मौद्रिक नीतिमा सुझावः सेयर कारोबार गर्दा हुने भुक्तानीलाई सरल बनाउ, मार्जिन लेण्डिङको सीमा नघटाउ



काठमाडौं । पुँजीबजारका सरोकारवालाहरुले आगामी मौद्रिक नीतिमा समेटिनुपर्ने विषयबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । शुक्रबार बिहान भएको भर्चअुल कार्यक्रममार्फत् उनीहरुले विभिन्न सुझाव दिएका हुन् ।

ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार मूख्यगरी ५ वटा सुझाव पेश गरिएको छ ।

मैनालीका अनुसार हाल डिजिटल भुक्तानीको सीमाका कारण देखिएको समस्या समाधान गर्ने गरी व्यवस्था गर्न सुझाव दिइएको छ ।

हाल टीएमएसबाट खरिद गरिएको सेयर भुक्तानीका लागि कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा एकै पटक १० लाखभन्दा बढी भुक्तानी गर्न नपाउँदा समस्या भएकाले समस्या समाधानका लागि सुझाव दिइएको उनको भनाइ छ ।

हाल ब्रोकरले लगानीकर्तालाई पठाउँदा सीमा नभएको तर लगानीकर्ताले सेयर खरिद वापतको रकम कनेक्ट आइपीएसमार्फत् पठाउँदा समस्या भएको उनले बताए ।

त्यसैगरी मार्जिन लेन्डिङको कार्यविधि संशोधन गरी स्रोत सुनिश्चिताको विषयमा सम्बोधन गर्नका लागि पनि सुझाव दिइएको छ । तरलता पर्याप्त हुँदा कर्जा प्रवाह गर्ने तर तरलता संकुचन हुँदा कर्जा प्रवाहमा समस्या देखिएको अवस्थामा पुँजी पर्याप्तताका लागि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने सुझाव दिइएको मैनालीको भनाइ छ ।

मैनालीका लागि मौद्रिक नीतिमा बोन्ड मार्केटमा ऋणपत्र जारी गर्दा निश्चित ब्याजदर हुनुपर्ने माग गरिएको छ । राष्ट्र बैंकले चौमासिक रुपमा क्यालेन्डर बनाएर ऋणपत्र जारी गर्दा ब्याजदरमा एकरुपता हुनु आवश्यक रहेको भन्दै सुझाव दिइएको छ ।

साथै करेन्सी डेरिभेटिभको आवश्यकता अनुसार विदेशी बिनिमयका आधारमा फ्युचर डेरिभेटिभ पनि आओस भन्ने हिसाबले मौद्रिक नीतिमा समेट्नका लागि सुझाव दिइएको उनले बताए ।

मैनालीले मौद्रिक नीतिमा बैंकलाई सेयर बिक्री गर्ने विषयमा १ प्रतिशतको सीमा हटाउन पनि सुझाव दिइएको जानकारी दिए । बैंकले पनि पुँजीबजारमा डिलरको भूमिका समेत निर्वाह गरेकाले बैंकलाई बजारमा पस्नै नदिने किसिमको सीमा लगाइएकोमा त्यसलाई संशोधन गरिनुपर्ने उनको सुझाव छ ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर बजारमा ७० प्रतिशतको सीमा घटाउन नहुने, बैंक तथा वित्तीय संस्था मर्जरमा जोड दिनुपर्ने, मर्जरमा बोनस सेयरमा जोड दिनुपर्ने, सेयर कर्जाको ब्याजदर आगामी पुस महिनासम्म बुझाउन सकिने गरी व्यवस्था गर्नुपर्ने तथा बैंकलाई ब्रोकर लाइसेन्स छिटोभन्दा छिटो दिइनुपर्ने लगायतका सुझाव दिइएको जानकारी दिइन् ।

धितोपत्र बजार तथा वस्तु बिनिमय पुँजीबजार सम्बन्धि सरोकारवाला पक्षहरुसँग आगामी मौद्रिक नीतिमा सुझाव तथा अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरुसँग नेपाल इन्भेष्टर्स फोरमका अधयक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी, सेयर लगानीकर्ता दबाब समूहबाट हरि ढकाल र ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली सहभागि थिए ।


पुष्प दुलाल