समस्यै समस्यामा फसेको नेशनल हाइड्रोपावरलाई तल्लो इन्द्रावती बरदान सावित होला ?



काठमाडौं । सन् २०२० जुलाई २० तारिखका दिन नेशनल हाइड्रो पावरको सेयर मूल्य मात्रै ५२ रुपैयाँ थियो । धितोपत्र बजारमा प्रतिकित्ता सेयरको मूल्य १०० रुपैयाँ तोकिएको हुन्छ । तर तोकिएको मूल्य भन्दा ४८ रुपैयाँ कममा सो कम्पनीको सेयर कारोवार भएको थियो ।

त्यसदिन ५७ रुपैयाँबाट शुरु भएको कारोवार ५८ मा पुगेपनि अन्तिममा ५२ मा आएर रोकिएको थियो । सो कम्पनीको सेयरमा लगानी गर्नेहरु निराश निराश थिए । ठिक एक वर्षपछि सोमबार सो कम्पनीको सेयर मूल्य ३३२ रुपैयाँमा पुगेको छ ।

नेपाली समाजमा एउटा उखान लोकप्रिय छ – १२ वर्षमा खोला पनि फर्किन्छ । नेशनल हाइड्रो पावरका हकमा पनि त्यस्तै भएको छ । समस्यामा परेको कम्पनीको सेयरमा गुल्जार भएको छ । पछिल्ला केही दिन त सो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट समेत लाग्यो ।

आइतबार सो कम्पनीको सेयर मूल्य ३४० रुपैयाँ थियो । कम्पनीको कूल १ करोड ३८ लाख ५१ हजार ८६२ कित्ता सेयर सूचीकृत छ । कम्पनीको कूल बजार पूँजीकरण समेत ४ अर्ब ५९ करोड ८८ लाख १८ हजार १८४ रुपैयाँ बराबर रहेको छ ।

केही समय पहिले कम्पनी विवादै विवादको भूमरीमा फस्यो । लगानीकर्ताहरुबीचमा एकले अर्कोलाई सिध्याउने खेल पनि राम्रै चल्यो । लगानीकर्ताको विवादका कारण कम्पनीले तल्लो इन्द्रावती आयोजना नै गुमाउनुपर्यो ।

विवादका कारण ४.५ मेगावाट क्षमताको तल्लो इन्दवती जलविद्युत् आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएपनि लाइसेन्स खारेज भयो । लाइसेन्स सरकारको नाममा गयो । विद्युत् विकास विभागले सो आयोजनाका सन्दर्भमा अक्सन गर्यो ।

विभागले गरेको बोलपत्रमा तल्लो इन्द्रावती जलविद्युत आयोजनाका नेशनल हाइड्रोपावर कम्पनीले नै पाएको छ ।

विभागले तल्लो इन्द्रावती जलविद्युत आयोजनालाई खुल्ला प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई दिन लागेको थियो ।

विभागले आर्थिक तथा प्राविधिक दुवै प्रस्ताव मागेको थियो । सो प्रस्तावको मूल्यांकन गरेको हो ।

सो आयोजनाका लागि नेशनल हाइड्रोपावर कम्पनीका अलावा वाइबा एण्ड लामा अनिल मुक्ति जेभि र आरएम इन्भेष्टमेन्ट कम्पनीले प्रस्ताव गरेका थियो ।
लगानीकर्ताको विवादका कारण समस्यामा परेको आयोजना पुनः नेशनल हाइड्रोपावरले नै पाएको छ । आयोजनामा करिब ६५ करोड रुपैयाँ लगानी भइसकेको थियो ।

विभागका अनुसार पछिल्लो पटकको बोलपत्रमा नेशनल हाइड्रो पावरले नै आयोजना पाएकाले उसलाई काम गर्न थप सहज हुने देखिन्छ ।
सो कम्पनीले पुनः तल्लो इन्द्रावती प्राप्त गरे सँगै उक्त आयोजनामा यस अगाडि गरिएको लगानीलाई खराब कर्जाबाट समेत हटेको छ ।

कम्पनीका अनुसार आयोजनाको सुरुङ, जग्गा र अन्य संरचना राम्रै अवस्थामा भएकाले थप ४० करोडको हाराहारीमा लगानी गर्दा सम्पन्न हुने अवस्थामा पुग्नेछ ।

यसअघि खराब कर्जामा रहेको रकम त्यसबाट हट्ने बित्तिकै कम्पनीको जगेडा कोष स्वत सकारात्मक हुने छ । कम्पनीका प्रमुख रहेका कुमार पाण्डेले लगानीकर्तालाई लाशांश दिन सक्ने अवस्थामा आफूहरु पुगेको यसअघि नै दावी गरिसकेका छन् ।

यसअघि कम्पनीमा एनबि समूह र पाण्डे समूहका बीचमा राम्रै विवाद भएको तथ्य सार्वजनिक रुपमा नै जहजाहेर भएको विषय छ । समस्यामा परेको कम्पनीलाई हाथवे इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटलले लगानी गरेका थिए ।


क्लिकमान्डु