आजबाट जग्गाको बेजिल्ला लिखत पारित गर्न सकिने



काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सञ्चालनमा ल्याएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) देशभर लागू भएसँगै आजबाट जग्गाको बेजिल्ला लिखत पारित गर्न सकिने भएको छ ।

विभागले गत असार २० गतेबाट देशभरका मालपोत कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा ल्याएका थिए । सोही अनुसार विभागले आजबाट बेजिल्ला लिखत पारित गर्न सक्ने जनाएको छ ।

देशभर १ सय २६ मालपोत कार्यालय छन् । उक्त कार्यालयमा अनलाइन प्रणाली लागू भएसँगै मालपोत कार्यालयबाट हुने कार्यहरूमा सहज हुने भएको छ । साथै, जुनसुकै मालपोत कार्यालयबाट बेजिल्ला पारित र किनेबच हुने भएको छ ।

विगतको दिनम १ सय ८ वटा मालपोत कार्यालयमा मात्रै अनलाइन प्रणाली सञ्चालन हुँदा उक्त कार्यालयहरूको मात्रै बेजिल्ला पारित गर्न सक्ने व्यवस्था थियो । जसमा सेवाग्राहीको थम्ब प्रिन्ट जुनसुकैबाट गर्न सक्ने र जुनसुकै कार्यालयबाट प्रिन्ट हेर्न सक्ने भनिए पनि १८ वटा मालपोत कार्यालयमा अनलाइन प्रणाली सञ्चालन हुन नसक्दा समस्या भएको थियो ।

तर, अबदेखि देशभरको मालपोत कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा आएसँगै बेजिल्ला पारितमा कुनै समस्या नआउने विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् । उनका अनुसार अबदेखि जुनसुुकै कार्यालयबाट प्राप्त थम्ब प्रिन्ट, हस्ताक्षरबाट सहजै लिखत पारित हुने बताए ।

बेजिल्ला कारोबारका लागि विभागले दुर्गम जिल्लालाई राखिएको विभागले जनाएको छ । जसमा जग्गाको मूल्य तुलनात्मक रुपमा कम भएका हुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, ताप्लेजुङ, सोलुखुम्बु जिल्ला छन् ।

विभिन्न दुर्गम जिल्लाका मानिसहरू अधिकांश बसाई सरेर सहरमा बसोबास गर्ने प्रवृत्ति तीव्र रुपमा बढ्दै गएको पाइन्छ । सोहीअनुसार उक्त जिल्लामा रहेका जग्गा जमिन सदुपयोग हुन सकेको छैन ।

त्यसैले कुनै पनि मानिस त्यसमा खेती गर्न चाहने र जग्गा धनीले सहरमै बसेर म बिक्री गर्छु भन्दा सहजै किनबेच गर्न सक्ने उनको दावी छ ।
‘दुर्गम जिल्लामा रहेको ५० हजारको जग्गाका लागि काठमाडौंबाट उक्त स्थानमा गएर आउँदा धेरै खर्च हुन्छ,’ उनले भने, ‘बेजिल्ला पारित गर्ने व्यवस्थाले सो खर्च कम हुनेछ ।’

उक्त प्रदेशभित्रको बेजिल्ले लिखत पारित गर्दा ३ प्रतिशत र फरक प्रदेशको लिखत पारित गर्दा ५ प्रतिशत अतिरिक्त शुल्क लिने विभागको भनाइ छ । यसले गर्दा विगतको दिनमा हजारौं रुपैयाँ खर्चेर धाउनुपर्दा थोरै समय र रकममै लिखत पारित गर्न सक्नेछन् ।

त्यस्तै विभागका अनुसार अब जुनसुकै मालपोत कार्यालयबाट किनबेच गर्न सक्ने भएको छ । विगतको दिनमा मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएको थियो ।

तर, अबदेखि एउटा दुर्गम जिल्लाको जग्गा सुगम जिल्लाको मालपोत कार्यालयबाट किनबेच गर्न सक्नेछन् ।

‘विगतको दिनमा देशभरका मालपोत कार्यालयमा एलआरआईएमएस लागू भएको थिएन । उक्त लागू नहुँदा जुनसुकै मालपोत कार्यालयबाट किनबेच गर्न सकिने अवस्था थिएन,’ उनले क्लिकमान्डूसँग भने, ‘अबको दिनमा भने सहजै अनलाइनमार्फत् जुनसुकै कार्यालयबाट सहजै किनबेच गर्न सक्नेछन् ।’

यसले गर्दा जग्गा किनबेच गर्दा जग्गा भएको मालपोत कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ । साथै, सर्वसाधारणलाई जहाँ सहज हुन्छ सोही मालपोत कार्यालयबाट सहजै किनबेच गर्न सक्ने बाटो खुलेको छ ।


क्लिकमान्डु