ट्रेड इन्फरमेशन पोर्टलमा आबद्ध हुनेका संख्या न्यून, प्रशिक्षण नहुँदा समस्या



काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गत २०७७ माघ १३ गते नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक गर्‍यो ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजना अन्तर्गतका व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी, संघ संस्था र सरकारी निकायहरूलाई व्यवसाय सम्बन्धि सम्पूर्ण सुचनाहरू सहज तथा सरल रुपमा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त पोर्टलको सार्वजनिक गरेको केन्द्रले जनाएको थियो ।

तर, पोर्टल सार्वजनिक गरेको करिब ६ महिना बितिसक्दा पनि आयात, निर्यातकर्ता र व्यवसायी आबद्ध हुने संख्या निकै न्यून रहेको छ ।

हालसम्ममा उक्त केन्द्रको पोर्टलमा ८ जना मात्रै उद्योगी अर्थात व्यवसायी आबद्ध भएका छन् । केन्द्रले आयात, निर्यातकर्ता, उद्योगी, व्यवसायी लक्षित सो पोर्टल सार्वजनिक गर्दा पनि प्रभावकारी नभएको केन्द्रको उपनिर्देशक राजेन्द्र सिंहले जानकारी दिए ।

पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवसाय शुरु गर्नको लागि साधारण सूचना देखि निर्यातको लागि वस्तु बजार, त्यसका लागि आवश्यक पर्ने नीति नियम प्राबधान, निर्यातकर्ताहरु एवं सेवा प्रदायकहरुको विवरण, निर्यातयोग्य वस्तुहरुको विवरणका साथै व्यापारसंग सम्बन्धित सूचनाहरु, नेपालको वैदेशिक व्यापारका करिब एक दशक अघिदेखिको तथ्याङ्क समावेश गर्न सक्ने व्यवस्था छ ।

साथै, निर्यातकर्ताहरुले निर्यात गरिएका वस्तुहरुको विवरण, निर्यात योग्य वस्तुहरुको विवरण, सेवाप्रदायकाको विवरण आफै पोर्टलमा प्रविष्टि गर्ने व्यवस्था समेत रहेकोले भविष्यमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने केन्द्रले जनाएको छ ।

केन्द्रका उपनिर्देशक सिंहका अनुसार पोर्टलमा व्यापार व्यवसाय सम्बद्ध सबै सूचना उपलब्ध भए पनि उद्योगी र व्यवसायीमा भने यस विषयमा भने थाहा नहुँदा आबद्ध नभएको धारणा व्यक्त गरे ।

हाल कर्मचारीलाई नै प्रशिक्षण नदिएकाको अवस्थामा व्यवसायीहरूलाई कुनै प्रकारको प्रशिक्षण दिन नसक्दा समस्या भएको उनको भनाइ छ । ‘पोर्टलबारे प्राविधिकले नै केन्द्रका कर्मचारीलाई प्रशिक्षण दिने तयारी गरेको थियो । तर, कोरोनाले गर्दा प्रशिक्षण रोकियो । त्यसैले आगामी साउनदेखि आन्तरिक रुपमा अभिमुखिकरण दिने तयारी भएको छ,’ उनले भने ।

उनका अनुसार केन्द्रले व्यवसायीको सहजताको लागि जुन उद्देश्यका साथ शुरु गरिएको थियो । अहिले पनि त्यही अवस्थामा रहेको बताए ।

सिंहका अनुसार उद्योगी तथा व्यवसायीलाई थाहा नभएका कारण पनि आबद्ध हुने संख्या न्यून हुन पुगेको बताए ।

केन्द्रले विभिन्न समारोह तथा कार्यक्रममा सो जानकारी दिँदै आए पनि केन्द्रले मात्रै एकतर्फी भनेर नहुने उनको भनाइ छ । यस पोर्टल धेरै व्यवसायी तथा मानिसले प्रयोगमा ल्याएपनि आबद्धको संख्या भने निकै न्यून रहेको उनको बुझाइ छ ।

विगतको दिनमा कुनै पनि वस्तु निर्यातसम्बन्धी सूचना लिनका लागि छुटाछुट्टै वेबसाइट, पेज र सामाजिक संजालमार्फत संकलन गर्नुपर्ने बाध्यता थियो । तर, अहिले सबै सम्पूर्ण सूचनाहरू एकै ठाउँमा उपलब्ध गराउने पोर्टल सार्वजनिक गरेको छ । त्यसमा प्रयोगकर्ता बढेपनि आबद्धताको संख्या न्यन देखिन्छ ।

