फेरि लकडाउन भए साना व्यवसायी बिस्थापित हुन्छन्ः व्यवसायी रुपेश पाण्डेको अन्तर्वार्ता
कोरोना कहरका कारण करिब २ महिनासम्म जारी निषेधाज्ञालाई सरकारले खुकुलो बनाएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भिडभाड बढ्न थालेको छ । सोही कारण बजारमा कोरोनाको प्रभाव नभएको जस्तो भान पनि हुन थालेको छ । तर व्यवसायी भने बजारले गति लिन नसकेको बताउँछन् । कारोनाको पहिलो र दोस्रो लहरले थलिएको व्यापार, व्यवसायमा तत्काल लयमा फर्किन नसक्ने व्यवसायीको ठम्याइ छ । यसै विषयमा उपत्यकाभित्र करिब डेढ दर्जन कपडा शोरुम सञ्चालन गरिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड द मिलानो, लुई फिलिप, इण्डियन टेरेनलगायत विदेशी ब्राण्ड भित्र्याउने आरपी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक रुपेश पाण्डेसँग क्लिकमाण्डूका निर्दोष घोरसाइनेले गरेको कुराकानीको सम्पादित अंशः
सरकारले लकडाउन खुकुलो गरेपछि व्यवसायको अवस्था कस्तो छ ?
सरकारले लकडाउन खुकुलो बनाउनुको प्रमुख कारण नै आर्थिक हो । व्यापार, व्यवसाय लामो समयदेखि चल्न नसकेर अत्यन्तै नाजुक अवस्थामा पुगेका छन् भने कतिपय बिस्तारै बन्द हुँदैछन् ।
यस्तो अवस्थामा सरकारले लकडाउन खोल्ने बित्तिकै अवस्था सजिलै सहज हुँदैन । सरकारलाई यो आर्थिक वर्षको कर उठाउनु परेको छ र पुँजीगत खर्च हुन नसकेर बाँकी रहेको बजेट द्रुत गतिमा जथाभावी काम गरेर सक्नुपर्ने पनि थियो । त्यसैले अहिले लकडाउन खुकुलो पारिएको हो ।
तर, व्यवसायमा कुनै प्रकारको उभार आएको छैन । महिनौं गुम्सिएर बसेको सामान बाहिर निकालेर यसो ताजा हावा दिने बाहेक व्यापारीलाई ठोस कुनै उपलब्धि देखेको छैन ।
किराना सामान बाहेक अरु कुनै पनि व्यापार र व्यवसायले कुनै प्रकारले त्राण पाएका छैनन् । सरकारको कर, घरको भाडा, कर्मचारीको तलब पुर्याउन पनि नसक्ने अवस्था भइसकेको छ । नाफा त अब टाढाको कुरा भइसक्यो । बैंकको ऋण मात्र बढाएर बसेका व्यवसायी स्थिती सुधार भएपछि हालको नोक्सानी केही हदसम्म पूर्ति गर्न सकिन्छ कि भन्ने आशामा छन् । तर, लकडाउन खुलेपछिको अवस्थामा पनि ग्राहक आएका छैनन् ।
गत वर्ष लकडाउन खुले पनि अपेक्षित रुपमा ब्यापार हुन सकेको थिएन ? यो वर्षको अवस्था कस्तो छ । व्यापार नबढ्नुको कारण के होला ?
