सन् २०४० सम्म १५ खर्ब डलरको बजार निर्माण गर्ने सोचसहित हवाईकारको सफल परीक्षण



एजेन्सी । विज्ञान तथा प्रविधिले अनेकन खोज गरिरहेको छ । खोजमा पनि उल्लेख्य सफलता हासिल भइरहेको छ । सोही क्रममा आकाशमा उड्न सक्ने हवाई कारको एउटा मोडेल सार्वजनिक भएको छ । सो कार सार्वजनिक मात्रै नभई परीक्षण उडान समेत शुरु भएको छ ।

समाचारहरुमा जनाइएअनुसार स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ । सो कारमा आवश्यकता अनुसार विमान वा कारको रूपधारण गर्न सक्नेछ । हवाई कारमा बीएमडब्ल्यूको इञ्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्ने व्यवस्था गरिएको बीबीसीले जनाएको छ ।

यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १ हजार किलोमिटरसम्म उड्न सक्छ । समाचारमा जनाइएअनुसार सो हवाई कार ८,२०० फिटको उचाइमा उड्न सक्ने गरी प्रविधि जडान गरिएको छ । यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार कारबाट विमान बन्न यसलाई २ मिनेट १५ सेकेन्ड समय लाग्नेछ । यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ ।

केही सीमित पत्रकारहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लगेका थिए ।

सोमबार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भएको बताएका थिए । हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको विवरणमा उल्लेख छ ।

कुल २०० किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुईजना यात्रा गर्न सक्छन् । तर परीक्षण चरणमै रहेको ड्रोन–ट्याक्सी जस्तो यो सिधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग भने चाहिने जनाइएको छ ।

चलचित्र र कथाहरूमा थुप्रै देखाइने हवाई कारलाई भविष्यको यातायातका रूपमा चित्रण गरिएको छ ।

सन् २०१९ मा मोर्गन स्ट्याने कम्पनीले हवाई कारको बजार सन् २०४० मा १५ खर्ब अमेरिकी डलर बराबरको हुनसक्ने अनुमान गरेको थियो ।

मंगलबार आयोजित एक कार्यक्रमका हुन्डाई मोटर्स युरोपका प्रमुख अधिकृत माइकल कोलले हवाई कारको सोच ‘हाम्रो भविष्यको एउटा अंश’ रहेको बताएका थिए । क्लेन भिजनले दुई वर्ष लगाएर ’२० लाख युरोभन्दा कम खर्चमा’ एयरकार निर्माण गरेको बताएको छ ।

क्लेन भिजनका एक सल्लाहकार र लगानीकर्ता एन्टोन राजाकले एयरकारले वायुसेवा वा गाडी बिक्रीको सानो बजार मात्रै पाए पनि धेरै सफल हुने बताए ।

‘अमेरिकामा मात्रै ४० हजार विमानको माग रहेको छ’ उनले भनेका छन् ‘हामीले यसको पाँच प्रतिशत मात्रै हवाई कारमा ल्याउन सक्यौँ भने हाम्रो लागि ठूलो बजार हुनेछ ।’

वेस्ट अफ इङ्गल्यान्डमा विमान र हवाई उड्डयन अध्ययनकर्ता डा. स्टेफन राइटले एयरकारलाई सानो निजी विमानको उत्तराधिकारी बताए ।

उनको विचारमा अन्य विमानको तुलनामा यी हवाई कारहरू ठूलो आवाज निकाल्ने वा महँगो हुँदैनन् ।

‘यो निकै राम्रो देखिन्छ तर यसको सुरक्षा र अन्य विषयमा मसँग सयौँ प्रश्नहरू छन् . विमान त जसले पनि बनाउन सक्छ तर उपयोगी त्यो हो जुन यात्रु लिएर बिना दुर्घटना लाखौँ घण्टा चल्न सक्छ,’
उनले थप अगाडि भने ‘म यो उडानको लागि र बिक्रीका लागि सुरक्षित भएको कागजात हेर्न व्यग्र छु ।’


क्लिकमान्डु