कोरोनाका कारण १७ प्रतिशत होटल पूर्णरुपमा बन्द: सिर्जना राणा



काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रमा परेको होटल क्षेत्रमध्ये १७ प्रतिशत होटलहरु पूर्णरुपमा बन्द भएका छन् ।

क्लिकमाण्डूसँगको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै होटल एसोसिएसनका अध्यक्ष सिर्जना राणाले कोरोनाका कारण अधिकांश होटल निकै प्रभावित भएको बताइन् ।

उनका अनुसार हाल ९४ प्रतिशत होटल कोरोनाका कारण बन्द भएकामध्ये १७ प्रतिशत पूर्णरुपमा बन्द भइसकेका छन् ।

त्यसैगरी ८७ प्रतिशत होटलले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् । त्यसैगरी ६५ प्रतिशत जनशक्ति बेरोजगार भएका छन् भने ८० प्रतिशत होटलले सञ्चालन खर्च समेत धान्न नसक्ने अवस्था छ ।

साथै ३२ प्रतिशत होटलमा लगानी रोकिएको छ भने त्यसमध्येका कतिपय होटलले लगानी स्थगित गरेका छन् ।

पर्यटन क्षेत्र नेपालका लागि निकै महत्वपूर्ण उद्योग हो । एउटा पर्यटक नेपाल आउँदा १० वटा नेपालीले फाइदा पाउँछन् । पर्यटन क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निकै ठूलो सहयोग गरिरहेको हुन्छ ।

‘विगत ७ वर्षको तथ्यांक हेर्दा सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक आएका थिए । भूकम्पको वर्ष ३९ प्रतिशत कम भए पनि हामीले त्यसलाई तुरुन्तै रिकभर गर्न सक्यौं,’ उनले भनिन् ।

नेपाल भ्रमण वर्ष २०२० मा मनाउने भनिएको नेपाल भ्रमण वर्ष कोरोनाका कारण हुन पाएन भने सन् २०२१ मा पनि असर गरिरहेको छ । अन्य उद्योगको तुलनामा यो उद्योग फरक भएको उनको भनाइ छ ।

‘यो अरु उद्योग जस्तो होइन, जुन दिन पर्यटक आउँदैन तब होटल चल्न सक्दैनन् । तर हामीहरु अझै पनि आशावादी छौं । विशेषज्ञहरुका अनुसार ५ वर्षसम्म नै यो क्षेत्रलाई निकै जटिल अवस्था छ । यो क्षेत्रलाई आर्थिक रुपमा मात्रै नभइ मनोवैज्ञानिक असर पनि ठूलो छ,’ उनले भनिन् ।

मुख्य विषय मौद्रिक नीतिमा आएका कुराहरु कार्यान्वयनमा चुनौतीपूर्ण रहँदै आएको छ । हामीले हाम्रो समस्याहरु एसोसिएसनका तर्फबाट राख्दै आएको उनले बताइन् ।

अहिले होटलहरुमा पनि सञ्चालक र श्रमिकबीच गत वर्षदेखि नै आपसी समझदारीमा ज्यालाको समस्या उत्पन्न भएको छैन । जुन निकै सकारात्मक पक्ष हो । त्यसबाहेक होटलबाट बेरोजगार भएका जनशक्तिहरु पनि उद्यमीका रुपमा उदाएको पनि पाइएको उनको भनाइ छ ।

यस्ता छन् माैद्रिक नीतिमा समेटिनु पर्ने हानका माग
१) हाल बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको सम्बन्धमा अनुगमन गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।

२) हालको अवस्थालाई मध्यनजर गरिँदै यसरी प्रवाह गरिने थप कर्जा रकम दिँदा हाल कायम रहेको ने.रा. बैकको मापदण्डअनुसार कमसेकम ८० प्रतिशत कर्जा मात्र प्रवाह गर्न पाइने नियम लागू हुनु नपर्ने ।

३) हाल कायम रहेका पुनकर्जाको रकम थप गरिनुपर्ने तथा सो कर्जाको अवधि अर्को एक वर्षसम्म कायम गरिनुपर्ने ।

४) पुनकर्जा प्रदान गर्दा हाल ने.रा. बैंकले तोकेको दरमा २ प्रतिशतसम्म थप प्रिमियम लिने गरी गर्ने व्यवस्था रहेकोमा सो प्रिमियम रकम १ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था हुनुपर्ने ।

५) हाल प्रयोगमा रहेका कोभिड लोन यस असार मसान्तसम्ममा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था रहेकोमा सो कर्जा रकम होटलको व्यवसायिक योजना अनुसार नगद प्रवाह मूल्यांकन गरी भविष्यमा पुरानो कर्जा भुक्तानी भएपश्चात तीन वर्षमा भुक्तानी हुने गरी तालिकीकरण गर्नुपर्ने ।

६) पुनकर्जा प्रवाह गरिँदा ने.रा. बैंकबाट तोकिएको दर ३ प्रतिशतबाट न्यूनतम दर कायम गरिने व्यवस्था हुनुपर्ने ।

७) हाल कोभिड-१९ को दोस्रो लहरमा रहेको र तेस्रो लहरको समेत सम्भावना कायम रहेको हुँदा होटल व्यवसाय पूर्ण रुपमा बन्द रहेको कुरा विदितै छ । यसरी बन्दाबन्दी अवस्थामा रहेको उद्योगलाई न्यूनतम मापदण्डमा कायम राख्न आवश्यक पर्ने चालू पुँजीका रुपमा थप कोभिड कर्जा व्यवसायीको मागअनुसार प्रदान गरिनुपर्ने ।

८) हाल कायम रहेका कर्जा (होटल व्यवसाय निर्माणाधिनमा रहेका तथा सञ्चालनमा रहेका) एक वर्ष सम्मको वा कोभिडको असर रहेसम्मको व्याज होटल व्यवसायीको व्यवसायिक योजनाअनुसार भविष्यमा भुक्तानी हुने गरी व्याजको पुँजीकरण गरिनुपर्ने ।

९) हाल कायम रहेका कर्जाको किस्ता रकम गतवर्ष समेत पुनर्तालिकिकरण गरिसकिएको हुँदा यस पटक पुनः सो सुविधा व्यवसायिक योजनाअनुसार गर्न पाउने व्यवस्था हुनुपर्ने ।

१०) साना तथा मझौला होटलहरुको लागि कम्पनीको लगानीको आकार र आवश्यक व्यवसायिक योजनाको आधारमा बढीमा ५ करोडसम्म विना धितो कर्जा प्रदान गरिनुपर्ने ।

११) हालको अवस्थामा होटल व्यवसायीले कर्जा तथा व्याज भुक्तानी गर्न नसकेको कारणबाट बैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिन नपाउने तथा व्यवसायीलाई कर्जा भुक्तानी गर्न बाध्यकारी बनाउन नपाउने तथा व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य बाध्यकारी गर्न नपाइने ।


क्लिकमान्डु