प्रोभिजनको नयाँ व्यवस्थाले कर्मचारीको सवा १ अर्ब बोनस गुम्दै, कुन बैंकको कति ?



काठमाडौं । कर्जा नोक्सानी (प्रोभिजन) को नयाँ व्यवस्थाले बैंक तथा वित्त कम्पनीका कर्मचारीको सवा १ अर्ब रुपैयाँ बोनस घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकले सोमबार निर्देशन जारी गर्दै असल कर्जाको १ प्रतिशत प्रोभिजनको व्यवस्थालाई ०.३ प्रतिशत थप गरी १.३ प्रतिशत पुर्याएको छ ।

यो नयाँ व्यवस्था चालु आर्थिक वर्षका लागि मात्र नभएर बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्दा कायम असल कर्जामा समेत ०.३ प्रतिशत प्रोभिजन थप गरी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
यसरी केन्द्रीय बैंकको निर्देशन कार्यान्वयन गर्दा बैंक तथा वित्त कम्पनीका कर्मचारीले १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ बढी बोनस वापत पाउने रकम गुमाउनु पर्ने देखिन्छ ।

बोनश ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनश वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल आम्दानीबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकहरुले दशैंमा र वार्षिक साधारणसभामा बोनश वितरण गर्छन ।

यसरी गुम्यो कर्मचारकिो सवा १ अर्ब बोनस
वाणिज्य बैंकहरुले गत असार मसान्तसम्म र विकास बैंक र वित्त कम्पनीहरुद्वारा जेठ मसान्तसम्म प्रवाहित कुन कर्जा ४१ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठ मसान्तसम्म बैंक तथा वित्त कम्पनीको औषत खराब कर्जा अनुपात १.५० प्रतिशत छ । जसअनुसार हाल बैंक तथा वित्त कम्पनीले प्रवाह गरेको कर्जामा असल कर्जा ४१ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ छ । सोही असल कर्जामा यसअघिसम्म बैंक तथा वित्त कम्पनीले १ प्रतिशत अर्थात् ४१ अर्ब १४ करोड रुपैयाँ प्रोभिजन गरिसकेका थिए । राष्ट्र बैंकले असल कर्जामा थप ०.३ प्रतिशत प्रोभिजन गर्न निर्देशन दिएसँगै १२ अर्ब ३४ करोड रुपैयाँ बढी प्रोभिजन बैंक तथा वित्तीय संस्थाले गत असार मसान्तसम्म आर्जन गरेको नाफाबाट गर्नु पर्नेछ ।

बैंक तथा वित्त कम्पनीले कर्मचारीलाई बोनश वितरण गर्दा सञ्चालन खर्च कटाएर आउने नाफाबाट १० प्रतिशत वितरण गर्छ । भने सरकारलाई ३० प्रतिशत राजश्व भने कर्मचारीलाई बोनश छुट्याएपछि बाँकी नाफाबाट बुझाउनु पर्ने हुन्छ । राष्ट्र बैंकले थप ०.३ प्रतिशत प्रोभिजनको व्यवस्था गरेपछि गत आवको नाफाबाट बैंक तथा वित्त कम्पनीका कर्मचारीले पाउने बोनशबाट सवाँ अर्ब रुपैयाँ बढी कटौती हुने देखिएको हो ।

जसमा वाणिज्जहरुले थप ११ अर्ब ५० लाख रुपैयाँ प्रोभिजनमा छुट्याउँदा कर्मचारीको बोनशबाट १ अर्ब १० करोड रुपैयाँ कटौती हुने देखिन्छ ।

जेठ मसान्तसम्मको विवरण अनुसार विकास बैंकहरुले थप १ अर्ब ९ लाख ९० रुपैयाँ प्रोभिजनमा छुट्याउँदा १० करोड ९९ लाख रुपैयाँ र वित्त कम्पनीहरुले २३ करोड ९० लाख रुपैयाँ पेभिजनमा छुट्याउँदा २ करोड ३८ लाख रुपैयाँ कर्मचारीको बोनस कटौती हुने देखिएको हो । यद्दपि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गत वर्षमा उठाउनु पर्ने ऋणको साँवा ब्याज भदौ १५ गतेसम्म उठाउने समय दिएको हुँदा बोनश वापत कटौती हुने रकम थपघट हुनसक्छ ।

वाणिज्य बैंकहरुमा कुन बैंकका कर्मचारीको कति बोनस कटौती
२७ वाणिज्य असार मसान्तसम्म ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको औषत खराब कर्जा १.४१ प्रतिशत छ । सो अनुसार वाणिज्य बैंकहरुसँग ३६ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ असल कर्जा छ ।

जसमा यस अघिको व्यवस्था अनुसार १ प्रतिशत प्रोभिजन गर्दा वाणिज्य बैंकहरुले असार मसान्तसम्म ३६ अर्ब ६८ लाख रुपैयाँ प्रोभिजन गरिसकेका थिए । तर थप ०.१ प्रतिशत प्रोभिजन गर्दा ११ अर्ब १६ करोड रुपैयाँ प्रोभिजन गर्दा गत आवमा वाणिज्य बैंकहरुले कुल ४७ अर्ब ८४ करोड रुपैयाँ कर्जा जोखिम व्यवस्थापन अर्थात् प्रोभिजनमा खर्च हुने देखिन्छ ।

नयाँ व्यवस्था अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले औषतमा ४० करोड रुपैयाँ प्रोभिजन गर्दा औषतमा प्रत्येक बैंक वाणिज्य बैंकका कर्मचारीको ४ करोड ८ लाख रुपैयाँ बोनश वापत आउने रकम कटौती हुन्छ ।

तर, प्रत्येक वाणिज्य बैंकहरुको हेर्दा २१ करोड रुपैयाँदेखि पौने अर्ब रुपैयाँसम्म प्रोभिजन थप गर्नु पर्ने हुँदा कर्मचारीको बोनश समेत २ करोड रुपैयाँदेखि पौने ९ करोड रुपैयाँसम्म गुम्ने प्रष्ट देखिन्छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमा ४ वटा बैंकका कर्मचारीको ५ करोडदेखि ७ करोड ८३ लाख रुपैयाँसम्म र २३ वटा बैंकका कर्मचारीको २ करोडदेखि ४ करोड रुपैयाँसम्म बोनश कटौती हुने देखिन्छ । जसमा सबैभन्दा एनआएसी एशिया बैंकको ७ करोड ८३ लाख रुपैयाँ र सबैभन्दा कम नेपाल बंगलादेश बैंक २ करोड १० लाख रुपैयाँ कर्मचारी बोनश कटौती हुने देखिन्छ ।


क्लिकमान्डु