पहिलो चरणमा बाहिरी चक्रपथको सतुङ्गलदेखि चोभारसम्मको कार्य अगाडि बढाइँदै



काठमाडौं । दुई दशकदेखि चर्चामा रहेको काठमाडौं उपत्यकाको ३ जिल्ला जोड्ने बाहिरी चक्रपथले आर्थिक २०७८/७९ वर्षको बजेटमा स्थान पाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गरेको बजेटमा, ‘जग्गा एकीकरण विधिबाट काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गरिनेछ । बाहिरी चक्रपथ र सहरसँगको सम्पर्क सुगम बनाउन सम्भाव्य स्थानमा चार लेनको लिङ रोड निर्माण गरिनेछ,’ उल्लेख छ ।

आगामी वर्षको बजेटमा बाहिरी चक्रपथको कार्य समावेश गरेसँगै सरकारले सतुङ्गलदेखि चोभार सडकखण्डको कार्य अगाडि बढाउने भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिरणले पहिलो चरणमा सतुङ्गल-चोभरको सडकखण्ड आयोजनालाई अगाडि बढाउने जनाएको छ । प्राधिकरणका आयुक्त जानुका ढकालले बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुंगलखण्ल ६.६ किलोमीटर सडक खण्डको शुरुवाती चरणमा लैजाने सक्ने भन्दै अध्ययन गरिरहेको बताइन् ।

सरकारले यसअघि पनि निर्माण प्रकृया अन्तर्गत चोभार-गाम्चा-सतुंगलखण्डको विस्तृत संभाव्यता अध्ययन (डीपीआर) प्रस्ताव मन्त्रिपरिषद्मा लगिने भनिएको थियो । २०६४ सालको रिर्पोट अनुसार सो स्थानमा ५०४ कित्ता जग्गा यकिन गरिएको थियो ।

त्यस्तै २०७३ सालमा ५०४ कित्ता जमिन विभिन्न प्रयोजनले बिक्री भएका कारण नयाँ नक्सा एकिन गरेका थिए । तर, उक्त अध्ययन गरेर पनि काम अगाडि बढ्न सकेको थिएन ।

त्यसैले, प्राधिकरणले आगामी वर्षमा कार्य अगाडि बढाउनको लागि पुरानो डिपीआरमा केही संशोधन गरेर कार्य गर्ने भएको छ ।

‘चोभार-सतुङ्गलसम्मको सडकखण्डको लागि पुरानो डीपीरमा केही संशोधन गरेर अगाडि बढ्न सकिन्छ । कुनै पनि आयोजनाको डीपीआरको सम्पूर्ण विवरण आवश्यक पर्ने भएकाले आगामी दिनमा कसरी कार्य गर्ने र कसरी शुरु गर्ने भन्ने विषयमा स्पष्ट अध्ययन गरेर सो सडकखण्डको कार्य अगाडि बढाउने भएको हो,’ उनले भनिन् ।

प्राधिरणले बाहिरी चक्रपथमध्ये चोभार देखि सतुङ्गललाई पहिलो प्राथमिकतामा राखेको छ । बाहिरी चक्रपथको अन्य सडक खण्डको लागि धेरै हेरफेर र संशोधन गर्नुपर्ने अवस्था रहेकाले पुरानो डीपीआरले काम नहुने उनी बताउँछिन् ।

तर, चोभारबाट सतुङ्गल सडक खण्डको लागि केही कार्यहरूको मात्रै संशोधन गर्नुपर्ने भएकाले अध्ययन भइरहेको उनले बताइन् । त्यसैगरी, प्राधिकरणले आगामी वर्षमा खण्ड खण्ड गरेर विस्तारै बाहिरी चक्रपथको सडकखण्डको कार्य पनि अगाडि बढ्ने उनले जिकिर गरिन् ।

‘बाहिरी चक्रपथको कार्य एकै पटक सबै सडकखण्डको कार्य अगाडि बढाउन सकिँदैन् । त्यसैले प्राधिकरणले खण्ड-खण्ड गरेर कार्य अगाडि बढाउने भएको हो,’ उनले भनिन् ।

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक चाप भित्री चक्रपथले धान्न नसक्ने र काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यस्थित सहरीकरणलाई व्यवस्थित बनाउनका लागि भन्दै आव २०६१/०६२ देखि बाहिरी चक्रपथ विकासको कार्य प्रारम्भ गरेको थियो ।

करिब ७२ किलोमिटर लम्बाइ रहेने बाहिरी चक्रपथले काठमाडौं जिल्लामा ३५ किलोमिटर, भक्तपुर जिल्लामा २१ किलोमिटर र ललितपुर जिल्लामा १६ किलोमिटर पर्ने गरी प्रस्ताव गरिएको बाहिरी चक्रपथका लागि करिब ७२०० रोपनी जग्गा विकास गर्ने लक्ष्य राखिएको छ ।

७२ किलोमिटर लम्बाइको चक्रपथको दायाँ बायाँ २५० मिटर र चक्रपथका लागि ५० मिटर गरी ५५० मिटर क्षेत्रमा सडक संजाल, ढल निकास, खुला क्षेत्र जस्ता भौतिक पूर्वाधारको विकासको योजना अन्तरगत सरकारले बाहिर चक्रपथ बनाउने बताउदै आएको छ ।


पुष्प दुलाल