काठमाडौं-तराई फास्ट्रयाकमा सुरुङमार्ग र अग्लापूरको डिजाइन गर्न चिनियाँ टोली नेपालमा



काठमाडौं । निर्माणधिन काठमाडौं–तराई फास्ट्रयाकको सुरुङमार्ग र अग्लापूरको डिजाइन गर्न चिनियाँ टोलीमा नेपाल आइपुगेको छ ।

मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटरको सुरुङमार्ग र धोन्द्रे र लेनडाँडामा २ वटा अग्ला पुलको डिजाइन गर्न पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशन नेपाल आएको सेनाले जानकारी दिएको छ ।

पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशन १४ जना प्राविधक बुधबार चार्टर फ्लाइटमार्फत् काठमाडौं आएका सेनाका सूचना अधिकारी सन्तोष बल्लभ पौडेलले बताए । चिनियाँ टोलीमा प्रोजेक्ट म्यानेजरसहित सडक, पुल र सुरुङमार्गका इन्जिनियर छन् ।

सुरुङमार्ग अग्लापूर निर्माण गर्न सेना र चिनियाँ कम्पनीबीच २०७८ बैशाख ३१ गते सम्झौता भएको छ । इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा सुरुङमार्ग अग्लापूर निर्माण गर्न २४ अर्ब ९७ करोड रुपैयाँमा सम्झौता भएको हो ।

साढे ३ वर्षमा डिजाइन र निर्माण गर्ने सम्झौतापत्रमा उल्लेख छ । यसमा डिजाइन ६ महिना र निर्माण ३ वर्ष रहेको छ । साथै निर्माण कम्पनीले ५ वर्षसम्म मर्मतसम्भार पनि गर्नुपर्छ ।

कोभिड–१९ का कारण जारी निषेधाज्ञाका कारण चिनियाँ टोली नेपाल आउन ढिलाइ भए पनि तोकिएको समयमा डिजाइन सम्पन्न हुने सेनाले विश्वास लिएको छ ।

फास्ट्रयाकमा ३ वटा सुरुङमार्ग निर्माण हुनेछन् । महादेवडाँडा ३.३५ किलोमिटर सुरुङमार्ग निर्माणको जिम्मा पनि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेरेशनले पाएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेरेसनले १८ अर्ब ६९ करोड ३३ लाख रुपैयाँमा ठेक्का पाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेरेसन एक साताअघि नै नेपाल आउने कार्यक्रम रहेको थियो । तर फ्लाइट नभएकाले उनीहरुका प्रतिनिधि तोकिएको समयमा आउन नसकेको सेनाको दावी छ ।

सेना र चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेरेसनका प्रतिनिधिबीच छलफल भइरहेको छ । पछिल्लो जानकारी अनुसार चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेरेसनका प्रतिनिधि एक साताभित्र नेपाल आउने तयारीमा रहेको उनले जानकारी दिए ।

भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा द्रूतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो । सेनाले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको थियो । सेनाले द्रुतमार्ग निर्माणको जिम्मा पाएको ३ वर्षसम्म डीपीआर उपलब्ध थिएन ।

२०७६ भदौमा मन्त्रिपरिषद्ले डीपीआर स्वीकृत गरेसँगै फास्ट्रयाक निर्माणले गति लिन शुरु गरेको थियो । सेनाले २०८१ सालभित्र फास्ट्रयाक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेको पौडेलले बताए ।


क्लिकमान्डु