक्की हुन्,’ उनले भने ।

अंगुरसँगको विवाहपछि शिक्षक पेशा छोडेर धेरैको आँखामा पर्ने बैंकिङ क्षेत्रमा सामेल भए उनी । फाइनान्सको विद्यार्थी अंगुरले विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सम्बन्धी परियोजनामा काम पाएकी थिइन् । तर, उनले बच्चा भएपछि जागिर छोडेर गृहस्थी जीवन रोज्नुपर्यो । पन्तका दुई छोरी छन् स्वेता र सविता । दुबै छोरीले बेलायतको लण्डनमा पढे । आफ्नो जीवनको सम्पुर्ण कमाई छोरीको उच्च शिक्षामा खर्च गरेको सुनाउँछन् पन्त ।

‘सन्तानको शिक्षामा गरेको लगानी जीवनको सबैभन्दा राम्रो लगानी हो,’ उनले भने ।

पन्तले २०४० देखि २०४१ सालसम्म मास्टरका विद्यार्थीलाई पढाए । युनिभर्सिटी टप गर्ने विद्यार्थी त्यहीबाट मास्टरका विद्यार्थीलाई पढाउन दिने व्यवस्था थियो । मास्टर सकिएपछि त्यही नै मास्टरमा ह्युमन रिर्सोस र फाइनान्सका कोर्स पठाउन शुरु गरे । मास्टरका विद्यार्थी पढाउँदा त्यस समयमा उनले मासिक १४ सय रुपैयाँ पारिश्रमिक पाउँथे ।

त्यसबेला सरकारी लगानीका नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमात्रै सञ्चालनमा थियो । नेपालमा पहिलो ज्वाइन्ट भेञ्चर बैंकका रुपमा नेपाल अरब बैंक स्थापना भयो । जुन हाल नबिल बैंकको नाममा स्थापित छ ।

नेपाल अरब बैंकले पहिलो पटक सन् १९८४ को नेभेम्बरमा रोजगारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्यो । अहिलेजस्तो सजिलो थिएन, बैंकमा जागिर खाने कुरा । त्यसमाथि पनि विदेशी लगानीको बैंक । तर, उनले आँट गरे म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिए । त्यो पदका लागि उनलाई बैंकले छनौट गर्यो । बैंकिङ करियरको पहिलो पारिश्रमिक उनले नेपाल अरब बैंकबाट मासिक २६ सय रुपैयाँ पाएका थिए ।

म्यानेजमेन्ट टे«ेनीको तलब शिक्षकले पाउने भन्दा निकै आकर्षक भएका कारणले पनि उनी बैंकर हुन लालयित भएका थिए । त्यो दिन सम्झँदा पन्तको अनुहारमा खुसीका रेखा देखिए ।

‘यति भएपछि त खान लाउनलाई पनि आनन्दले पुग्ने भयो भनेर स्वाभिक रुपमा नै आकर्षित भए,’ उनले बैंकिङ सेवामा प्रवेश गर्नुको कारण पनि सुनाए ।

क्षमता र लगनले मानिसलाई सफल बनाउँछ । बैंकमा उनले राम्रो कार्यक्षमता देखाए । भाग्यमा होइन कर्ममा विश्वास गर्नुपर्छ भने जस्तै पन्तको जीवनमा पनि सफलताका अनेकन शिखर देखा परे । सन् १९९८ मा उनी नबिल बैंकको जनरल म्यानेजरको पदमा पुगे । बैंकमा जनरल म्यानेजर हुँदासम्म उनको मासिक तलब करिब २ लाख ३० हजार रुपैयाँ पुग्यो ।

सो समयमा कुनै पनि नेपाली विदेशी बैंकमा जनरल म्यानेजर हुनु र मासिक २ लाख रुपैयाँ तलब पाउनु भनेको निकै ठुलो उपलब्धी थियो ।

ज्वाइन्ट भेञ्चर बैंकको उच्च व्यवस्थापनमा विदेशबाटै प्रविधिक सहयोगी भनेर कर्मचारी ल्याइन्थ्यो । त्यसबेला नबिल बैंकमा उच्च व्यवस्थापनमा पुग्ने उनी पहिलो नेपाली बने ।

