राष्ट्र बैंकका पूर्वकार्यकारीद्वयको सुझावः पुँजी बजार राजश्व संकलन गर्ने ‘जुवा घर’ नबनोस्



काठमाडौं । धितोपत्र बजारलाई सरकारी राजश्व संकलन बढाउने माध्यममात्र नबनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षको धितोपत्र बजार तथा वस्तु विनिमय नीति तथा कार्यक्रमको प्राथमिकतामा सुझाव दिँदै राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशकहरुले यस्तो सुझाव दिए ।

राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक डा. गोपाल भट्टले धितोपत्र बजारले राजश्व संकलनमा योगदान बढाएको भन्दै खुसी व्यक्त गर्नुभन्दा बजार सुधारमा ध्यान दिन सुझाए ।

‘अहिले कारोबार बढ्यो, हाम्रो सेयर बजार एकतर्फि छ, तर यो बजारमा नेप्से इन्डेक्स बढ्दा, मन्त्रालयदेखि तल्लो तहसम्मले र्याली मच्चाउछन्, योसँगै बजारमा आएको पैसा के लगानीकर्ताको बचतबाटै आएको हो वा कुन क्षेत्रबाट आएको छ, इन्साइडर ट्रेडिङको अवस्था कस्तो छ ? यस्ता विषयलाई चनाखो भएर हेर्ने नीति बोर्डले ल्याउनु पर्छ,’ उनले उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रममा भने ।’

बजार बढ्दा बोर्ड पनि खुशी भएको रहेछ भन्ने कुरा राजश्वमा योगदान गर्यौ भनेर गौरवको साथ सुनाएकोले पुष्टि हुने उनको भनाइ थियो ।

‘बोर्डको नेतृत्वले १२ अर्ब अढी राजश्व संकलन गर्न सफल भर्यौ भनेर गौरवको साथ सुनाउनु भयो । सरकारले ¥याली बढाएर राजश्व संकलनको स्रोत पुँजी बजार बनाउने हो या पुराना अर्थमन्त्रीहरुले भनेको जस्तो पुँजी बजारलाई जुवाघर बनाएर क्यासिनो चलाएर राजश्वको स्रोत मात्रै बनाउने हो ?’ उनले प्रश्न गरे, ‘पुँजी बजार भने उत्पादन मुलक क्षेत्रमा लगानी बढाएर अर्थतन्त्र चलायमान बनाउनेको रुपमा विकसित गराउने यसका बोर्डले आझैबाट ध्यान दिन आवश्यक छ ।’

पुँजी बजारमा आउने पैसाको स्रोतहरुका के हुन त्यसमा बोर्डले समयमै अध्ययन तथा छाविन गरी पुँजी बजारलाई जुवाघर हुनबाट नजोगाए भविष्यमा ठुलो दुर्घटना हुनसक्ने उनको भनाइ छ ।

साथै, उनले सरकारी ऋणपत्रको हकमा स्थानिय तहका सरकारको लागि पनि ऋणपत्र जारी गर्नको लागि युनिसिफल वण्डको अवधारण ल्याउन सुझाव दिए ।

सो भर्चुअल अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका अर्का पुर्वकार्यकारी निर्देशक नरबहादुर थापाले सेयर बजार लागि दिगो बनाउनको लागि आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन सुझाव दिए ।

उनले हाल पुँजी बजारमा इक्युटीको डेथ बढेपनि दायरा नबढेको भन्दै दायरा बढाउने नीति अवलम्बन गर्न सुझाव बोर्डलाई दिएका हुन् ।

थापाले पुँजी बजार सुचना प्रवाहमा आधारित भएको हुँदा यसमा पुर्वाग्रही नहुने गरी लगानीकर्ताको पहुँचमा सही सुचना सम्प्रेषण भई मुल्यांकनको आधारमा लगानी गर्न सकिने गरी सुचना प्रवाहको पुर्वाधार तयार गर्न सुझाए ।


पुष्प दुलाल