मेरो सेयर नखुल्ने समस्या हट्यो, एकैपटक ६० हजार भिजिटर थेग्ने बनाउन कसरी सम्भव भयो ?



काठमाडौं । यसअघि आइपीओ भर्दा सीडीएससीको मेरो सेयर नखुल्दा लगानीकर्ताले बेहोर्नु परेका गुनासा यसपटक देखिएन । विगतमा आइपीओ निष्कासन र बाँडफाँट गर्दा लगानीकर्ताको चाप बढ्दा मेरो सेयर नखुल्ने वा ढिलो गरी खुल्ने समस्या अहिले समाधान भइसकेको छ ।

जसको अनुभूति लगानीकर्ताले अहिले जीवन विकास लघुवित्तको आइपीओ भर्ने समयमा गरिसकेका छन् । आइपीओ भर्ने समयमा मेरो सेयर नचल्दा एकातिर आइपीओका लागि आवेदन दिन नपाउने र अर्कोतर्फ इडीआइएस गर्न नपाउँदा लगानीकर्ताहरु हैरान भएका थिए ।

सीडीएससीले मेरो सेयर राम्रोसँग चलाउन नसकेको, लगानीकर्ताले दुःख पाएको र रातभर जाग्राम बसेर आइपीओ भर्नुपर्ने जस्ता गुनासा सामाजिक सञ्जालमा यसपटक भने नदेखिएको सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यको भनाइ छ ।

‘आइपीओका लागि आवेदन दिने र बाँडफाँट हुँदा मेरो सेयर नखुल्ने समस्याले लगानीकर्ता हैरान भएका थिए तर अब यो समस्या हटाइसकिएको आचार्यको दावी छ ।

तत्कालीन समयमा मेरो सेयरमा भारी चाप भएपछि आइपीओ निष्कासन र बाँडफाँट शुक्रबारको दिन मात्रै गर्न शुरु  गरिएको थियो । ताकी इडीआइएसमा समस्या नहोस् ।

सीडीएससीका सीइओ आचार्य सफ्टवेयरको क्षमता बिस्तारसँगै अब अन्य दिनमा पनि आइपीओ निष्कासन र बाँडफाँट गर्न सकिने उनको भनाइ छ ।

कसरी सम्भव भयो ?
सीइओ आचार्यका अनुसार पहिले पुँजीबजारका लगानीकर्ताको संख्या न्यून भएकाले रियल टाइममा बढीमा २० हजार भिजिटरसम्म चाप थेग्न सक्ने गरी बनाइएको थियो । तर अहिले त्यो संख्या लाखौंमा छ ।

सीडीएससीका अनुसार जीवन विकास लघुवित्तको आइपीओमा मात्रै मंगलबार दिउँसोसम्म १९ लाख ७० हजार बढीले आइपीओका लागि आवेदन दिइसकेका छन् । जुन हालसम्मकै आइपीओमा आवेदन दिनेको सख्या आफैमा नयाँ रेकर्ड हो । तर यो आइपीओ भर्दा पहिलो पटक मेरो सेयरमा समस्या देखिएको छैन ।

पुँजीबजारमा लगानीकर्ताको संख्या ह्वात्तै बढ्दा त्यसको चाप मेरो सेयरमा देखिएको थियो । लाखौं व्यक्तिहरुले एकैपटक मेरो सेयर लगइन गर्दा वेवसाइट नखुल्ने समस्या सिर्जना भएको थियो ।

यसका लागि सीडीएससीले केही काम गर्यो । तत्कालका लागि अर्को विकल्प र सफ्टवेयरको क्षमताको विकास ।

जसमा सीडीएससीले शुरुमा आइपीओ बाँडफाँट भएपछि नतिजा हेर्नका लागि गुगल क्लाउडको प्रयोग गरी छुट्टै वेवसाइट तयार पार्यो । जसमा लगानीकर्ताले आइपीओको नतिजा हेर्नका लागि मेरो सेयरको वेवसाइट खोलिरहनु पर्ने बाध्यता हट्यो ।  र, सहजै  छुट्टै वेवसाइटबाट नतिजा हेर्न मिल्ने भयो । गुगल क्लाउडको प्रयोग गरिएकाले उक्त वेवसाइटले जति पनि चाप थेग्न सक्ने भयो ।

त्यसपछि सीडीएससीले पूर्वाधारमा लगानी गर्यो । आचार्यका अनुसार यो काम गतवर्षको असोज र कात्तिकबाटै शुरु गरिएको थियो । गत जेठ महिनामा मात्रै हार्डवेयर र सफ्टवेयरको क्षमता विकासको काम पनि गर्यो । साथै सर्भर पनि परिवर्तन गर्यो ।

जसका कारण अहिले मेरो सेयरको वेवसाइटमा रियल टाइममा ६० हजार भिजिटरसम्मको चाप सहजै थेग्छ । त्यसभन्दा बढी भयो भने बल्ल बिस्तारै स्लो हुँदै जान्छ ।

आचार्यको दावीलाई मान्ने हो भने नेपालमा रियल टाइममा यतिधेरै भिजिटरको चाप थेग्न सक्ने नेपालमा अर्को वेवसाइट छैन ।

त्यसबाहेक मेरो सेयरमा चाप कम गर्नका लागि मोबाइल एपले पनि ठूलो सहयोग गर्यो ।

‘कम्प्युटरको ब्राउजर र एपबाट मेरो सेयर खोल्दा एकै ठाउँ पुगिने हो तर पनि बढी चाप हुँदा स्लो हुने समस्या मोबाइल एपका कारण पनि सम्भव भएको हो,’ आचार्यले भने ।

उनका अनुसार अहिले आइपीओ भर्नेमध्ये करिब ५० प्रतिशतले मोबाइल एपको प्रयोग गरिरहेका छन् । हार्डवेयर र सफ्टवेयरमा ४ करोडभन्दा बढी खर्च हुने आचार्यको भनाइ छ ।


क्लिकमान्डु