यो बुलमा नेप्से ४२०० अंकसम्म पुग्नसक्छ, ‘क्लाइमेक्स’मा सेयर किन्नेहरु फस्छन्



विसं ०७५/७६ तिर सेयर बजारका लगानीकर्ताहरु निकै निराश थिए । १८८१ को बुलबाट फर्किएर बजार १०००/१२०० सय अंकको वरिपरि घुमिरहेको थियो । यही चरणको निराशाबीच लगानीकर्ता अम्बिका पौडेलले २०७६ बैशाखमा क्लिकमाण्डूसँगको अन्तर्वार्तामा सेयर बजारमा वियरिस ट्रेण्डको चक्र सकिएको र बजार बुल भएर २/३ वर्षभित्र नेप्से न्यूनतम ३५०० अंकमाथि पुग्ने विश्लेषण गरेका थिए ।

नेप्से परिसूचकले ३००० को बिन्दु पार गरिसकेको छ । नेप्सेले सूचक र कारोबार रकम दुबैमा दैनिकजसो नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । एकैदिन  साढे १९ अर्ब रुपैयाँसम्मको कारोबार भयो भने बजार पुँजीकरण ४१ खर्ब रुपैयाँसम्म पुग्यो । बजारले बुलिस ट्रेण्ड समातेको छ । लगानीकर्ताहरु उत्साहित छन् । नियामकले भने तीव्र गतिमा बढेको सेयर बजारलाई ब्रेक लगाउन खोजिरहेको छ । यस्तो अवस्थामा बजारमा कस्तो प्रभाव पर्छ ? बुलिस मार्केट कतिसम्म पुग्ला ? र, लगानीकर्ताले कसरी प्रोफिट बुक गर्ने ? नेपालको पुँजी बजार फेयर छ कि छैन ? लगायतका विषयमा कन्द्रित रहेर  नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका सेयर बजारका ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलसँग  क्लिकमाण्डूका लागि आषीश ज्ञवाली र कमलकुमार बस्नेतले गरेको कुराकानीः

लगानीकर्ता चरम निराश र सेयर बजार बियरिस ट्रेण्डमा भएको समयमा क्लिकमाण्डूसँगकै अन्तर्वार्तामा परिसूचक ३५ सय पुग्छ भन्नुभएको थियो । अहिले ३ हजारभन्दा बढी अंकमा परिसूचक पुग्यो । के आधारमा भविष्यवाणी गर्नु भएको थियो ?

मैले त्यो बेला मेरो अनुभवको आधारमा भनेको थिएँ । नेपालको सेयर बजारमा बुलिस र बियरिस ट्रेण्डको तीन/चार पटक भइसकेको छ । बुलिसबाट बियरिस गर्दा ७५ प्रतिशत घटेको थियो । त्यो बेला ७ गुणा बढेको थियो । अर्को ६५ प्रतिशत घटेको थियो । बजार ६ गुणा बढेको थियो ।

मैले त्यो बेला बजार ११ अंकभन्दा तल झर्दैन र माथिजाँदा ३५ सयभन्दा माथि जान्छ भनेको थियो । ११ सयभन्दा तल जादैँन र १८८१ लाई आधारमान्दा करिब ४२ प्रतिशत बजार घटेको थियो ।
सेयर बजारलाई प्रकृतिसँग तुलना गर्ने हो । एउटा बल जति प्रेसरले माथि जान्छ त्यती नै प्रेसले तल झर्ने हो । ११ सयभन्दा तल जाँदैन भनेको हुँदा ३५ सयसम्मको बिन्दुमा जान्छ भनेको थिए । अहिले कति कम्पनी थपिए । तिनीहरुले नेप्सेको कस्तो भूमिका निर्वाह गरे भन्ने कुरा पनि यसमा जोडिन्छ ।

तपाईंले ३५ सय बिन्दुको प्रक्षेपण गर्दा पुनर्बीमा, शिवम् सिमेन्ट तथा पूर्वाधार विकास बैंकले सेयर जारी गरेका थिएनन् । त्यसपछि बजारमा बीमा, लघुवित्त तथा जलविद्युत् कम्पनीको सेयर थपियो । जसले ३ हजार इन्डेक्समा नेप्से पुग्यो । तर, अहिलेपनि केही वाणिज्य बैंकको सेयर किन्नेहरु घाटामा छन् । त्यो प्रक्षेपण नयाँ कम्पनी थपिने आधारमा थियो ?

