बैंकरलाई असार मसान्तको चटारोः कानुनी दवाब दिन नपाउँदा रिकवरी ८० प्रतिशतमात्र
काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब २ दिन मात्र बाँकी छ । यति बेला बैंक तथा वित्तीय संस्थाहरुलाई साँवा ब्याज उठाउनुको चटारो छ ।
असार मसान्तको चपेटामा रहेका बैंक तथा वित्तीय संस्थाले यो २ दिनमा जतिसक्दो साँवा ब्याज (किस्ता) उठाउनमा कम्मर कसेर लागेका छन् । तर, कोभिड–१९ का कारण सरकारले गरेको पछिल्लो चरणको निषेधाज्ञाले गर्दा रिकोवरी शत प्रतिशत नहुने बैंकरहरु बताउँछन् ।
राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।
असामान्य परिस्थीति र राष्ट्र बैंकको निर्देशन समेतले गर्दा कर्जा असुलीमा समस्या आएको बैंकरहरुको भनाइ छ ।
गत आवको तुलनामा अहिलको रिकवरी राम्रो भएतापनि सहजतामा उठाउने वातावरण नभएको नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्यायले बताए ।
‘अहिले रिक्वेस्टमा रिकवरी गर्नु परेको छ, असारसमाप्त नहुँदासम्म शतप्रतिशत रिजल्ट कस्तो आउँछ भन्ने अवस्था छैन् तर ९० प्रतिशतको हाराहारीमा रिकवरी हुने देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘असुली कारवाही अहिले केही पनि छैन, रिकवरी भनेको फलोअप र एक्सनमा काम भयो भने मानिसहरु प्रेसरमा हुन्छ, अहिले त्यो प्रेसर छैन । त्यसैले शत प्रतिशत रिकवरी हुने अवस्था छैन ।’
पछिल्लो समयको निषेधाज्ञाको कारण ग्राहकहरु नै समस्यामा राष्ट्र बैंकले समेत असुली कारवाही नगर्न भनेको हुँदा अहिले बैंकहरुले रिक्वेस्टको रिकवरी गर्नु पर्दा शत प्रतिशत नहुने उनको भनाइ छ ।
‘पहिलेदेखि नै बाँकी रहेका लोनको रिकवरीमा अहिले पनि समस्या देखिएको छ, गत वर्ष कोभिडले गर्दा पैसा तिर्न नसक्नेहरुको नै अहिलेपनि हुँदै पछिल्लो लकडाउन समयको ब्याज उठ्न बाँकी हुने देखिन्छ,’ उनले थपे, ‘विषेशगरी पर्यटन क्षेत्रका होटल व्यवसायी लगायत अन्य व्यवसाय, सार्वजनिक यातायात र साना तथा मझौला व्यवसायको साथै, कृषि क्षेत्रमा गएको कर्जा असुलीमा पनि कोभिड र मौसमले प्रभाव पारेको छ ।’
असुली नहुँदा कतिपय वाणिज्य बैंकहरुले चालु आवमा लक्षित नाफा पुर्याउन नसक्ने उनको अनुमान छ ।
कोभिडको कारण बैंकहरुले कानुनी कारवाही नगरी असुली गर्नु पर्दा चालु आवको रिकवरी शत प्रतिशत नहुने डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष प्रधुम्न पोखरेलले बताए ।
‘अहिले रिकवरी त्यति सहज भने छैन, अहिले पनि निषेधाज्ञा नै छ, सिधै पैसा तिर्नुस् नभए कारवाही गछौँ भन्दै कानुनी कारवाही गर्न सकेका छैनौं,’ उनले क्लिकमाण्डूसँग भने, ‘कतिपय व्यवसाय पुर्णरुपले अझै चल्न नसकेको हुँदा असुलीको प्रकृयामै जाने अवस्था पनि मानवताको आधारमा पनि छैन ।’
बैंकहरुले ताकेता नै गरेपनि कडा ताकेता गर्न अहिले नमिल्ने हुँदा असुली भइ शतप्रतिशत रिकवरी नहुँने उनले बताए । अधिकांश कर्जा धितोमा आधारित हुने भएकाले ग्राहकले समेत तिर्छु भन्दै नियामकीय सम्बोधनको पर्खाइमा ऋणी रहेको उनको भनाइ छ ।
‘ऋणीले नतिर्ने भन्ने होइन तर पछिल्लो लकडाउनले पुनः व्यवसायलाई असर गरेको छ, विशेष गरी साना व्यवसायी र होटल क्षेत्रलाई बढी समस्या छ, समस्यामा परेका क्षेत्रलाई नियमकिय सम्बोधनको आवश्यकता छ,’ उनले थपे, ‘ब्याज उठाउन समस्या नभएपनि किस्ता तिर्नमा भने ग्राहकलाई समस्या अहिले देखिएको छ ।’
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् समस्यामा रहेका ऋणीको हितमा सम्बोधन गर्दै ३ महिना रिकवरीको समय थप्नु पर्ने उनको बुझाइ छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा केही सहुलियत दिन्छ भनेर पर्ख र हेरको अवस्था अहिले बैंक तथा वित्तीय संस्थाका ऋणीमा हुँदा समयमै शतप्रतिशत रिकवरी नहुने वित्त कम्पनी बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।
‘निमकिय सम्बोधन केही न केही हुन्छ भन्ने आशामा सबै पर्ख र हेरमा रहेका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘त्यसकारणले गर्दा समयसीमा भित्र शत प्रतिशत नै रिकवरी हुनसक्ने देखिएको छैन, त्यसैले राष्ट्र बैंकले ३ महिनाको समय थप्नु आवश्यक छ ।’
निषेधाज्ञाले गर्दा विषेशगरी वित्त कम्पनीहरुको सार्वजनिक यातायात क्षेत्रका ऋणीलाई किस्ता भुक्तानीमा समस्या भएको उनले जानकारी दिए ।
‘उनीहरुले पैसा नै कमाउन सकेका छैनन्, यस्तो अवस्थामा तिर्न आउ भनेर प्रेसर दियो भने महंगो ब्याजमा ऋणी लिएर हामीलाई तिर्छन्,’ उनले थपे, ‘यसले बैंकको ब्यालेन्ससीट राम्रो भएपनि ब्याजको कारणले ऋणीको रिपेमेन्ट बिग्रिएर भविष्यमा बैंकनै बिग्रिने हुन्छ ।’
कोभिडको तेस्रो लहरले असर नगर्दा राष्ट्र बैंकले थप गरेको ३ महिनामा शतप्रतिशत रिकवरी हुन सक्ने उनको अनुमान छ ।
यता, लघुवित्त वित्तीय संस्थाहरुमा भने कोभिडको असरमा खराब कर्जा बढ्न सक्ने अनुमान सरोकारवालाको छ ।
पछिल्लो समय रिकोवरीमा खास्सै समस्या नभएपनि खराब कर्जा भने बढेको लघुवित्त वित्तीय संस्था बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले बताए ।
‘ब्याज, उठाउने राम्रै भइरहेका छ तर किस्ता पुरै तिर्ने थोरै छन्, तर पहिलेदेखि नै कर्जा असुली बाँकी हुँदा एनपीएल बढेको देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘लघुवित्तहरुमा यो वर्ष ब्याज आम्दानी बढेपनि किस्ता नै शत प्रतिशत नै उठन समस्या नै छ, किस्ता त ५० प्रतिशतमा उठ्ने देखिन्छ ।’
किस्तामा समस्या भएपनि ब्याज असुली राम्रै भएको हुँदा ८० प्रतिशत रिकवरी असार मसान्तसम्म हुने उनको अनुमान छ ।