कोरोना कहरः अन्य व्यवसाय चलायमान हुँदा, ठमेलका व्यवसायी अझै लकडाउनमा



काठमाडौं । विगत लामो समयदेखि ठमेलमा रात्रिकालीन व्यवसाय चलाउँदै आएका दावा तामाङले कोरोनाका कारण बन्द भएको क्लब हालसम्म खोल्न सकेका छैनन् ।

नर्सिङ चोकस्थित इबिजा लाउन्ज एण्ड बारमा सामान्य अवस्था हुँदो हो त यो बेला क्लबमा विभिन्न कार्यक्रम आयोजना भई क्लब झिलीमिली हुन्थ्यो । साथै, व्यवसाय पनि राम्रो हुन्थ्यो । तर, कोरोना महामारीका कारण धेरै इभेन्टहरु रद्द भएको सञ्चालक तामाङले बताए ।

‘गत वर्ष पनि कोरोनाले गर्दा व्यवसायमा निकै असर परेको थियो । यो वर्ष पनि कोरोनाले गर्दा झन मारमा परेको छ,’ उनले भने ।

त्यस्तै, ठमेल भागवत मार्गमा करिब ७ वर्षअघिदेखि हस्तकला तथा तयारी कपडाको व्यापार गर्दै आएका नविन थापाले कोरोना महामारीका आफ्नो व्यवसाय बन्द गर्नुपर्यो । पहिलो चरणको महामारीले करिब ६ महिनासम्म आफ्नो व्यवसाय बन्द गर्दा विगतमा कमाएको पैसाले भाडा समेत तिर्न सकेनन् । घरधनीले बारम्बार भाडाका लागि ताकेता गरिसकेपछि घरधनीसँगको सहमतिमा ४० प्रतिशत छुट पाए ।

त्यसबेला उक्त छुटले केही राहत पाए पनि पछिल्ला दिनमा झन मारमा परेको बताए ।

ठमेल क्षेत्रको मुख्य ग्राहक नै विदेशी पर्यटक हुन् तर कोरोना महामारीका कारण विदेशी पर्यटक आउन सकेका छैनन् । करिब एक वर्षको अवधिमा व्यापार नभए पनि भाडा तिर्नुपर्ने अवस्थामा पुनः निषेधाज्ञा लागू गर्दा मारमा परेको उनको भनाइ छ । यसले गर्दा आगामी दिनका कसरी र कहाँबाट घरधनीलाई भाडा तिर्ने भन्ने विषयले पिरोल्न थालेको बताए ।

तामाङ र थापा मात्रै होइन ठमेलामा रहेका १० हजारभन्दा बढी व्यवसायीको अवस्था उस्तै छ । कोरोना भाइरस महामारीको नियन्त्रणकाको लागि गत वैशाख १६ गते निषेधाज्ञा लागू गरेको सरकारले गत असार ८ गतेबाट विभिन्न व्यापार व्यवसायमा खुकुलो बनाएको छ । सरकारले खुकुलो गर्ने निर्णयसँगै बजारमा चहलपहल शुरु भएको छ । तर, नेपालको पर्यटकीय ‘हव’ मानिने ठमेल क्षेत्र भने हालसम्म पनि निषेधाज्ञाकै अवस्थामा रहेको छ ।

गत वर्षको कोरोना महामारीले निकै थलिएको ठमेलमा व्यवसायी झन् दोस्रो लहरको कोरोना महामारीले पुनः उठ्न नसक्ने अवस्थामा पुर्याएको छ ।

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेसँगै ठमेल क्षेत्रमा अर्बौको लगानी भएको थियो । तर, पर्यटनका वर्षको शुरुवातीमा कोरोनाले असर गर्दा त्यहाँका व्यवसायीहरूको अर्बौको लगानी डुबेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले जानकारी दिए ।

उनका अनुसार स्वदेशी तथा विदेशी पर्यटकको भिड हुने ठमेल क्षेत्रमा मात्रै ठूला–साना गरेर करिब १० हजार व्यवसायी रहेका छन् ।