मैले त्यो बेला जे जति कम्पनी थिए त्यो आधारमा भनेको थिए । कुन कम्पनी थपिने क्रममा छन् भन्ने जानकारी थिएन । अहिले पछिल्लो समय थपिएका कम्पनीको योगदानका आधारमा मेरो प्रक्षेपण ३५ सयमाथि बजार जान्छ भन्ने हो । अन्य सेक्टरमा बुल आएको छ । विकास बैंक, फाइनान्स, लघुवित्त, हाइड्रो, बीमा तथा अन्य सेक्टरमा बुल आएको छ । लगभग पीइ रेसियो हेर्दा त्यो क्षेत्र एउटा बिन्दुुमा पुगेको देखिन्छ । योभन्दा अगाडिको बुलमा वाणिज्य बैंकको सेयर मूल्यलाई र पीइ हेर्दा बैंकहरुको मूल्य बढ्न बाँकी छ ।

सेयर बजारमा अझै बुल देख्न बाँकी छ भन्न खोज्नु भएको हो ?

पूँजी बजार ११ सय अंकमा आएपछि योभन्दा तल झर्दैन भनेको थिए । बुलका लागि समय अझै प्रयाप्त छ । बुलका लागि जुन किसिमको वातावरण चाहिने हो, त्यो बनेको छ । बैंकको ब्याजदर, लगानीकर्ताको मनोविज्ञान तथा रिर्टनको कुरा हुँदा सेयर बजारमा बुलको लागि वातावरण बनेको छ ।

तपाईंको आधारलाई विश्लेषण गर्दा नेप्से परिसूचक ६ हजार पुग्ने देखियो नि, होइन ?

मैले न्यूनतम ३५ सय अंक पुग्छ भनेको थियो । पछिल्लो समय थपिएका कम्पनीले ५/६ सय अंक बढाउन मद्दत गरेका छन् । त्यो आधारमा ११/१२ सय अंक बढ्न बाँकी । मैले यो भन्दै गर्दा पूँजी बजारमा ठ्याक्कै मिल्छ भन्ने होइन । बजार बुल हुन पर्याप्त आधार छन् । अबका दिनमा कतिपय कम्पनीहरुको सेयर मूल्य नबढ्ने र यथास्थितीमा रहने तथा घट्ने हुनसक्छ । बजारको अन्तिम चरणमा सबै क्षेत्र क्लाइमेक्समा पुग्छ, त्यसपछि ठूलो बढ्ने हो । त्यसपछि एउटा बिन्दुमा पुगेपछि बियरिसमा पुग्छ ।

बैंकको सेयर मूल्य बढ्छ । हिँजोका दिनमा मैले नेप्से परिसूचक ११ सय बिन्दुमा हुँदा ३५ सय पुग्छ भन्दै गर्दा कसैले विश्वास गरेका थिएनन् । लगानीकर्ता कसैले कल्पना गरेको थियो ? गतवर्ष र अहिलेको तुलनामा फाइनान्स, हाइड्रो र बीमा ४/५ गुणासम्म सेयर मूल्य बढ्छ भनेर कसैले कल्पना गरेका थिएनन् । हामीले एक सय रुपैयाँमा नकिनेको सेयर अहिले ५/६ सयमा किनबेच भइरहेको छ । यो वास्तविकता होला जस्तो लाग्दैन । यस्तै अवस्था वाणिज्य बैंकको हकमा छ ।

सेयर बजार उछाइ छुन बाँकी छ भन्नु भयो । त्यो उचाई कहिले छुन्छ होला ?

