संसदीय समितिद्वारा पुनर्निर्माण प्राधिकरणको प्रशंसा



काठमाडौं । संसदीय समितिले भूकम्पपछिको पुनर्निमाणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको कामको प्रशंसा गरेको छ ।

विकास तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले प्राधिकरणले जटिल परिस्थितिका बाबजुत भुकम्मपछिको पुनर्निमाणमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरेको हो ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले कोभिड प्रकोप, राजनीतिक, स्थानीय सामाजिक, साधनस्रोत, आर्थिक, दुलर्भ वस्तु, जनशक्तिलगायतको अभाव तथा समस्याका बाबजुत प्राधिकरणले पुननिर्माणमा हासिल गरेको सफलता प्रशंसनीय भएको बताइन् ।

‘विभिन्न निकायहरु समितिसँग सवाल जवाफ गर्दा रातोपिरो हुने गर्छन् । यस्तो जटिल परिस्थितिका बावजुद प्राधिकरणले गरेको काम प्रशंसा योग्य छ । नेपालभन्दा विकशित राष्ट्रले पनि प्राकृतिक प्रकोपपछिको पुनर्निर्माण निकै समस्या भोग्ने गरका छन्,’ सभापति खड्काले भनिन्, ‘हामीसँग उपलब्ध सीमित साधन स्रोत र आर्थिक अभावका बाबजुत प्राधिकरणले उल्लेखनीय काम गरेको छ ।’ प्राधिकरणले हासिल गरेको उपलब्धिको प्रशंसा नगरी रहन नसक्ने खड्काले बताइन् ।

प्राधिकरणको म्याद २०७८ पुस १० गतेबाट समाप्त हुँदैछ । अब प्राधिकरणसँग काम गर्नका लागि करिब ४ महिना मात्रको समय बाँकी छ । उक्त अवधिमा ठूला चाडपर्व पनि पर्छन् ।

थोरै समयमा बाँकी रहेका पूनर्निर्माणका कामलाई दीर्घकालीन, दिगोपना, आर्थिक स्रोत सुनिश्चिता, प्रविधि हस्तान्तरणलगायतका महत्वपूर्ण काम गर्नुपर्नेछ । यी सबै कुराको सुनिश्चिता प्राधिकरण आफैले गरेर सहजिकरण गर्नुपर्ने खड्काको भनाइ छ ।

सांसद विनाकुमारी श्रेष्ठले पुनर्निमाणका क्रममा शैक्षिक संस्था, सडक, खानेपानी, स्वस्थ्य संस्थाका संरचना आकर्षक रुपले निर्माण भएका छन् ।
‘बनेको कामलाई सपार्नेभन्दा पनि बिग्रार्ने हाम्रो प्रवृत्ति छ । ती संरचनाको संरक्षणतर्फ पनि प्राधिकरणले ध्यान दिनुपर्छ,’ उनले भनिन् ।

प्राधिकरणले आफ्नो समय अवधि समाप्त हुनु अघि यस विषयलाई संबोधन हुने नीति बनाउने पर्ने श्रेष्ठको तर्क छ ।

प्राधिकरणका सीइओ सुशील ज्ञावलीले पुनर्निर्माणका सबै काम सम्पन्न गर्न नसकेपछि निजी आवस निर्माणको काम सम्पन्न गर्ने दावी गरे । ‘वित्तीय व्यवस्थामा समन्वयन गर्दा समस्या हुँदैन,’ ज्ञावलीले भने, ‘निजी आवस निर्माणमा समस्या आउने छैन ।’

निजी निवास निर्माणको काम सम्पन्न हुने कुरा विश्वस्त हुन सांसदसँग उनले अनुरोध गरे ।

अर्को प्राकृतिक विपदमा फेरि अर्को प्राधिकरण गठन गर्नु नपरोस भनेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भइसकेको छ । अबदेखि भूकम्प, बाढी, पहिरोलगायतको विपदको व्यवस्थापन विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणबाट हुनेछ ।

भूकम्पबाट ८ लाख ६६ हजार १६० निजी निवासमा क्षति पुगेको थियो । भूकम्प प्रभावितमध्ये ९५.७८ प्रतिशत अर्थात् ८ लाख २९ हजार ६७ संग अनुदान सम्झौता भएको छ । प्रथम किस्ता भुक्तानी ९९.८९ प्रतिशत अर्थात् ८ लाख २८ हजार ७६३ भएको छ । ७ लाख ५८ हजार ७९३ वटा घर निर्माण शुरु भएको छ । ७ लाख ५० हजार ४५९ घर धनीले दोस्रो किस्ता भुक्तानी दिएका छन् । ७ लाख ३ हजार ३०७ जनाले तेस्रा किस्ता भुक्तानी पाएका छन् ।

कुल १२० एकीकृत बस्तीमध्ये ६८ निर्माण सम्पन्न भइसकेको र ५२ वटा वस्ती पुनर्निमाण भइरहेको छ ।

७ हजार ५५३ विद्यालय भवन निर्माण गर्नुपर्नेमा ६ हजार ६४७ निर्माण सम्पन्न भएको र ९०६ निर्माणधीन अवस्थामा छ ।

१ हजार १६४ स्वास्थ्य संस्थाहरुको पुनर्निमाण गर्नुपर्नेमा ८५१ पुनर्निर्माण सम्पन्न भएको र ३५४ वटा निर्माणाधीन अवस्थामा छन् ।

भूकम्पका कारण ९२० वटा पुरातत्विक एवं सांस्कृतिक सम्पदाहरुमा क्षति पुगेको थियो । जसमध्ये ६१० निर्माण सम्पन्न भइसकेको र ३३० निर्माणधीन अवस्थामा छन् ।


क्लिकमान्डु