आइपीओ निकाल्न इन्स्योरेन्स खोल्ने कि सबल भएपछि आइपीओ निकाल्ने ?
नेपाली सेयर बजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) मार्फत् विभिन्न कम्पनीहरुको सेयर सर्वसाधारणमा ल्याउने होडबाजी चलिरहेकोे छ । चिया पसलदेखि लिएर ठुलाठुला सभा-समारोहमा पनि यो कम्पनीले सेयर निष्काशन गर्दैछ, यो कम्पनीले सेयर निष्काशन गर्दैछ भन्ने चर्चा सुन्न पाइन्छ । कुनै पनि कम्पनीले धितोपत्र (सयेर) निष्काशन गर्दा सम्बन्धित सेयरमा आवेदन दिनेको संख्याले नयाँ–नयाँ रेकर्ड बनाइरहेको देखिन्छ ।
जस्तैः उदाहरणका लागि आइपीओ खुलाएको ज्योति लाइफ इन्स्योरेन्समा ६.४ गुणा बढी आवेदन परेको थियो । र, सानिमा लाइफ इन्स्योरेन्सले आइपीओ खुलाएको पहिलो दिनमै २.१३ गुणा बढी आवेदन परेको छ । नेपाली सेयर बजारमा आइपीओप्रतिको बढ्दो आकर्षण पछाडि विभिन्न कारणहरु हुन सक्छन् । जस्तैः अनलाइन आवेदन दिन सकिने, सुस्म लगानी गर्न सकिने (जस्तैः कुनै मानिससँग कम्तिमा एक हजार छ भने सजिलै आवेदन दिन सकिन्छ) सामाजिक संजालको प्रभाव, ग्यारेन्टी प्रतिफल आदि ।
कुनै पनि आवेदकले आवेदन दिनुभन्दा पहिले सानो रकमको लगानी नै किन नहोस्, सम्बन्धित कम्पनीको आधारभुत सूचांकहरु कुन अवस्थामा छन् भनेर बुझन जरुरी हुन्छ । आइपीओ खुलाउन चाहने संगठित संस्थाले क्रेडिट रेटिङ्ग प्रदानगर्ने संस्थाबाट न्युनतम ग्रेडभन्दा कम्तिमा एकस्तर माथिको रेटिङ्ग प्राप्त गरेको संस्थालाई मात्र धितोपत्रको सार्वजनिक निष्कशन गर्न दिने प्रावधान रहेको छ ।
क्रेडिट रेटिङ्ग प्रदानगर्ने कम्पनीले सम्बन्धित कम्पनीको आधारभुत मुल्याङ्कन गरेर रेटिङ्ग प्रदान गर्दछन् । तर, बीमा कम्पनीहरुको व्यवसाय अरु व्यवसाय भन्दा नितान्त फरक हुन्छ । के सबै कम्पनीहरुलाई एउटै स्तरको मुल्याङ्कन सार्थक हुन्छ ?