अहिलेको सेयर बजारको स्पिड बढी छ । हिँडेर जाने गन्तव्यमा सवारी साधन प्रयोग गरेर छिटो पुगेको जस्तो लाग्छ । ३ हजार इन्डेक्समा परिसूचक पुगेको हुँदा छोटो समयमा यो लक्ष्य पूरा हुन्छ । अघिल्लो वर्ष टिएमएस युजर ३५ हजार थिए अहिले ७ लाख पुगेका छन् । डिम्याट खोल्नेको संख्या ३५ लाख पुगेको छ । सेयर कारोबारको लागि ब्रोकरको लागि भर भर्नुपर्ने थियो ।

अहिले लगानीकर्ता आफैले जहा बसेर पनि सेयर किनबेच गर्न पाउने अवस्था आएको छ । गाउँमा जानुहोस् बजारमा जानुहोस् सेयरको मात्र कुरा सुनिन्छ । कोभिडको कारण धेरे व्यवसाय बन्द छ । जसले गर्दा सानादेखि ठूला लगानीकर्ता सेयर बजारमा आए ।

छिटो पुग्न खोज्दा दुर्घटना पनि हुन्छ । सेयर बजारको हरेक पटकको बुलमा नयाँ लगानीकर्ता थपिन्छन् । यो पटक धेरै थपिए । कम्पनीको भविष्य हेरेर लगानी गर्ने हो । तर, जुन कम्पनी भएपनि सेयर किन्ने मानसिताले गर्दा दुर्घटना हुनसक्ने सम्भावना कत्तिको छ ?

सेयर बजारमा बुल र बियरिस ट्रेण्ड चल्छ । प्रत्येक बुलमा नयाँ लगानीकर्ता थपिन्छन् । अहिले धेरै थपिएका छन् । सेयर बजारको क्यारेक्टर हेर्दा छोटो समयमा धेरै ग्रोथ बढेको छ । अहिले थपिएका लगानीकर्ताले हिजोको बियरिस ट्रेण्ड देखेका छैनन् । उहाँहरुले किनेको सेयर मूल्य बढेको र फाइदा मात्र भएको देख्नु भएको छ । नयाँ लगानीकर्ताको संख्या बढी छ । अहिलेको बजारमा सामान्य अंकले घट्दापनि लगानीकर्ताले ठूलो रकम गुमाउन सक्ने अवस्था छ । यस्तो अवस्थामा लगानीकर्ता पलायन हुने सम्भावना छ । मेरो आफ्नो २५ वर्षको पूँजी बजारको अनुभवमा सँधै आनन्द हुने बजार देखिएको छ ।

कोभिडपछि बैंकमा तरलता सहज छ । असार लागिसकेपछि अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतभन्दा बढी भएको छ । केही बैंकहरुले साढे ८ प्रतिशतमा मुद्दति निक्षेप लिने भनेका छन् । यसले सेयर बजारमा घन्टी बजाएको जस्तो देखिएन र ?

गत वर्षहरुमा तरलता सहज हुँदा पनि अलिकति टाइट भएको देखिएको हो । अहिले राजनीतिक तरिकाले पनि यसमा असर पार्छ । कोभिडका कारण खर्च पनि कम भएको छैन । सरकारको पनि खर्च गर्न सक्ने अवस्था कम भएको हो । यसमा सँगै बुझ्नुपर्ने विषय अब मुलुक चुनावी प्रक्रियामा अगाडि बढ्नु पर्ने अवस्था आएको छ । त्यसले पनि तुरुन्तै तरलता असहज हुन्छ भन्ने मान्यता राख्दैन । तर, अर्को सिद्दान्त के भने सेयर बजारमा ब्याजदर एउटा फ्याक्टर हो ।

तर क्लाइमेक्स पुगेको बेलामा बलियो फ्याक्टर बन्छ । तर, जब बजार बुलिस ट्रेन्डमा हुन्छ त्यो बेलामा यो एउटा मात्रै फ्याक्टर हुँदैन । त्यसो भएकाले बजार बुलिसमा भएको र आजका दिनमा ब्याजदर एक्कासी १०/१२ प्रतिशतमा पुग्छ भन्ने लाग्दैन ।

तीव्र गतिमा गयो भने ४ हजार माथि पुग्न सक्ने भयो । तर, तपाईंको अनुमानमा यो बुलमा नेप्से परिसूचक कतिसम्म माथि जान सक्ला ?

