राजस्वको संशोधित लक्ष्य भेटाउन दैनिक ६ अर्ब उठाउनु पर्ने, शुरुवाती लक्ष्यको ८३% मात्रै संकलन



काठमाडौं । कोभिड १९ महामारीले सरकारको राजस्व असुली लक्ष्य प्राप्तीमा गम्भीर असर पुग्ने देखिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि राखेको राजस्व असुलीको शुरुवाती लक्ष्य मात्र होइन संशोधित लक्ष्यसमेत नभेटिने देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १० खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ बराबरको राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । तर महामारीका कारण शुरुवाती लक्ष्य संकलन हुन नसक्ने भन्दै सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाएको थियो ।

सामान्य अवस्थामा नेपालको राजस्व वृद्धिदर वार्षिक २० प्रतिशतले बढ्ने गरेको देखिन्छ । तर महामारीका कारण यसवर्ष राजस्व असुली १४ प्रतिशतले मात्रै बढ्ने अनुमानका आधारमा वार्षिक लक्ष्यको तुलनामा ९४.८५ प्रतिशत अर्थात ९ खर्ब ५९ अर्ब ६८ करोड बराबर मात्रै राजस्व संकलन हुने संशोधित अनुमान राखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १९ गतेसम्ममा सरकारको राजस्व असुली ८ खर्ब ९७ अर्ब १८ करोड ५७ लाख रुपैयाँ बराबर पुगेको छ । यो रकम शुरुवाती लक्ष्यको ८३.६७ प्रतिशत बराबर हो भने संशोधित अनुमानमा ९३.४८ प्रतिशत बराबर हो ।

अहिले दैनिक २ देखि ३ अर्ब रुपैयाँ बराबर मात्रै राजस्व संकलन भइरहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ । तर यो आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले दैनिक ६ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेमा मात्र संशोधित अनुमान भेटिने देखिन्छ । असार मसान्तसम्ममा ६२ अर्ब रुपैयाँ राजस्व उठेमा मात्रै ९ खर्ब ५९ अर्बको लक्ष्य भेटिन सम्भव छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुुसार हालसम्ममा कर राजस्व असुली ७ खर्ब ९२ अर्ब ९३ करोड २० लाख रुपैयाँ बराबर छ भने गैरकर राजस्व असुली ५४ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ बराबर छ । यो वार्षिक लक्ष्यको ८६.८५ र ५५.४९ प्रतिशत बराबर हो । सरकारले चालु आर्थिक वर्षका लागि कर राजस्वतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र गैरकर राजस्वतर्फ ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ बराबर उठाउने लक्ष्य राखेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षका लागि ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ बराबरको अनुदान सहायता लिने सरकारको योजना रहेकोमा असार २० गतेसम्ममा लक्ष्यको १६.५५ प्रतिशत अर्थात् १० अर्ब ७ करोड ५४ लाख मात्रै अनुदान सहायता लिएको छ ।


क्लिकमान्डु