‘समयक्रममा अरु केही नेपाली साथी पनि माथिल्लो व्यवस्थापनमा आउनु भएको थियो । तर, उहाँहरुले बैंक छोडेर अन्यत्र नै जानुभयो । मलाइ पनि बैंकले पत्यायो । मेरो योगदान पनि रह्यो, त्यसैले बैंकिङमा नै राम्रो गर्न सक्छु भनेर त्यही बसेँ,’ उनले भने ।

नेपालमा आर्थिकरुपमा बैंक संकटग्रस्त भयो भनेर विश्व बैंकको सहयोगमा ‘फाइनान्सियल सेक्टर रिफर्म प्रोजेक्ट’ सञ्चालनमा आयो । सो कार्यक्रम सरकारले ल्याएको थियो । सरकारले एक अन्तर्राष्ट्रिय संस्थामार्फत् अध्ययन गराएको थियो । अध्ययनबाट नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न ऋण समस्यामा परेको देखियो ।

ती बैंकलाई उद्दार गर्ने कार्यक्रम कार्यान्वयन गर्ने निकाय स्वभाविकरुपमा नेपाल राष्ट्र बैंकको जिम्मेवारीमा पर्यो । कार्यक्रमको त्यसैगरी सम्झौता पनि भयो ।

राष्ट्रिय वाणिज्य बैंकको लागि अमेरिकाको डेभलवाइज इमर्जिङ मार्केटस्ले यसको व्यवस्थापन गर्ने जिम्मा पायो । त्यसमा विदेशीसँगै नेपाली पनि चाहिने भएको हुँदा उनीहरुले नबिल बैंकमा कार्यरत शोभनदेव पन्त र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत सशिन जोशीलाई छनौट गर्यो ।

नबिल बैंकमा आकर्षक सेवासुविधा पाएर जनरल म्यानेजरको कार्यभार सम्हालीरहेका पन्तलाई विदेशी टिमले सोभन्दा आकर्षक तलब अफर गर्यो ।

‘बैंकमा २ लाख चानचुन हुन्थ्यो भने, यता ट्याक्स फ्रि गरेर नै १२ हजार डलर मासिक तलब अफर आयो । सन् १९९८ मा कर पनि उनीहरुले नै तिरिदिए । त्यो समयमा एक्सचेञ्ज रेट ६५/७० को हाराहारीमा थियो । जसअनुसार मेरो मासिक तलब ८ लाख रुपैयाँ बढी हन्थ्यो,’ उनले सुनाए ।

आकर्षक तलबसँगै नेपालका बिग्रेको बैंकहरुलाई सुधार गर्न पाइने र सिक्न पनि पाइने आशामा नबिल बैंकको १६ वर्षे जागिर त्यागिदिए उनले ।

त्यो समयमा नेपालमा माओवादी विद्रोहको उत्र्कष थियो । ठूल्ठूल्ला हमलाहरु हरेक ठाँउमा भइरहन्थ्यो । द्वन्द्वका कारण नेपालमा काम गर्न काम गर्न सक्दैनौं भनेर सम्झौताबाट हात झिक्यो । तर, पन्त र जोशीलाई भने समस्या नहुने गरीे ढेड वर्षको क्षतिपुर्ति पनि दियो ।

त्यसपछि पन्तले सन् २००१ देखि नेपाल बैंकको फाइनान्सियल सेक्टर रिफर्म प्रोजेक्टमा चिफ लेन्डिङ अफिसरको रुपमा काम शुरु गरे । वल्र्ड बैंकले बैंक अफ स्कल्टल्याण्डसँग सम्बन्धित नेपालको चार्टर्ड एकाउण्टेड कम्पनीसँग सम्झौता गरेर नेपाल बैंकको उद्दारको परियोजना शुरु गरेको थियो ।