यो ठ्याक्कै भन्न सकिने होइन । बुलिस बजारमा अरुले कसरी रियाक्ट गर्छन् भन्नेले अर्थ राख्छ । तर, बुलिस मार्केटमा बजार क्लाइमेक्समा पुगिसकेपछि धेरै समयसम्म रहँदैन । जस्तै तपाईं सगरमाथाको चुचुरोमा पुगेपछि धेरै समयसम्म त रहन सक्नुहुन्न । तल त ओर्लनै पर्छ नि । त्यस्तै हो सेयर बजार पनि एउटा क्लाइमेक्समा पुगेपछि धेरै समयसम्म रहन सक्दैन । अब तपाईंले भनेको अंक बढ्न त १० दिनमै पनि पुग्नसक्छ ।

बजारलाई ‘पुस’ गर्ने फ्याक्टरले अर्थ राख्छ । नियामक निकायले कसरी र कस्तो नीति लिन्छ भन्नेले पनि अर्थ राख्छ । तर, जहाँसम्म कहिले बढ्छ भन्ने विषय त्यो पहिलेको जस्तो सुस्त गतिमा हुँदैन । जब बजार बढ्न थाल्छ त्यो पहिलेको तुलनामा निकै छिटो हुन्छ । पहिले ३/४ वर्ष नै लाग्यो भने अहिले त्यति धेरै समय लाग्दैन । तर, समय नै भन्न सक्ने अवस्था रहन्न । अझै १०००÷१२०० अंकले नेप्से बढ्नसक्ने अनुमान चाहीँ गर्न सकिन्छ ।

अब फेरि बियरिसतर्फ जाँदा कतिसम्म जान्छ भन्ने यहाँलाई लाग्छ ?

अहिले नै बियरिस बजारको कल्पना गर्ने अवस्था छैन । किनकी हामी पुग्ने ठाउँ नै अहिलेको कल्पना हो । प्रतिशतका रुपमा हेर्दा विगतमा ७५ प्रतिशत, ४२ प्रतिशतसम्म पनि घटेको छ । यसमा नियामक निकायको भूमिका सकारात्मक भएकाले तत् समयमा बजार रोकिएको थियो । त्यो समयमा कतिपय साथीहरु अनशन पनि बस्नु भयो ।

बजार प्यानिक भएको समयमा पनि बजार रोकिएको थियो । बियरिसतर्फ गइरहेको बजार एक्कासी रोकिएको थियो । त्यसैले त्यस्ता कुराहरुले पनि न्यून विन्दुलाई प्रभाव पार्छ । अहिले उच्च विन्दुमै नपुगी सबै विन्दुहरु नकारात्मक भयो भने के हुन्छ भन्ने पनि हो । धितोपत्र बोर्ड, अर्थमन्त्रालय तथा राष्ट्र बैंकले मौद्रिक नीतिमा कडाइ गर्यो भने त बियरिसमै बजार जाने हो नि ।

पुँजीबजार ‘फेयर’ भएन भन्ने सुनिन्छ नि । लगानीकर्ताको नजरमा पुँजीबजार कत्तिको फेयर हुन्छ भन्ने लाग्छ ?

दुनियाँभरीको पुँजीबजारलाई अर्को पक्षले हेर्दा फेयर लाग्दैन । दुनियाँको पुँजी बजारको चरित्र नै यस्तै हुन्छ । मलाई फेयर नै लाग्छ तर नियामक निकाय र मिडियाले हेर्दा त्यस्तो लाग्दैन । तपाईंहरुले सिद्दान्तको कुरा गर्दा यति रिटर्न दिने कम्पनीको मूल्य यति छ अर्कोको छैन भन्ने अर्थमा हुन्छ ।

तर, पुँजी बजारमा असाध्यै राम्रो रिटर्न दिने कम्पनीको मूल्य थोरै हुन्छ । र, केही न केही कम्पनीको मूल्य कता हो कता माथि हुन्छ । तर, पुँजीबजारका आफ्नै किसिमका विशेषता हुन्छन् । सिद्दान्त हुन्छन् । तपाईंले एउटा मात्रै दृष्टिकोणबाट हेर्दा त्यस्तो नलाग्ने हो तर पुँजीबजार फेयर नै हुन्छ ।

हिजोका दिनमा प्रतिकित्ता ५० रुपैयाँमा झरेका कम्पनीको मूल्य अहिले ३/४ सय रुपैयाँ पुगेको अवस्था छ । रिटर्न पनि दिएको देखिन्न । बुलमा ह्वात्तै बढ्ने तर अरु समयमा नबढ्ने किन यस्तो हुन्छ । लगानीकर्ताको मनोविज्ञान किन यस्तो भएको होला ?

