कागजदेखि बियर बोतलसम्म, कति तिर्ने काठमाडौं महानगरलाई कवाडी कर ?



काठमाडौं । हामीले केही वस्तु तथा सेवा प्रयोग गर्दा राज्यलाई निश्चित प्रतिशत कर तिर्छौं । केही वस्तु तथा सेवाको खरिद गर्दा तोकिएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क पनि जोडिन्छ । यो संघ सरकारलाई तिर्ने कर हो ।

स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र केही कर लगाउन पाउँछ । त्यस्तो करमध्येको एउटा हो, कवाडी कर । पुराना चिजबीज, पत्रु कागज, सिसी बोतलआदिको कारोबारमा लाग्ने कर स्थानीय तहको राजस्व अधिकारभित्र पर्छ ।

हरेक वर्षजस्तै यसवर्ष पनि काठमाडौं महानगरपालिकाले कवाडी करको दर तोक्दै आएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०७८ जारी गर्दै यस्तो कर तोकेको हो ।

महानगरपालिकाको आर्थिक ऐनअनुसार खाली सिसी (बियर) बोतल प्रतिगोटा १ रुपैयाँ, ५ सय मिलिलिटर भन्दा माथिमा खाली सिसी (मदिरा वा अन्य) मा प्रतिगोटा ५० पैसा र ५ सय मिलिलिटरभन्दा कमका बोतलमा २५ पैसा कवाडी कर तोकिएको छ ।

प्लास्टिक बोतल, भाँडाकुँडा, पुराना जुत्ता, चप्पल, ग्यालन, जर्किन आदी प्रतिकिलो १ रुपैयाँ कर लाग्छ । त्यस्तै, पुराना कागज, अखबार, कार्टुन, अन्य कागज २५ देखि ५० पैसा कर तोकिएको छ ।

फलामलाई प्रतिकिलो ५० पैसा, टायर र ट्युवलाई प्रतिगोटा २ रुपैयाँ, तामा र पित्तललाई प्रतिकिलो १ रुपैयाँ, स्टिलमा ५० पैसा र ब्याट्रीमा प्रतिगोटा २ रुपैयाँ कर महानगरलाई तिर्नुपर्छ ।

त्यस्तै उनका टुक्रा (झिण्डु) र गार्मेन्टको कपडाको टुक्रामा प्रतिकिलो २ रुपैयाँ कर तोकिएको छ । जलेको मोबिलको प्रतिलिटर १ रुपैयाँ कर तोकिएको छ भने ५० किलोग्रामसम्मका खाद्यान्न अट्ने प्लास्टिक र जुटका बोरामा प्रतिगोटा २५ पैसा र १ क्विन्टलभन्दामाथि खाद्यान्न अट्ने बोरामा प्रतिगोटा ५० पैसा कर तोकिएको छ ।


क्लिकमान्डु