एक वर्षमा ८३९ प्रतिशतले बढ्यो राउटर आयात, रकम २ अर्ब १५ करोड



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ८३९।२७ प्रतिशतले राउटरको आयात बढेको छ । विगतको वर्षहरूमा सीमितमात्रामा भित्रिएको राउटर पछिल्लो समय अत्यधिक आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले गत वर्ष मात्रै २ अर्ब १५ करोड ८२ लाख रुपैयाँ बराबरको ८ लाख ५ हजार २८० वटा राउटर आयात भएको छ । उक्त आयातित राउटरबाट ४० करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

सोही अवधिमा आर्थिक वर्ष २०७६/७७ मा २२ कारोड ९७ लाख रुपैयाँ बराबरको १ लाख १५ हजार ३ सय ७४ वटा राउटर आयात भएको थियो । जुन आर्थिक वर्ष २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ८३९।२७ प्रतिशतले बढी हो । त्यस्तै २०७६/७७ मा आयातित राउटरबाट ४ करोड २३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

त्यस्तै इन्टरनेट सेवा प्रदायक एशोसिएसन नेपालका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेटको प्रयोगर्का र खपत बढेसँगै इन्टरनेटसम्बन्धि सामग्रीको आयात बढेको बताए । विगतका दिनमा विभिन्न कार्यालयले मात्रै इन्टरनेट खपत गर्ने प्रचलन थियो ।तर, पछिल्लो समय प्रविधिको युगसँगै घरघरमा इन्टरनेटको प्रयोगकर्ता बढेकाले अत्याधिक आयात भएको उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय कोरोनाले गर्दा पठनपाठन, भर्चुअल मिटिङलगायत सम्पूर्ण कार्य घरबाटै हुने भएकाले पनि एक खालको इन्टरनेटको प्रयोगकर्ता अत्यधिक बढेको हो ।

‘पछिल्लो समय इन्टरनेट कनेक्टिभिटी दोब्बरले बढेको छ । त्यसका आधारमा राउटर, अप्टिकल फाइबरको आयात बढेको छ,’ उनले भने,’ ‘खपत बढेसँगै इन्टरनेटको ब्यान्डविथ पनि बढेको छ । यसले गर्दा राउटरको माग बढी भएको हो ।’

त्यस्तै, बजारमा ब्यान्डविथ बढेपछि पुरानो राउटरहरू अपग्रेड गर्नुपर्ने भएकाले पनि खपत बढी हुन गएको उनले बताए । साथै, नेपाल सरकारले पनि डिजिटललाई प्राथमिकता दिएकाले इन्टरनेटलाई आवश्यक सम्पूर्ण सामग्रीको आयात बढेको उनको भनाइ छ ।

नेपालमा सबैभन्दा बढी चीनबाट राउटर आयात भएको विभागको तथ्याङ्कले उल्लेख गरेको छ । एक वर्षको अवधिमा नेपालले चीनबाट मात्रै २ अर्ब ९ करोड ३९ लाख रुपैयाँ बराबरको ७ लाख ९६ हजार ३ सय वटा राउटर आयात गरेको । साथै चीनबाट आयातित सो वस्तुबाट ३८ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चीनपश्चात नेपालमा सबैभन्दा बढी राउटर आयात गर्नेमा ताइवान रहेको छ । ताइवनबाट नेपालले गत वर्ष २ करोड ७६ लाखको ६ हजार २ सय ५६ वटा राउटर आयात गरेको छ ।

त्यसैगरी, इटलीबाट २८ लाख ९२ हजारको ११ सय, लातभियबाट १ करोड ५९ लाखको ५ सय ८२, यमनबाट ५ लाख ७६ को ५ सय वटा, भारतबाट ५ लाख १३ हजारको २ सय ७६, मलेसियाबाट २२ लाख ८१ हजारको १ सय २ र अमेरिकन समाओबाट २ लाख ८६ हजारको १ सय वटा आयात गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ । साथै, अन्यमा अष्ट्रेलिया, जर्मनी, हङ्कङ, दक्षिण कोरिया, मेक्सिको, सिङ्गापुर, स्पेन, स्वीेडेन, थाइल्यान्ड, अमेरिका र यूएईबाट आयात भएको छ ।


क्लिकमान्डु