जीवन बीमा एक दिर्घकालीन व्यवसाय हो, जहाँ सामान्यतय बिमकले ५ वर्षदेखि २५ वर्षसम्म बिमितबाट निरन्तर प्रिमियम प्राप्त गर्दछन् । जीवन बीमा कम्पनीको भविष्यको नाफा बिमितलाई आज बेचेको बिमालेखमा भर पर्दछ । जीवन बीमा कम्पनीहरुको वास्तविक मुल्यलाई भर्खरको नाफा वा व्यापारिक प्रदशनको आधारमा मात्र न्याय गर्न सकिँदैन ।
आजको दिनमा कायम बिमालेखहरु निकट भविष्यमा विभिन्न अवस्थामा हुन सक्छन्, जस्तै ल्याप्स, सरेन्डर, मृत्य, म्याचुर आदि । यो कुराहरुको सम्भावनाहरुलाई मध्यनजर गरेर आजको दिनमा ल्याएर भविष्यमा हुने नाफाहरुलाई मुल्याङ्कन गर्दा, त्यसबाट आउने मूल्यले जीवन बीमा कम्पनीसँग सरोकार राख्ने लगानिकर्ता तथा पोलिसिहोल्डरहरुलाई निर्णय लिन थप टेवा पुग्छ होला ।
चालु बीमालेखले भविष्यमा कमाउने नाफालाई आजको दिनमा ल्याएर मुल्याङ्कन गर्ने पद्धतिलाई एमबेडेड मुल्याङ्कन भनिन्छ । जीवन बीमा कम्पनीको वास्तविक मूल्य एमबेडेड भ्याल्युको आधारमा हेरिन्छ, जुन उनीहरुले लामो समय अवधिमा सिर्जना गर्न सक्षम हुन्छन् ।
सरल भाषामा भन्नुपर्दा, एमबेडेड भ्याल्यु भनेको आजको दिनमा कुल चालु विमालेखबाट भविष्यमा आउने प्रिमियमको वर्तमान मुल्य हो । यस मुल्याङ्कनले अहिले चालु बीमालेखबाट भविष्यमा हुने नाफालाई विचार गर्दछ र नयाँ बीमालेख जारी सम्भावनालाई बेवास्ता गर्दछ । त्यसैले एमबेडेड भ्याल्यु निकाल्दा नयाँ बीमालेखबाट हुने नाफालाई ध्यानमा राखिँदैन । यो मूल्य निकाल्न पक्कै पनि त्यति सजिलो छैन, जुन बिमाङ्कीले विभिन्न सम्भावनाहरु जस्तै बीमालेख भविष्यमा मृत्यु दावी, लप्सेसन, आत्मसमर्पण र परिपक्वता अनि सम्भावित नगदी प्रवाह र लगानीमा प्रतिफलको सम्भावित दरको आधारमा भविष्यको आम्दानीका आधारमा अनुमान गर्दछन् । त्यसैले जीवन बीमा कम्पनीको खाता (बुक्स अफ अकाउन्ट) बीमाङ्कीले दिएको इनपुटहरु मार्फत् परिमार्जन गरिन्छ ।
यो एमबेडेड भ्याल्यु, कम्पनीको मूल्य नै भएको कारणले गर्दा यसलाई सजिलैसँग सम्बन्धित कम्पनीको सेयर मूल्यसँग तुलना गर्न सकिन्छ । उदाहरणको लागि कुनै बीमा कम्पनीको बजार पूँजीकरण (मार्केट क्यापिटलाइजेसन) १००० करोड रुपैयाँ छ । र, एमबेडेड मुल्य २५० करोड रुपैयाँ छ भने यो मूल्यले लगानिकर्ताले ४ गुणा बढीमा कम्पनीको सेयर किन्न पनि इच्छुक हुन्छन् भन्ने कुरालाई देखाउँछ । एमबेडेड भ्याल्यु (सम्मिलितमुल्य) लाई निम्न कुराहरुले असर गर्दछ ।
१, सम्बन्धित कम्पनीले कस्तो किसिमको (बचत अथवा सुरक्षा योजना) बीमालेख बेचेको छ ।
२, पर्सिसटेन्सी रेसियो (कुनै पनि पोलिसीहोल्डरले कुन समयसम्म रिनिवल प्रिमियम तिर्छ ।)
३, यदि कुनै कम्पनीले धेरै बचत (सेभिङ) बीमालेख जारी गरेको छ भने अन्त्यमा बीमालेख सकिँदा धेरै भुक्तानी हुनसक्छ । यस्तो कारणले पनि आजको दिनमा कुनै कम्पनीको मुल्य कम आउन सक्छ ।
