धितोपत्र बोर्डको विज्ञप्तिको असरः लगानीकर्ताले एक सातामा गुमाए २ खर्ब ३५ अर्ब
काठमाडौं । नेपाल धितोपत्र बोर्डको एउटा विवादित निर्णयका कारण सेयर बजारका लगानीकर्ताले ४ दिनमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् ।
बोर्डले गत असार १ गते मंगलबारको कारोबार बन्द हुने वित्तिकै ५१ वटा सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेपछि सेयर बजारले ओरालो यात्रा समातेको छ । जसमा लगानीकर्ताले ठूलो सम्पत्ति गुमाउनु परेको छ ।
मंगलबार कारोबार बन्द हुँदासम्म बजार पुँजीकरण ४१ खर्ब ७२ रुपैयाँ रहेकोमा सोमबारको कारोबार बन्द हुँदासम्म बजार पुँजीकरण घटेर ३९ खर्ब ३७ अर्ब रुपैयाँमा सीमित भएको छ ।
पछिल्लो समय बुलिस ट्रेन्डमा उकालो ग्राफमा दौडिरहेको बजार बोर्डको निर्णयले आरोलो यात्रा शुरु गरेको छ । बुल रनमा दैनिक करिब १७ अर्बदेखि साढे १९ अर्ब रुपैयाँसम्मको कारोबार भइरहेकोमा अहिले त्यो खुम्चिएर ९ देखि साढे ११ अर्बको बीचमा सीमित भएको छ ।
नेप्से परिसूचक
असार १ गते मंगलबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ३०२२.११ अंकमा थियो । बोर्डको मंगलबारको निर्णयका कारण बुधबार नेप्से परिसूचक ५२.३९ अंकले घटेको थियो । त्यसैगरी बिहीबार थप १.२९ अंकले गिरावट देखिएको थियो । आरोलो यात्रालाई कायम राख्दै आइतबार थप ६३ अंकले घटेको नेप्से सोमबार फेरि ७१ विन्दुले घटेर २८३४.४१ अंकमा सीमित भएको छ ।
धितोपत्र बोर्डले सेयर मूल्यमा चलखेल तथा कर्नरिङ भएको आशंकामा ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको थियो । बोर्डको उक्त निर्णयलाई अपरिपक्क निर्णय भन्दै लगानीकर्ताहरुले विरोध जनाइरहेका छन् ।
लगानीकर्ताहरुले बोर्डले आशंकाकै भरमा कम्पनीको नाम सार्वजनिक गर्नु गैरजिम्मेवारीपन भएको तर्क गरेका छन् । लगातार बजार घटिरहँदा लगानीकर्ताले ठूलो रकम गुमाएको भन्दै यसको जिम्मेवारी बोर्डले लिनुपर्ने समेत तर्क गर्न थालेका छन् ।
नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले बोर्डको निर्णय स्वागतयोग्य भए पनि ५१ वटा कम्पनीको नाम नै सार्वजनिक गरी ती कम्पनीमा भएको लगानी जोखिमयुक्त भयो भन्नु उचित नभएको बताइन् ।
यसले गर्दा अन्य कम्पनीको लगानीमा पनि असर परेको उनको भनाइ छ ।
‘बजार मूल्य निर्धारण बोर्डले गर्ने होइन, त्यसैले बोर्डको निर्णय स्वागतयोग्य हो तर बोर्डले नाम नै सार्वजनिक गर्दाको असर अन्य कम्पनीको लगानीकर्तामा पनि परेको छ,’ उनले भनिन् ।
उनले बोर्डको उक्त विज्ञप्तिले रक्षक नै भक्षक भएको उनको टिप्पणी छ ।
धितोपत्र बोर्डले सार्वजनिक गरेको कम्पनीहरूको सूची