गत वर्षभन्दा यो वर्ष कुनैपनि रुपमा फरक हुन सकेन । दोस्रो लहरको संक्रमण बढेर नगएको भए बिस्तारै बजारमाथि जाला भन्ने सोच सबैको थियो । तर दोस्रो लहर र त्यसपछिको लकडाउनले अवस्था झनै नाजुक बनाएको छ । पहिलो वर्ष नै निकै घाटामा रहेको व्यापार अहिले झन ओरालो लागेको छ । यसरी व्यापार नबढ्नुको प्रमुख कारण लकडाउन सही ढंगले लागू गर्न नसक्नु नै हो जस्तो देखिन्छ ।
यहाँ लकडाउन भनेपछि कफ्र्यु जस्तै गरियो । एक साता वा दुई सातासम्म कफ्र्यु जस्तो नै गरे पनि वास्तवमा रोग नसर्ने तरिकाले कसरी व्यापार, व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा सरकारले सोच्नु पथ्र्यो । जनताले पनि यस्तो जटिल परिस्थितीमा सकभर घरबाट बाहिर कम निस्केर सरकारलाई सहयोग गर्नुपथ्र्यो । तर हाम्रोमा दुबै कुरा भएन ।
सरकारले वातावरण सहज बनाउने र व्यापार–व्यवसाय पनि मर्न नदिने रणनीति लिएन । जनताले पनि बढी भिड नगर्ने अनि सकभर घरबाट कम निस्कने, भेटघाट सकभर गर्दै नगर्ने जस्ता अनुशासन पालना गरेनन् । यो सबैको असर व्यवसायमा पर्यो । व्यवसाय घाटामा गएपछि धेरैको जागिर गयो । जब अर्थतन्त्र नाजुक अवस्थामा पुग्छ तब मान्छे केवल दुई छाक खाने र एकसरो लुगा लगाउने बाहेक अन्यमा ध्यान दिन सक्दैन वा चाहँदैन । त्यसैले व्यापार र व्यवसाय राम्रो भएन ।
कोभिडको कारण धेरैले रोजगारी गुमाएका छन् । उपभोक्तासँग खर्च गर्ने सक्ने पैसा नभएर बजारमा उत्साह नदेखिएको हो ?
सही हो । यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने केही मानिससँग पैसा छ, खर्च पनि गर्न सक्छन् तर तिनले खर्च गर्ने वातावरण बनाइएन ।
सम्पूर्ण रुपमा कफ्र्यु जस्तो लकडाउन नलगाएको भए र सुरक्षित रुपमा सबै प्रकारको पसल दिनभरी नै खोल्न दिइएको भए केही मात्रामा बजार चलायमान भइरहन्थ्यो । बिहान एकछिन तरकारी र खाद्यान्न पसल खोल्न दिएर भिडभाड गर्न दिने तर दिनभर अन्य पसल खोल्न नदिने प्रकारको लकडाउन वैज्ञानिक भएन ।
सवारी साधन लिएर कुनै एक ठाउँमा धेरैजना पुग्ने अवस्थालाई निरुत्साहित गर्दै सबैले आफ्नो क्षेत्र वरिपरी सुरक्षित रुपमा घुम्ने र खरिददारी गर्ने अवस्था बनाइएको भए बजारको केही ज्यान बाँकी रहन्थ्यो । जसले जागिर गुमाए वा जसको क्रयशक्ति कम छ तिनीहरूबाट बजारमा ठूलो प्रभाव पर्दैन । तर, खर्च गर्नसक्नेलाई वातावरण सहज बनाइदिएको भए सानो जागिर खानेको पनि रोजगारी रहन्थ्यो र बजार पनि जसोतसो बाँच्थ्यो ।
कोभिडको प्रकोप शुरु हुनु अघि र हाल के कति मात्रामा कारोबार हुने गरेको छ ?
सरकारले सबै प्रकारको व्यापारी-व्यवसायीलाई सोधेर बजारको अवस्था बुझेर सही निर्णय गर्नुपर्ने हो । क्लिकमाण्डू अनलाइन पत्रिकाले पनि यस्तो विषयमा सर्वेक्षण गरेर सही कुरो जनता समक्ष ल्याउन सक्छ । मेरो व्यक्तिगत अनुभव र आफू नजिकका व्यवसायी साथीको अवस्था अनुसार साँच्चै भन्नुहुन्छ भने पहिलो लकडाउन अघिको समयसँग तुलना गर्ने हो भने कारोबार २५ प्रतिशत पनि छैन ।
दोस्रो लकडाउन शुरु हुने बेलामा करिब ५० प्रतिशतबाट कारोबार माथि चढ्ने संकेत गर्दै थियो । फेरि दुई महिना हामी कडा लकडाउनमा फस्यौं । कारोबार रकममाथि पुग्न अझै केही समय लाग्छ । अन्य देशमा जस्तै फेरि संक्रमण दर बढेर जाने हो र फेरि अहिलेकै जस्तो लकडाउन गर्ने हो भने धेरै व्यवसायी सधैंको लागि व्यवसायबाट पलायन भएर जान्छन् ।
व्यवसायलाई कसरी चलायमान बनाउन सकिन्छ ?