४, कुल मूल्य (नेट वर्थ) समायोजनः सामान्यातय कुनै पनि कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाई सकेपछि बाँकी रहेको शेषलाई नै कुलमूल्य (नेटवर्थ) भनिन्छ । सामान्यता चुक्ता पूँजी (पेड अप क्यापिटल) र जगेडा कोष (रिजर्भ एण्ड सर्पल्स)को जोड नै नेटवर्थ हो । कुनै पनि कम्पनीको पूँजी आधार (क्यापिटल बेस) कम छ भने त्यसको असर एमबेडेड मुल्यमा पर्न आउँछ ।
यी र यस्तै कुराहरुको मुल्याङ्कन गर्दा कम्पनीहरुले विभिन्न नियम तथा प्रावधानहरुलाई परिवर्तन गर्दै जानुपर्छ । जस्तै भारतको एलआईसी कम्पनीलाई आइपीओ जारी गर्नु अगाडि एमबेडेड मुल्याङ्कन रिपोर्ट, अधिकृत पूँजी परिवर्तन तथा आरक्षण (रिजर्भिङ) मा हेरफेर गर्न अर्थ मन्त्रालयले नै लगाएको कुराले पनि नीति परिमार्जन् गर्न कति महत्वपुर्ण हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।
बिभिन्न देशहरुमा एमबेडेड मुल्याङ्कन बीमाङ्कीहरुले गर्दछन् । विकसित देश जस्तैरः भारतले धितोपत्र निष्काशन गर्दा विभिन्न बीमा कम्पनीहरुलाई एमबेडेड मुल्याङ्कन अनिवार्य गरिसकेको छ । भारतमा जीबन बीमा कम्पनीको सेयर सुचिकृत हुनको लागि एमबेडेड भ्याल्यु, सेयर पूँजीको दोब्बर हुनुपर्ने प्राबधान रहेको छ । के नेपालमा यस्तो मुल्याङ्कन गर्न सम्भव छ होला ? हुन त बिगत २ वर्षदेखि बिमाङ्की मुल्याङ्कन हुन नसकेर धेरै बीमा कम्पनीहरुको साधारण सभा रोकिएको छ ।
अर्कोतर्फ बिमाङ्की मुल्याङ्कन हुन नसक्दा पनि किन बजारमा बिभिन्न बीमा कम्पनीले धितोपत्र निष्काशन गरिरहेका छन् ? नियमन निकायले यस्तै कुराहरुमा ध्यान दिएर सर्वसाधारणको लगानीको सुुरक्षा गर्नु आवश्यक देखिन्छ ।
जीवन बीमा कम्पनीहरुलाई आजको दिनमा एमबेडेड मुल्याङ्कन गर्न चुनौति धेरै नै छन । तर, यो विषयमा आजदेखि नै नियामन निकायले गृहकार्य गर्ने हो भने निकट भविष्यमै एमबेडेड मुल्याङ्कन गरेर कम्पनीहरुको मुल्य (भ्याल्यु) बढाउँन सकिन्छ । अहिले बजारमा धितोपत्र (सेयर) निष्काशन गरेका कम्पनीहरुले हामीले यति–उति शाखाहरु विस्तार गरेका छौं भनेर भन्दा पनि हाम्रो आजको दिनमा कायम बिमालेखले भविष्यमा यति नाफा कमाउँछन् । र, त्यसको मुल्य आजको दिनमा यो हुन्छ अनि बिमितलाई राम्रो प्रतिफल दिने र बिमितले एकदमै रुचाइएको बिमालेख जसको ल्याप्स अनुपात कम भएका बिमालेख यति छन् भनेर दर्शाउने हो भने सबै कम्पनी प्रतिसरोकार राख्नेहरुलाई निर्णय लिन एकदमै सजिलो हुन्छ ।
त्यसैले नियमननिकायले अन्तर्राष्ट्रियस्तरमा के कस्ता गृहकार्यहरु भएका छन् । र, हाम्रो देशमा कसरी त्यो कुराहरुलाई सम्भव गराएर अगाडि बढ्न सकिन्छ भनेर गृहकार्य गर्न आवश्यक छ । (लेखक पाण्डे प्रिन्सिपल रिस्क कन्सलटिङमा एक्चुरियल टेक्निकल एनालिस्टका रुपमा कार्यरत छन् )