उनलाई बैंकले ट्याक्स कटाएर मासिक ५ लाख रुपैयाँ पारिश्रमिक दिने सम्झौता गरेको थियो । नेपाल बैंकमा लोन पोर्टफोलियो म्यानेजमेन्टको जिम्मेवारीमा उनले २ वर्षसम्म काम गरे ।

त्यहाँको मूल समस्या नै खराब कर्जाको थियो । सो समयमा बैंकको खराब कर्जा ४० प्रतिशतभन्दा बढी भएको कारणले बैंक संकटग्रस्त भएको थियो ।

‘त्यहाँ मैले पढेको, नबिल बैंकमा काम गरेको अनुभवलाई प्रयोग गर्ने मौका पाएँ । मुलतः बैंकको चिफ लेन्ङिड अफिसर भएकाले लोनको पुनतालिकीकरण र पुनः उत्थान गर्ने, फोर्टपोलियो सुधार्ने काम गरियो,’ उनले कामका बारेमा सुनाए ।

नेपाल बैंकको आफ्नो २ वर्षे सम्झौता सन् २००३ मा सकेर उनले नेपाल बंगलादेशमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) को कार्यभार सम्हाले । नेपाल बंगलादेशमा सीइओकोरुपमा काम गर्दा मासिक ५ लाख रुपैयाँ तलब थियो ।

सो बीचमा उनलाई नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर विजयनाथ भट्टराईले लुम्बिनी बैंकको जिम्मेवारी सम्हाल्न आग्रह गरे ।

‘बैंकले राष्ट्र बैंकमा हामी चलाउन सक्दैनौं भनेर व्यवस्थापन बुझाउन गएका रहेछन्, त्यो भन्दा अघि नै राष्ट्र बैंकले व्यवस्थापन आफ्नो हातमा लिँदा पनि सुधार हुन सकेको थिए,’ उनी थप्छन् ‘गभर्नरसा’बले बोलाएर यो बैंक तपाईं सुर्धान सक्नु हुन्छ राष्ट्र बैंकको विश्वास छ भन्नु भयो । सकिन्छ भने यसको उद्दार गर्नु पर्यो भनेर एनबी बैंक छोडेर लुम्बिनी बैंकमा गएँ ।’

एनबी बैंकमा सीइओकोरुपमा काम गरेको करिब ८ महिनापछि २०६२ सालमा उनी लुम्बिनी बैंकमा सीइओको कार्यभार सम्हाल्न पुगे । यसो हेर्दा उनी अस्थिरजस्तो देखिए । तर, त्यो वाध्यताको उपज थियो भने अर्कोतर्फ आवश्यकता पनि ।

‘लुम्बिनी बैंक घाटामा गएर खराब कर्जा ४० प्रतिशभन्दा माथि भएको संस्थामा के तलब लिन भनेर बिना पारिश्रमिक काम शुरु गरे । पछि सुधारिएमा बैंकमा योग्दान दिएको आधारमा केही प्रतिशत म्यानेजमेन्ट फि लिने भनेर काम थालेका थिए ।

न्यूनतम तलब २ लाख रुपैयाँ हाराहारीमा राखी त्यसमा सुधार भएर नाफा कमाउन थालेपछि केही प्रतिशत त्यहाँबाट पाउने सम्झौता भएको थियो उनको ।

तर, लम्बिनी बैंकमा काम शुरु गरेको तेस्रो वर्षबाटै नाफा हुन थाल्यो । त्यसपछि उनले खुद नाफाको २.५ प्रतिशतका दरले म्यानेजमेन्ट फि लिन थाले । लुम्बिनी बैंकमा उनले करिब १२ वर्ष सुधारको काम गरे ।

‘आफैंले सुधार गरेको हुँदापछि हामीलाई फाइनान्सियलरुपमा पनि राम्रै भयो,’ उनले भने ।

कसरी सुधार भयो त संकटमा परेको बैंक ? हाम्रो प्रश्नको उत्तरमा उनले भने ‘बैंकलाई संकटबाट उद्दार गर्न कर्मचारी व्यवस्थापनदेखि आइटी, व्यवसाय, व्यवसायीक शैली परिवर्तनमा आकाश जमिनको सुधार गर्नु पर्यो ।’