साथै, उक्त व्यवसाय सञ्चालनमा रहेको क्षेत्र ठमेलमा २२ सय घरधनी रहेका छन् । जसमा हजारौंको संख्यामा घरधनीले ऋण लिएर घर बनाएका छन् भने हजारौंको संख्यामा ऋण लिएर व्यापार व्यवसाय गर्ने व्यवसायीहरु पनि छन् । त्यसैले कोरोना महामारीका कारण हजारौं संख्यामा रहेको व्यवासायीहरू ऋणमा डुब्न बाध्य भएको उपाध्यक्ष शर्मा बताउँछन्

‘गत वर्ष कोरोनाले गर्दा ७ सयभन्दा बढी व्यवसाय विस्थापित भएका थिए । त्यस्तै यो वर्ष भने उक्त संख्या बढेर हजारौं बिस्तार हुन सक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।

उनका अनुसार अझै दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएमा एक तिहाई व्यवसाय विस्थापित हुन सक्ने अनुमान लगाए । ठमेल क्षेत्रमा अहिले ठूला व्यवसायभन्दा साना–साना व्यवसायहरू बढी विस्थापित हुन थालेको उनको भनाइ छ ।

अहिले ठमेलका अधिकांश व्यापार व्यवसायमा बन्द अवस्थामा रहेका छन् । साथै, एक वर्ष अघिको भिजिट नेपाल २०२० लाई लक्षित गरेर खुलेका व्यवसायहरू अहिले बिक्रीमा राखेको उनको भनाइ छ । यसले गर्दा खर्बौको लगानीको नोक्सान भएको उनले जानकारी दिए ।

ठमेलमा सबैभन्दा धेरै होटल तथा रेष्टुराँ रहेका छन् । अहिले सरकारले बजार खुकुलो बनाएसँगै अन्य क्षेत्रमा रहेको अधिकांश होटल तथा रेष्टुराँले टेक अवेको अवधारणा अपनाए पनि ठमेलमा भने अहिलेपनि पूर्णनिषेधाज्ञामा रहेको उनको भनाइ छ ।

‘बाह्य क्षेत्रमा रहेको होटल तथा रेष्टुराँले टेक अवे गरेर पनि आफ्नो व्यवसाय चलायमान गर्न सक्छन्,’ उनले भने, ‘ठमेलमा घरघरमा होटल तथा रेष्टुराँ भएकाले बाह्य ग्राहकलाई खुवाउने अवस्था छैन ।’

राज्यले सहुलियत प्रदान गर्नुपर्ने
गत वर्ष कोरोनाले थलिएको व्यवसायलाई चलयमान बनाउनका लागि घरभाडा तथा ऋणबारे सरकारसमक्ष सम्बोधन गर्न माग गरेका थिए । तर, राज्यले व्यवसायीहरूको माग खासै सम्बोधन नभएको उनको भनाइ छ ।

त्यस्तै, यो वर्ष पनि सोही माग गरेको उनले बताए । यो वर्षपनि राज्यले सम्बोधन नगरे ठमेलका अधिकांश व्यापार व्यवसायबाट हजारौंको संख्यामा व्यवसायीहरू विस्थापन हुन सक्ने अनुमान लगाएका छन् ।

अहिलेको अवस्थाका ठमेल बाहिरको होटललाई क्वारेन्टिन बनाउनका लागि सूचि सार्वजनिक गरेको छ । त्यस्तै ठमेलका पनि केही होटल समावेश भएका छन् । सरकारले उक्त ठमेलमा रहेका होटल तथा रेष्टुराँलाई विदेशी पर्यटकका लागि क्यारेन्टिन बनाएमा केही राहत हुन सक्ने उनको बुझाइ छ ।

जसले कर्जा लिएर व्यवसाय गरे आजको दिनमा कम्तीमा दुई वर्षसम्मको न्यूनतम कर्जामा ब्याज दिने र कोभिड अघि लिएको कर्जालाई दुई वर्षपछि रिसेड्युलिङ गर्नका गरेर लैजानुपर्ने माग गर्ने भएको उनले जानकारी दिए ।

‘कोरोनाले गर्दा व्यवसायी व्यवसायीहरूले न भाडा तिर्न सक्छन् । न त बैंकको ऋण नै । त्यसैले यस क्षेत्रलाई चलायमान गर्न सरकारले सहुलियत प्रदान गर्नुपर्छ,’ उनले भने । साथै, कोरोनाले थलिएको व्यवसाय सामान्य अवस्थामा फर्कनको लागि अझै २, ३ वर्ष लाग्ने उनले बताए ।


क्लिकमान्डु