राफसाफ कोषमा पैसा नजुटेपछि साउन १ देखि कार्यान्वयन नहुने
काठमाडौं । आगामी साउन १ गतेबाट राफसाफ कोष सञ्चालनमा ल्याउन नसकिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रष्ट पारेको छ । गत जेठ पहिलो साता नै नेपाल धितोपत्र बोर्डले नेप्सेलाई राफसाफ कोष नयाँ कार्यविधिअनुसार सञ्चालन गर्न निर्देशन दिएको थियो ।
कारोबार राफसाफ र क्लियरिङको काम नेपालमा सीडीएससी एण्ड क्लियरिङ कम्पनीले गर्छ । तर राफसाफ कोष भने नेप्से मातहत राखिएको छ । जसअनुसार सेबोनले नेप्सेलाई कोष सञ्चालनको निर्देशन दिएको थियो ।
नियामक निकायको निर्देशनअनुसार नेप्सेले कार्यविधि तयार गरी राफसाफ कोष साउन १ गतेदेखि सञ्चालनमा ल्याउनु पर्ने हो तर कोष सम्बन्धी नयाँ कार्यविधि हालसम्म नबनेको र कोषमा आवश्यक रकम जम्मा नहुँदा तोकिएको समयमा सञ्चालन गर्न नसकिएको नेप्सेका सीइओ चन्द्रसिंह साउँदले बताए ।
‘सेबोनले भनेर मात्रै हुँदैन, यो मन्त्रालयसँग पनि सम्बन्धित विषय हो । नेप्सेको सञ्चालक समितिले कोष सञ्चालनको कार्यविधि पास गर्नुपर्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘कार्यविधि निर्माणका लागि आवश्यक छलफल नै टुङ्गो लागेको छैन, त्यसैले साउन १ गतेदेखि नयाँ कार्यविधि बनाएर कोष सञ्चालनमा ल्याउन सम्भव छैन ।’
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ मार्फत बिउ पुँजी १५ लाख रुपैयाँबाट शुरु भएपछि नै ब्रोकरले राफसाफका लागि कोषबाट रकम उपयोग गर्न सक्ने व्यवस्था गरिएको हो ।
राफसाफ कोषमा रकम संकलनको विधि
शुरुवातमा १५ लाख रुपैयाँ बिउ पुँजीका साथ २०७५ सालमा राफसाफ कोषको अवधारणा धितोपत्र सूचीकरण तथा कारोबार नियमावली–२०७५ मार्फत् ल्याइएको हो ।
शुरुवातमा नेप्से, सीडीएससी र धितोपत्र दलालले प्रतिसंस्था ५ लाख रुपैयाँ जम्मा गरेर कोष स्थापना गरेका थिए । त्यसपछि भने पहिलो ५ वर्षसम्म कुल नाफाको ०.५ प्रतिशत रकम जम्मा गर्नुपर्ने र त्यसपछि वार्षिक ०.२५ प्रतिशतको दरले जम्मा गर्नुपर्ने व्यवस्था धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीमा थियो ।
तर, बोर्डको पछिल्लो व्यवस्थाअनुसार आर्थिक वर्ष ०७७/७८ भित्र ५० करोड, आव ०७८/७९ भित्र थप ३० करोड र आव ०७९/८० भित्र थप २० करोड गरी कुल १ अर्ब रुपैयाँको राफसाफ कोष निर्माण गरिने व्यवस्था गरेको थियो । हालसम्म कोषमा ५५ लाख रुपैयाँ जम्मा भएको नेप्सेले जानकारी दिएको छ ।
१ अर्ब रुपैयाँ पुँजी नभएपनि आव २०७८÷७९ साउन १ गतेदेखि कोषमा जति रकम मौज्दात छ सोहीबाटै कोष कार्यान्वयन गराउने सेबोन अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।
‘कोष कमजोर भएर हालसम्म यसको कार्यान्वयन हुन समस्या भइरहेको थियो,’ अध्यक्ष ढुङगानाले क्लिकमाण्डूसँग भने, ‘राफसाफ कोष राम्रो व्यवस्थापन सहित कार्यविधि बनाएर साउन १ गतेदेखि नै कार्यान्वयनमा ल्याउन नेप्सेलाई भनेका छौँ ? सोही समयदेखि आउँछ ।’
उक्त कोषमा कुल पुँजी १ अर्ब पुर्याउन समय लाग्ने भए पनि हाल मौज्दात पुँजीबाटै नेप्सेले कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । राफसाफ कोष सञ्चालनमा आएपछि सेयर खरिद बिक्रीपछि आउने राफसाफ सम्बन्धी समस्या सबै हट्ने उनको विश्वास छ ।
कोष किन चाहियो ?