त्यो समयलाई उनले धेरै चुनौतीकारुपमा लिएका थिए । तर, त्यसमा रमाइलो अनुभव पनि भयो ।

‘काममा सन्तुष्टी हुन्छ भन्ने कुराको अनुभव पनि मैले त्यही समयमा लिए,’ ती दिन सम्झँदै पन्त भन्छन् ।

नेपाल राष्ट्र बैंकले २०७३ सालमा चुक्तापुँजी वृद्धिको नीति ल्यायो । जसमा वाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने समयसीमा थियो । तोकिएको समयमा ८ अर्ब रुपैयाँ पुँजी पर्याउन नसक्ने बैंकले मर्जरको बाटो लिनुपर्यो ।

केन्द्रीय बैंकले हालसम्म पनि मर्जरलाई नै प्राथमिकतामा राखेको छ । बैंकले आन्तरिकरुपमा तोकिएको पुँजी पुर्याउन सक्ने अवस्था थिएन । त्यसैले लुम्बीनी बैंकले मर्जरको बाटो रोज्यो ।

मर्जरमा जानुभन्दा पहिले बैंकको आन्तरिक अवस्था धेरै बलियो थियो, नाफादेखि लिएर हरेक वित्तीय सूचक सकारात्मक भइसकेको थियो । खराब कर्जा अनुपात पनि १ प्रतिशतको हाराहारीमा थियो ।

समस्याग्रस्त घोषणा भएको लुम्बिनी बैंकलाई विदेशीको साहराबिनै राष्ट्र बैंकको सहयोगमा आफ्नो टिमले उद्दार गरेर सक्षम बनाउन सफल भएको तथ्यले उनलाई आजसम्म पनि गौरवान्वित बनाउँछ ।

काम गर्न नसकेपछि उनीभन्दा अघिल्लो संकटमोचन टिमले राष्ट्र बैंकलाई नै लुम्बिनी बैंक बुझाएको थियो । पन्तको साथमा श्रवणलाल मास्केलगायत चार्टर्ड एकाउण्टेनको टिमले धेरै मेहनत गर्यो । राष्ट्र बैंकले हात छोडिसकेको बैंकलाई सक्षम बनाउन सानोतिनो मेहनतले हुँदैनथ्यो ।

‘मेहनत गरे सफल भइन्छ भनेजस्तै डुबेको लुम्बिनीलाई उकासेर बैंक अफ काठमाडौंमा मर्ज गरायौं र नयाँ टिमलाई हस्तान्तरण गर्यौं,’ उनले भने ।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक संकटबाट बाहिर निकाल्न विदेशीको साहारा लिइएको थियो । तर, लुम्बिनी बैंकलाई भने नेपालीले नै सफल उद्दार गर्न सक्नु ठूलो उपलब्धी भएको उनको भनाइ छ ।

सरकारी बैंक सुधारका लागि विदेशबाटै प्रविधिक आएका थिए । विदेशी ऋण पनि लिनु परेको थियो । तर, लुम्बिनी बैंकमा सबै नेपालीले विदेशबाट कर्जासमेत नलिई ‘सेफ ल्यान्डिङ’ गराउन सफल भएको सार्थक इतिहास बनेको छ ।

चुक्ता पुँजी बढाउने उद्देश्यकका साथ लुम्बिनी बैंक २०७३ असारमा बैंक अफ काठमाण्डूसँग मर्जर भयो । मर्जरपछि बैंक अफ काठमाण्डूको नाममा एकिकृत कारोबार शुरु गर्दा बैंकका सीइओ अजय श्रेष्ठ भए ।

पन्त भने मर्जर भएको एक वर्षसम्म बैंकिङ क्षेत्रबाट नै बाहिरिए ।

बैंक अफ काठमाडौंको सीइओ अजय श्रेष्ठको कार्यकाल पूरा भएपछि सञ्चालक समितिले पन्तलाई नै सीइओ बनायो ।