जनताको स्वास्थ्यमा खेलेर व्यवसाय अघि बढाउनु पर्छ भन्ने सोच कसैले राख्न सक्दैन, राख्नु पनि हुँदैन । जनताको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ । तर, स्वास्थ्यमा ध्यान दिने भनेको केवल कोभिड-१९ बाट मात्र जनता नमरुन् भनेर हुँदैन, भोकबाट पनि मर्नु भएन, मानसिक बिरामी पनि हुनु भएन र अत्यधिक आर्थिक दबाबले आत्महत्या पनि गर्नु भएन् ।
त्यसैले सरकारले पहिले मनन् गर्नुपर्ने कुरो सबै थरीका संकटबाट जनतालाई जोगाउनु हो । यस्तो अवस्थामा व्यापार-व्यवसाय चलायमान गराउनका लागि पहिलो निर्विकल्प शर्त भनेको कोभिड-१९ विरुद्धको खोप लगाउनु नै हो ।
घना बस्ती भएको क्षेत्रमा धेरै भन्दा धेरै जनतालाई खोप लगाइदिनसक्ने हो भने व्यवसाय आफै चलायमान हुन्छ । तर खोप लगाउन नभ्याउँदै फेरि रोगका लहर आउँछन् भने त्यस्का लागि विवेकपूर्ण लकडाउनमा जानुपर्छ जस्तो लाग्छ । सँगसँगै सरकारले व्यवसायीले अघिल्ला वर्षमा कति कर सरकारलाई बुझाएका छन् त्यसको अनुपातमा उस्को व्यापार कति हुन्थ्यो र उसको घाटा कतिसम्म हुनसक्छ भन्ने हिसाब गरेर न्यूनतम ब्याज दरमा ऋण उपलब्ध गराउन सके पनि व्यवसाय चलायमान हुन्थ्यो ।
विभिन्न व्यापार व्यवसायलाई सरकारले सहुलियत पूर्ण कर्जा प्रवाह गरेको छ । ट्रेडिङ व्यवसायले यस्तो कर्जा पाएका छन् कि छैनन् ?
सरकारले ऋण लिएका व्यवसायीको ब्याजमा सहुलियत दिएको छ । यो सहुलियत ट्रेडिङमा पनि छ तर केवल ठूला व्यवसायीको हकमा मात्र यो लागू भएको छ ।
साना व्यवसायी सहयोग पाउने समूहमा नै पर्दैनन् । फेरि धेरै साना व्यवसायी बैंकको ऋण नलिई आफ्नै बलबुतामा सानो पसल वा सानो काम गरेर बसेका हुन्छन् । लकडाउनको ठूलो मार पनि यही समूहलाई परेको छ । सरकारले ऋणको ब्याजमा दिएको सुविधा पाउने व्यवासायीलाई केही राहत भएको छ, त्यसका लागि सरकार र राष्ट्र बैंक धन्यवादका पात्र हुन् ।
अब आउन सक्ने कोभिडको तेस्रो लहरको पूर्वतयारी कसरी गर्नु भएको छ ।
व्यवसायीले कुनै पनि रोग कसरी आउँछ र के तयारी गर्ने भन्न सक्दैन । व्यवसायीले सरकारले गरेको तयारीमा आर्थिक दृष्टिले सल्लाह दिने र सरकारलाई सहयोग गर्ने हो ।
यदि सरकारले समयमै खोप दिलाउन सकेन भने हाम्रो तयारी भनेको खर्च घटाउने, व्यवसाय बन्द गर्ने र बैंकलाई तिर्न नसकेको ब्याजको रकमलाई पनि ऋणको रुपमा समायोजित गर्न अनुरोध गर्ने हो ।
तेस्रो लहरबाट बच्चा-बच्ची बढी प्रभावित हुन्छन् भन्ने हल्ला चलेको वर्तमान अवस्थामा खोप वितरण सशक्त ढंगले अघि नबढ्ने हो भने धेरै व्यवसायी पलायन हुन्छन् । कतिपय आफ्नो लगानी विदेश लैजाने तयारी गर्छन् भने साना व्यवसायी वैदेशिक रोजगारीमा जाने तयारी गर्छन् । यस्तो अवस्थामा व्यवसायीले अरु के नै गर्न सक्छन् !