८ जना व्यवसायी मात्रै समावेश

केन्द्रले सार्वजनिक गरेको इन्फर्मेशन पोर्टलमा करिब ६ महिनाको अवधिमा ८ जना व्यवसायीले मात्रै आबद्ध भएका छन् । जसमा आफ्नो विवरण गरेकोमा ६ वटा कम्पनी निर्यातकर्ता रहेको छ भने दुई जना आयातकर्ता रहेका छन् ।

आबद्ध भएको कम्पनीमा जादुन आर्टस् एण्ड क्राफ्ट, क्राफ्टेड इन हिमालय, रिजाल फुड एण्ड बेभेरेज कम्पनी, ह्यान्डनट नेपाल कम्पनी, हरिटेज फेसन, लोटस फ्याब्रिक निर्यातकर्ता आबद्ध भएका छन् ।

त्यस्तै, इसके कम्पनी र इको इनकर्पोरेशन ग्रुप आयात कम्पनी मात्रै आबद्ध भएका छन् । उक्त आबद्ध भएका कम्पनीहरू मध्ये निर्यातकर्ताहरूले आफ्नो सम्पूर्ण निर्यातित वस्तु तथा सेवाको विवरण वेवसाइटमा प्रविष्ट गरे गरेको देखिन्छ । तर, आयातकर्ताले भने आफ्नो कम्पनीको विवरण मात्रै राखेको देखिन्छ ।

‘केन्द्रले लक्ष्य राखेको उद्योगी तथा व्यवसायी समावेश भएको देखिँदैन,’ उनले भने, ‘केन्द्रले सम्पूर्ण विवरणलाई एकरुपताको लागि सार्वजनिक गरेको छ । त्यसैले उद्योगी तथा व्यवसायीले धेरैभन्दा धेरै प्रयोग गरेमा प्रभावकारी हुनेछ ।’

पोर्टलमा आयात तथा निर्यात कसरी गर्ने सम्पूर्ण विवरण राख्ने व्यवस्था गरेको छ । हाल व्यवसायीलाई थाहा नभएकाले नै आबद्ध नभएको उनको बुझाइ छ ।
आन्तरिक रुपमै छैन तालिम

केन्द्रले उक्त पोर्टलको सार्वजनिक गरेर सञ्चालनमा ल्याए पनि आन्तरिक रुपमै कर्मचारीहरूमा पोर्टलको ज्ञान नभएको सिंह बताउँछन् ।

‘ डेभलपरले हालसम्म आन्तरिक कर्मचारीलाई नै प्रशिक्षण दिएको छैन । त्यसैले कसरी तालिम दिने भन्ने विषयमा कोरोनापश्चात तालिम दिनको तयारी गर्ने भएको छ,’ उनले भने ।

केन्द्रले विभिन्न व्यापारी तथा व्यवसायीहरूलाई इमेलमार्फत् पोर्टलबारे जानकारी दिँदै आएका छन् । तर, आगामी दिनमा भने भेला गरेर नै सो पोर्टलबारे वृहत रुपमा सबै वेवसाइटबारे जानकारी दिने योजना बनाएको उनले बताए ।

साथै, केन्द्रले उक्त पोर्टलमा यो–यो सुविधा रहेको छ भनेर नदेखाएसम्म प्रभावकारी हुन नसक्ने उनले दाबी गरे । ‘केन्द्रले पोर्टलबारे जानकारी दिनको लागि ७ वटा कार्यक्रमको तयारी गरेको छ । जसमा डेभरपरहरूले लक्षित स्टेकहोल्डरहरूलाई, आन्तरि रुपमा प्रशिक्षण दिनेबाहेक अन्य विभिन्न कार्यक्रमहरू गर्ने भएको छ,’ उनले क्लिकमान्डूसँग भने ।

पछिल्लो समय आबद्धको संख्या कम भएता पनि आगामी दिन व्यवसायी आफै बुझेर आबद्ध भएमा लाभ लिन सक्ने उनको विश्वास छ ।


क्लिकमान्डु