सञ्चालक र टिमबाट यहाँ पनि केही सुधार गर्नु पर्छ भन्ने कुरा त्यस समयमा पनि भएको थियो ।

सञ्चालक समितिले उनलाई यस्तो आग्रह गरेपछि २०७४ साल भदौदेखि बैंक अफ काठमाण्डूको सीइओको कार्यभार उनले सम्हाले ।

सीइओको कार्यभार सम्हाल्न उनलाई सञ्चालक समितिले ग्रसमा ११ लाख रुपैयाँ मासिक तलब निर्धारण गरेको थियो ।

सञ्चालक समितिले उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरेको थियो । जुन २०७८ भदौ २ गते समाप्त हुँदैछ । उनी भने १ महिना अगावै विदामा बसेका छन् । चार वर्षे कार्यकालमा पन्तले २/३ पटक सञ्चालक समितिसमक्ष राजीनामाको घोषणासमेत गरेका थिए । तर, उनको राजीनामा स्वीकृत भएन ।

कम्प्लाइन्समा कम्प्रमाइज नगर्ने पन्तको स्वभाव थियो । सञ्चालक समितिबाट कम्प्लाइन्स क्रस गर्ने खालका दवाव आउँदा उनी बुझाउने प्रयास गर्थे । बझाउँदा पनि सञ्चालक समितिले कुरो नबुझेजस्तो गर्यो भने राजीनामा दिन्थे ।

केही वर्ष पहिलेको भेटमा पन्तले भनेका थिए ‘हामी सीइओहरु गोजीमा राजीनामापत्र लिएर हिँड्नुपर्छ ।’

पन्तले ३६ वर्षको बैंकिङ करियरलाई छोडर अब अध्ययन अध्यापनमा सयम बिताउने सोच बनाएका छन् । विगतका दिनमा फुर्सदमा टेनिस खेलेर समय बिताउने पन्त उमेर बढेसँगै शारिरीक अस्वस्थाका कारण टेनिस खेल्न छोडेको छन् ।

‘साथीभाईले गल्फ खेल्नु पर्छ भनेर सुझाएका छन्, अब गल्फ सिक्ने सोचमा छु,’ उनले उत्तरार्धको योजना सुनाए ।

सरकारी लगानीका बैंकका समस्यालाई समेत बाहिर निकालेका पन्तले निजी लगानीका बैंकमा पनि उत्तिकै मेहनत गरे ।

आफ्नो बैंकिङ सेवाको ३६ वर्षको अनुभवमा नयाँ पुस्ताका बैंकरलाई आफ्नो काम, जिम्मेवारी प्रतिफलको आशा नगरी पूरा गर्न उनी सुझाव दिन्छन् । हरेक क्षेत्रमा दत्तचित्त भएर काम गर्न वा जिम्मेवारी निभाउन खोजे सफल हुने उनको बुझाइ छ ।

‘आफूमात्र नभई आफूसँगै काम गर्ने टिमको विकास कसरी गर्न सकिन्छ, त्यो हेरिए नेतृत्वको टिमसँगै संस्थाको पनि विकास हुने उनको अनुभव छ ।

‘आफ्नो कार्यकालमा पहिलो प्राथमिकता कर्मचारी र आफ्नो टिमको विकासलाई हेरेर काम गरे,’ उनले सफलताको राज पनि सुनाए, ‘त्यसो गरे मात्रै सफल हुन सकिन्छ । पाएको जिम्मेवारीलाई आफ्नो सिकाइ र अनुभव अनुसार निभाउन खोजेका कारण यहाँसम्म आइपुगे जस्तो लाग्छ ।’

जीवनको उत्तरार्धमा विपास्यना ध्यान गर्ने र पाली भाषा सिकेर बुद्ध ज्ञानका किताब अध्ययन गर्ने अर्को एउटा विराट सोच छ पन्तको ।

‘अब सक्रिय बैंकिङमा फर्किन्न,’ उनले भने ।


पुष्प दुलाल