हालको राफसाफ प्रणालीअनुसार कुनै एउटा ब्रोकर कम्पनीले निर्धारित समयमा राफसाफ गर्न नसकेको अवस्थामा सो दिनको सबै कारोबारको राफसाफ रोकिन्छ ।
यसकारण लगानीकर्ताले कारोबार भएको दुई दिनभित्र (टी प्लस टू)भित्र रकम बुझाइ सक्नुपर्छ । तर कुनै लगानीकर्ताले रकम बुझाउन नसकेको अवस्थामा कारोबार रोकिन्छ ।
धितोपत्र बोर्डले टि प्लस टू को सीमाभित्र सेटलमेन्ट गर्न ब्रोकरलाई निर्देशन दिएको हुँदा सेयर खरिद गर्ने लगानीकर्ता राफसाफ गर्न ढिलाइ गरेमा ब्रोकरले नै राफसाफ गर्नुपर्छ ।
यसरी कुनै पनि लगानीकर्ताले सेयर खरिद गरी रकम बुझाउन नसकेको अवस्थामा ब्रोकरले आफ्नो पुँजीबाट सेटलमेन्ट गर्न नसकेमा ब्रोकरले उक्त राफसाफ कोषबाट रकम लिएर राफसाफ गर्न सक्ने व्यवस्था गरिएको हो ।
उक्त कोषबाट अधिकतम ३ दिनसम्मका लागि निश्चित प्रतिशत ब्याजदरमा ब्रोकरले राफसाफ रकम लगानीकर्तालाई व्यवस्थापन गरिदिन्छ । तर हालसम्म कोषबाट १ रुपैयाँ पनि राफसाफका लागि उपयोग नभएको नेप्से सीइओ साउदले जानकारी दिए ।
‘विनियमावली अनुसार कोषबाट पैसा लिन चाहने भए सो साउनबाट नभएर पहिलेबाटै लिनसक्ने गरी कोषमा पुँजी जम्मा गरिएको छ,’ नेप्सेका सीइओ साउँदले भने, ‘कोषमा मौज्दात पँुजीबाट दिनसक्ने पहिलेबाटै हो तर बाँकी नयाँ व्यवस्थाअनुसार दिन सक्ने गरी भने हामी छलफलको क्रममा नै छौँ ।
धितोपत्र बोर्डबाट निर्देशन दिएपनि मन्त्रालय र नेप्से सञ्चालक समितिको छलफल पछिमात्रै कार्यविधि निर्माण गरी कोष सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
‘कोषमा हालसम्म कोषमा ५५ लाख रुपैयाँ जम्मा भएपनि माग आजसम्म आएको छैन्,’ उनले भने, ‘पछिल्लो समय राफसाफमा समस्या भयोको गुनासो आएपनि ब्रोकर साथीहरुले ५० करोड रुपैयाँ बैंकबाट, मार्जिन लोन लिएर वा कोषको विकल्पमा अन्य माध्यबाट रकम लिएर आवश्यता पुरा गरेका छन् ।’
विनियमावलीमा व्यवस्था गरेदेखि नै ब्रोकरले कोषबाट रकम उपयोग गर्न सक्नेभएपनि ब्रोकरले आवश्यकता महशुस नगर्दा कोष सञ्चालनमा नआएको उनको भनाइ छ ।
पुँजी रकम १ अर्ब नपुग्दासम्म कोष चाहिन्नः ब्रोकर
सेयर खरिदकर्ताले समयमै भुक्तानी गर्न नसक्दा राफसाफ कोषबाट सापटी लिन सकिने सुविधाले बजारलाई व्यवस्थित तथा अनुशासित बनाउने देखिन्छ । तर यसको कार्यविधि समयमै निर्माण नहुँदा समस्या भएको ब्रोकर एसोसिएशनका अध्यक्ष सन्तोष मैनालीले बताए ।
‘कोषको कार्यविधि अहिलेसम्म निर्माण भएको छैन, भने यसमा जम्मा भएको रकम समेत सानो परिमाणमा छ,’ अध्यक्ष मैनालीले क्लिकमाण्डूसँग भने, ‘कोष आफैमा पूर्ण नभएको हुँदा यसबाट कुनै पनि ब्रोकरको समस्या नटर्ने भएकाले यसको प्रयोग नगरेका हुन् ।’
कोषको उद्देश्य टि प्लस टु मा राफसाफ होस् भन्ने भएको हुँदा हाल सबै ब्रोकरहरुले सोहीअनुसार नै गरिरहेको हुँदा कोषको अहिले खास्सै आवश्यकता नभएको उनको भनाइ छ ।
‘ब्रोकरबाट १/२ दिन पेमेन्टमा ढिलाइ भनेको बेग्लै कुरा हो,’ उनले थपे, ‘तर कोषको उद्देश्य भनेको सेटलमेन्ट टि प्लस टु मा होस् भन्ने नै हो । जुन अहिले सबै ब्रोकरहरुले गरिरहेका छन् ।’
ब्रोकरलाई सिडिएसीमा टि प्लस टुबाट राफसाफ गर्न कोषको रकम अत्यन्तै अपर्याप्त भएको हुँदा कोषको आकार १ अर्बको भएपछिमात्र उचित कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याउन उनले सम्बन्धीत निकायलाई सुरझाव दिएका छन् ।