चियाको निर्यात सुधारोन्मुख, ८० प्रतिशत निर्यात भारतमा



काठमाडौं । नेपालीमा उत्पादन भएको वस्तु तथा सेवामा अलैंचीपपछिसबैभन्दा बढी निर्यात हुँदै आएको चियाको निर्यात सुधारोन्मुख अवस्थामा रहेको तथ्यांकले देखाएका छन् ।

कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित भएको अवस्थामा पनि निर्यात उल्लेखनीय रहेकाले सुधारोन्मुख देखिएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार सामान्य अवस्थाको भन्दा बढी चिया निर्यात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा पनि कोरोना महामारीका कारण प्रशोधन तथा निर्यातमा असर परेको थियो । जसले गर्दा उत्पादन तथा प्रशोधनमा निकै समस्या भएर निर्यात गर्न सकेको थिएन । तर, चालु आवमा कोरोना महामारीले गर्दा चिया क्षेत्रमा कुनै असर नपरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

गत आर्थिक वर्षमा नेपालले १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ बराबरको ७७ लाख ५६ हजार केजी चिया निर्यात गरेको व्यापार तथा निकासी प्रवद्र्धनको तथ्याङ्कले देखाउँदछ । त्यस्तै चालु आवको जेठ मसान्तसम्ममा नेपालले ३ अर्ब ५३ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख ४० हजार केजी निर्यात गरेको छ । जुन हालसम्मकै उच्च हो ।

कोरोना महामारीका कारण गत वर्ष उत्पादन, प्रशोधन तथा निर्यातमा निकै असर परेकाले यो वर्ष कुनै असर नहुने काम गरेको हुनाले चियाको निर्यात बढेको बोर्डका प्रवक्ता दिपक खनाल बताउँछन् ।

‘गत वर्ष कोरोनाले गर्दा चिया क्षेत्रमा २० प्रतिशत असर गरेको थियो । यो वर्ष भने गत वर्षको कोरोनाको समयबाट केही पाठ सिक्यौं । जसले गर्दा बगानको चियालाई र प्रशोधनको कामलाई पनि असर हुन दिएनौं,’ उनले क्लिकमान्डूसँग भने ।

कारखानाको प्रशोधनमा पहिलेदेखि नै सचेत भएकाले यस क्षेत्रमा कुनै असर नदेखिएको उनको दावी छ । साथै, ढुवानीका लागि पनि कुनै समस्या नरहँदा उल्लेखनीय निर्यात गर्न सफल भएको उनको भनाइ छ । नेपालमा उत्पादित चिया सबैभन्दा बढी भारततर्फ निर्यात हुँदै आएको छ ।

भारतमा नेपालबाट करिब ८० प्रतिशत निर्यात हुने गरेको बोर्डले जानकारी दिएको छ । जसमा चालु आवमा ३ अर्ब ५३ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख ४० हजार केजी चिया निर्यात गर्दा भारततर्फ ३ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९७ हजार केजी भारततर्फ निर्यात भएको छ । त्यस्तै, जर्मनीमा ५ करोड ६२ लाख र जापानतर्फ ८९ लाखको चिया निर्यात भएको छ ।

बाँकी रुस, जर्मनी, चीन, जापान, फ्रान्स, अमेरिका, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुँदै आएको छ । उक्त यूरोपियन मुलुकमा भने अर्थोडक्स चिया निर्यात हुँदै आएको बोर्डले जनाएको छ ।
चालु आवमा कोभिडको कारण निर्यात हुन नपाएको चिया चालु आवको एक-डेढ महिना उत्पादन र प्रशोधनका साथै कार्गो÷सिपिङमा पनि समस्या भएको थियो । त्यसैले पछिल्ला दिनहरूमा भने आन्तरिक मौज्दात बढेकाले निर्यात ह्वात्तै बढेको बोर्डले जानकारी दिएको छ ।

चालु आवमा भारततर्फको चिया उत्पादनमा कोभिडले असर परेसँगै माग बढी रहेको उनले बताए ।

‘चियाको सवालमा भारतसँग नेपालको निकट सम्बन्ध रहेको छ,’ उनले भने, ‘भारतमा सिमीत क्षेत्रमा मात्रै उत्पादन गर्ने गर्दछ । उक्त उत्पादनले त्यहाँको जनसंख्यालाई धान्न सक्दैन । त्यसैले यो वर्ष माग बढेसँगै भारततर्फ निर्यात बढेको देखिन्छ ।’ साथै, भारतको सबैभन्दा सहज भनेको नेपालबाट निर्यात हुनेको उनको भनाइ छ ।

मुलुकभर मुख्यतः ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती हुन्छ  ।

आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा १६ हजार ९ सय ५ हेक्टरमा चिया खेती भएको बोर्डको तथ्यांक छ । उक्त क्षेत्रफलबाट २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको भएको बोर्डले जनाएको छ । उक्त चिया खेतीमा १४ हजार कृषि आबद्ध भएका छन् ।

५ वर्षमा कति भयो निर्यात/आयात ?
नेपालले वार्षिक अर्बौ रुपैयाँको निर्यात गरेसँगै करोडौंको आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । तथ्याङ्क अनुसार वार्षिक ६ करोडभन्दा बढी मूल्य बराबरको आयात हुने गरेको छ ।

जसमा सन् २०१६ देखि २०२० सम्ममा ११ अर्ब ७७ करोड ८० लाख रुपैयाँ नियात गरेको छ । सोही अवधिमा नेपालले ३३ करोड १९ लाख ३९ हजारको आयात गरेको प्रवद्र्धन केन्द्रको तथ्याङ्कले उल्लेख गरेको छ ।


क्लिकमान्डु