प्रमले उद्घाटन गरेको दिन तामाकोशीबाट ७.६ मेगावाट मात्रै उत्पादन, नाफा कमाउन ९ वर्ष लाग्ने



काठमाडौं । हतारै हतारमा आयोजनाको उद्घाटन र शिलान्याश गर्ने बानी बसालेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार माथिल्लो तामाकोशीमा पनि त्यही रवैया अपनाए ।

कूल ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट प्रधानमन्त्रीले उद्घाटनको स्वीच थिच्दा मात्रै ७.६ मेगावाट बिजुली उत्पादन भएको थियो । आयोजनामा कूल ६ वटा युनिट छन् ।

आयोजनाले व्यवसायिक उत्पादन थालेको होइन, मात्रै परीक्षण उत्पादन थालेको हो । परीक्षण उत्पादन थालेकै दिन उद्घाटन गरिएको छ । हतारो थिएन, तर प्रधानमन्त्रीको इच्छालाई सम्बोधन गरिएको आयोजनाका सम्वद्ध अधिकारीको भनाइ छ ।

आयोजनाले तय गरेको कार्यतालिका अनुसार काम भएको खण्डमा आगामी भदौको अन्तिम सातासम्म मात्रै ६ वटै युनिट सञ्चालनमा आउनेछ । सोमबारदेखि शुरु भएको परीक्षण उत्पादन १५ दिनसम्म चल्नेछ । आयोजनाको उपकरण झण्डै २ वर्ष पहिले जडान गरिएको हो । जडान गरिएको उपकरणले राम्रोसँग काम गर्ला वा नगर्ला हेर्न पनि समय लाग्छ नै ।

आयोजनाको शुरुवाती लागत ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । २०७३ असारमा सक्ने भनिएको आयोजना सकिन नै ७ वर्ष लाग्यो । यसबीचमा १४ अर्ब रुपैयाँ बराबरको ब्याज लाग्छ भन्ने अनुमान गरिएकामा झण्डै १८ अर्ब थप लागेको छ । यो भनेको आयोजनाले व्याज मात्रै ३२ अर्ब रुपैयाँ तिर्नुपरेको छ । आयोजना निर्माणका लागि मात्रै ५२ अर्ब रुपैयाँ लागेको छ ।

यस आधारमा आयोजनाले हालसम्म कूल ८४ अर्ब रुपैयाँ खर्च गरेको छ । यस आधारमा हेर्दा शुरुवाती लागतको तुलनामा झण्डै ४९ अर्ब रुपैयाँ थप लागेको छ । यो लागत व्याज सहितको हो ।

आयोजनाले वार्षिक ९ अर्ब बराबरको आम्दानी गर्ने बताइएको छ । यस आधारमा ऋण तिरिसक्न नै झण्डै ९ वर्ष ३ महिना लाग्छ । नाफा नकमाइकन कम्पनीले सेयरधनीलाई राम्रो प्रतिफल दिन सक्दैन ।
यद्यपि, आयोजनाबाट उत्पादित बिजुली विद्युत् खरिद दरका आधारमा हेर्दा अन्य भन्दा सस्तो रहेको छ । यस आधारमा नाफा हुने देखिएपनि पूर्णरुपमा नाफामा आउन १० वर्ष सहजै कुर्नुपर्ने देखिन्छ ।

माथिल्लो तामाकोशी सञ्चालनमा आउने भयो भने धितोपत्र बजारमा सेयर कारोवार गर्नेहरु उत्साहित देखिएका छन् । तर, तथ्यका आधारमा हेर्दा तत्काल आयोजनाले देखिने गरी कुनै पनि प्रतिफल दिन सक्दैन ।

चालु आवमा त आयोजनाबाट प्राप्त हुने प्रतिफल शुन्यभन्दा तल नै छ । आगामी आवको अवस्था पनि त्यस्तै छ । एकाध वर्षपछि एकाध प्रतिशत मात्रै प्रतिफल दिन सक्ने अवस्था छ ।

सेयर बजारमा माथिल्लो तामाकोशीको सेयर उतारचढावपूर्ण देखिन्छ । ठूलो परिमाणमा धेरै मानिससँग सेयर भएकाले पनि त्यत्ति ठूलो रुपमा बजारमा प्रभाव परेको छैन । यद्यपि, राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्चीपछि सम्पन्न हुने चरणमा माथिल्लो तामाकोशी पुगेको हो ।

तोकिएको मितिमा काम भएको भए २०७२ पुस १० मा ४ वटा युनिटबाट २२८ मेगावाट बिजुली उत्पादन हुनुपर्ने थियो । यस्तै, २०७३ असारमा सबै युनिटबाट बिजुली उत्पादन हुने थियो ।

भूकम्प, भारतको नाकाबन्दी, बाढी पहिरो, कोरोना, डिजाइनमा गरिएको परिवर्तन, भारतीय ठेकेदार कम्पनीको लापरवाहीका कारण आयोजना झण्डै ६ वर्ष पर धकेलियो । यसबाट समय र लागत दुबै बढ्न गयो । जुन प्रतिफल प्राप्त गर्ने अपेक्षाका साथ आयोजना शुरु गरिएको थियो, त्यसअनुसार काम हुन सकेन ।

सामान्यता १ युनिट बिजुलीले १०० रुपैयाँ बराबरको अर्थतन्त्र निर्माण गर्न सक्छ । यही मान्यताका आधारमा सोमबार अर्थमन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोशीले कूल ग्राहस्थ उत्पादनमा १ प्रतिशतको योगदान गर्ने दावी गरेका होलान् । आयोजना शिलान्याश भएको मितिका आधारमा हेर्दा झण्डै ११ वर्ष लागेको छ ।

राष्ट्रिय गौरवको भनिएको आयोजना सम्पन्न हुन झण्डै दशक समय लाग्नु आफैमा राम्रो मानिदैन । स्वदेशी लगानीमा प्रतिमेगावाट लागत समेत कम भएको भनेर प्रचारित आयोजनाको लागत बढ्नु अर्थशास्त्रीय दृष्टिकोणले राम्रो मानिदैन । जे भएपनि आयोजना सम्पन्न हुने चरणमा पुग्नु आफैमा खुसीको कुरा भएपनि प्रतिफल पाउन भने लामै समय कुर्नपर्छ ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणका अलावा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र बीमा संस्थाले लगानी गरेका छन् ।

सेयर प्राप्त गर्दा ठूलो लगानी गरेको हिसाबले कर्मचारी सञ्चय कोषका कर्मचारीले बढी पाएका छन् । तर, दोलखाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको भएपनि उनीहरुले मात्रै ४० कित्ताको दरले सेयर पाएका छन् ।


क्लिकमान्डु