पोर्टफोलियो व्यवस्थापन कसरी गर्ने र प्रोफिट बुक कहिले गर्ने ?: अम्बिका पौडेलको टिप्स



काठमाडौं । पछिल्लो सयम सेयर बजारमा प्रवेश गर्नेहरुको घुइँचो लाग्न थालेको छ । नपाल स्टक एक्सचेञ्ज निरन्तर बढेपछिको बुलिस मार्केटमा लाखौं लगानीकर्ता प्रवेश गरेका छन् ।

बजारले बुलिस ट्रेण्ड समातेका बेला सेयर बजारमा अधिकांशले कमाउँछन् । यसरी कमाउन पल्किएका लगानीकर्ता पोर्टफोलियो म्यानेजमेन्ट र प्रोफिट बुक गर्न नजान्दा नराम्रोसँग फस्छन् ।

तर, अनुभवी लगानीकर्ताहरुले भने पोर्टफोलियोको म्यानेजमेन्ट गरेका हुन्छन् । र, उपयुक्त समयमा प्रोफिट बुक गरेर बाहिरिन्छन् ।

अहिले नेप्से बुलिस ट्रेण्डमा छ । यस्तो अवस्थामा अघिल्लो बुल र बियरिस ट्रेण्डको राम्रो अनुभव गर्न नपाएका लगानीकर्ताहरुका लागि यो सामाग्री अत्यन्तै उपयोगी हुनसक्छ ।

सेयर बजारमा दुई दशक लामो अनुभव बोकेका ठूला लगानीकर्ता अम्बिका पौडेललाई हामीले सोधेका थियौं- ‘सेयर बजारमा लगानी गरेर कमाउनका लागि के गर्नुपर्छ ?

पौडेलकै शब्दमा

धेरै लगानीकर्ताको यहाँनिर समस्या हुन्छ । पुँजीबजारमा आउनु हुन्छ । र, कमाउनु पनि हुन्छ । ६/७ महिना अघि पुँजीबजारमा छिरेका लगानीकर्ताहरु अधिकांशले धेरै कमाउनु भएको छ ।

तर त्यो पैसा त्यहाँबाट निकालेर अन्य क्षेत्रमा कहिले लगानी गर्नुहुन्छ भन्ने हो । बजार बढ्दा सबैले कमाउने हो । घट्न थालेपछि सबैको घट्ने हो । यदि यथास्थानमा बस्ने हो भने त १० लाखबाट करोड पनि पुग्छ । र, बसिराख्यो भने पनि १० लाखमै पनि झर्नसक्छ । त्यसो हुँदा पुँजीबजारमा लगानीकर्ता गर्दा आत्मअनुशासन हुनुपर्छ । तपाईंले डेडिकेटेड योजना बनाएर यति लगानी गर्छु र यति पुगेपछि त्यो कम्पनीबाट बाहिरिन्छु भन्ने योजना बनाउनुपर्छ । त्यसमा प्लस र माइनसको चक्रिय कुराहरु पनि साथीहरुसँग सोध्नुपर्छ । अनुभवीसँग सिक्नुपर्छ । तपाईंले ३ सयमा किनेको सेयर ६ सयको लक्ष्य राख्नु भयो भने त्यसैमा लकअप गर्नुहोस् । लगानीको प्रतिफल ल्याएर राख्न सक्नु भयो भने सफल हुनुभयो होइन भने असफल हुनुपर्छ ।

म बुल र बियरिसमा दुबैमा लगानी गर्छु । मैले ११ सयमा नेप्से हुँदा ऋण गरेर पनि लगानी गरेको छु । साथै केही कम्पनीमा लगानी गरेको हुन्छु । जुन लामो समयसम्म ढुक्कसँग राख्छु । मैले नबिल बैंक ५९६ रुपैयाँमा किनेर आजसम्म राखेको छु । मैले केही सेयर ट्रेडिङ पनि गरेको हुन्छ । त्यसै अनुसार पोर्टफोलियो बनाएको हुन्छु । मैलै ३५ सयसम्म नेप्से परिसूचक पुग्छु भनेको छु भने त्यो पुग्नुभन्दा केही अगाडिबाट बिक्री गर्न शुरु गर्छु । र, बीचमा केही लगानी गरेका कम्पनीलाई गोडमेल गर्छु । आज राम्रो भएको कम्पनी केही समयपछि नराम्रो हुन सक्छ ।

म न्यूनतम विन्दुमा पुग्दा लोन पनि लिन्छु । र, बजार बुलिस ट्रेन्डको उच्चतम विन्दुमा लोन फ्रि हुन्छु । तर, यहाँ त उच्च बुलमा हुँदा धेरै लगानीकर्तासँग लोन हुन्छ । त्यो लोनले पछि पीडा दिन्छ । त्यसैले लगानीकर्ताहरु आत्मअनुशासनमा बसेर लगानी गर्नुपर्छ र कहिले भित्रिने र कहिले बाहिरिने भन्नेमा आफूले योजना बनाउनुपर्छ । उपयुक्त समयमा प्रवेश गर्ने र उपयुक्त समयमा बाहिरिन सक्नुपर्छ । धेरै लगानीकर्ताका लागि अहिलेको समय प्रोफिट बुक गर्ने उपयुक्त समय पनि हुनसक्छ ।


पुष्प दुलाल