आर्थिक वर्ष २०७७/७८: बजेट खर्च ८०% र राजस्व असुली ९३%



काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारको बजेट खर्च ८०.०८ प्रतिशत र राजस्व असुली ९३.१९ प्रतिशत बराबर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार समान्तसम्ममा सरकारको कुल बजेट खर्च ११ खर्ब ८० अर्ब ९५ करोड २९ लाख रुपैयाँ अर्थात कुल विनियोजित बजेटको ८०.०८ प्रतिशत बराबर देखिएको हो । सरकारले गत आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ७४ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।

सरकार वार्षिक पुँजीगत खर्च ६४.६९ प्रतिशत र चालु खर्च ८९.७५ प्रतिशत बराबर देखिएको छ ।

गत आर्थिक वर्षका लागि सरकारले चालुगततर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड बराबर विनियोजन भएकोमा ८ खर्ब ५१ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा २ खर्ब २८ अर्ब ३० करोड रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा ५८.४४ प्रतिशत अर्थात १ खर्ब ९७ करोड ४१ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको कुल राजस्व असुली ९३.१९ प्रतिशत बराबर देखिन्छ । सरकारको कर राजस्वतर्फको असुली लक्ष्यको ९५.३१ प्रतिशत बराबर देखिन्छ भने गैरकर राजस्व असुली ६९.०३ प्रतिशत बराबर रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ का लागि कर राजस्वतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबर असुली लक्ष्य राखेकोमा ८ खर्ब ७० अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबर मात्रै संकलन भएको छ ।

त्यस्तै, गैरकरतर्फ ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ बराबर असुली लक्ष्य राखिएकोमा ६८ अर्ब २० करोड ८७ लाख रुपैयाँ बराबर संकलन भएको छ ।

गतवर्ष सरकारले कुल ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा ३३.०७ प्रतिशत अर्थात २० अर्ब ५६ करोड २७ लाख रुपैयाँ बराबर मात्रै अनुदान लिइएको छ ।


क्लिकमान्डु