पुँजीबजारका लगानीकर्ताको मनोविज्ञान नै अचम्मको हुन्छ । सबैले प्यारामिटर बुझेका हुँदैनन् । जब बुलिस बजार शुरु हुन्छ तब कसैले पनि प्यारामिटरहरु हेर्दैनन् । बुलिस बजारमा अहिले त बाली पाक्न थालिसक्यो तर पनि अझै पनि लगानीकर्ताको मनोविज्ञान बुलिस नै छ ।

समग्र पक्ष हेरेर लगानी गर्ने लगानीकर्ताको बाहुल्य हुन्छ तब मात्रै सिद्दान्तका आधारमा बजार चल्न थाल्छ । तर अहिले त मासको कुरा छ । अधिकांश मानिसहरु बुलिस सोचका साथ मात्रै लगानी गरिरहेका हुन्छन् । त्यसैले लगानीकर्ताको सोच निकै अचम्मको हुन्छ । सबै जना म जस्तै भए भने त बजार बुलिस मै जाँदैन् ।

लगानीकर्तालाई आज लगानी गरेको कम्पनीको सेयर मूल्य एक सातामा बढेर मनग्गे आम्दानी गरेको छ भने उसले अरु कुरा हेर्दैन । लगानीकर्ता केही भाग्यकै आधारमा मात्रै लगानी गरिरहेका हुन्छन् । अरु कुरा केही नहर्ने बरु बजार बुलिस भएको बेलामा यो त पक्कै बढ्छ भन्ने आधारमा लगानी गरिरहेको पनि देखिन्छ ।

सबै लगानीकर्ता (नयाँ र पुराना) खेल्ने त एउटै रिङ हो । फरक रिङ त होइन । त्यसैले सबै प्रकारका मिश्रित लगानीकर्ता हुँदा बजारमा प्रभाव पार्छ ।

भनेपछि राम्रा र शक्तिशाली रुपमा खेल्न जानेका खेलाडीहरुले अहिले साना कम्पनीमा खेलिरहेका छन् । अब ठूलै कम्पनीमा खेल्छन् भन्ने हो ?

केही हदसम्म सत्य हो । हामीले ऐन कानून नियम अनुसार नै लगानी गर्ने हो । बुलिस ट्रेन्डमा यस्तो प्रवृत्ति चलिरहन्छ । डिमान्ड र सप्लाइको सिद्दान्त पूर्णरुपमा लागू हुन्छ । सप्लाइ कम भएको कम्पनीको सेयरमा अलिकति बढी मात्रै कन्ज्युम हुँदा बढ्ने हो ।

ठूला माछाले साना माछा खान्छ भन्ने भनाइ पुँजीबजारमा पनि लागू हुन्छ । तपाईंहरुजस्ता ठूला माछाले सानालाई सर्लक्कै निल्न लागेको अवस्था हो अहिले ?

यो विश्वमा जहाँ पनि लागू हुन्छ । अहिलेसम्म त्यो लागू नहुने आदर्श समाज कतै हुँदैन । आफू जहाँ पनि उत्कृष्ट हुने चाहना हुन्छ । जसले पनि आफ्ने भ्याल्यू क्रिएसन गर्न चाहन्छ । सानालाई प्रोटेक्सन गर्ने भन्ने हुँदैन । जबकी एउटै रिङमा बक्सिङ खेल्न जाँदा सानालाई छुट दिने भन्ने ठूलालाई हुँदैन । साना र ठूला लगानीकर्तामा पनि त्यो हुन्छ । तर कानूनको परिधिभित्र रहेर आफ्नो सेयरको भ्याल्यू बढाउन चाहनु स्वभाविक नै हो ।

अहिले धितोपत्र बोर्डले पुँजीबजारको खेलमा सिठ्ठी बजाएको छ । यसले के अर्थ राख्छ ?

त्यो स्वभाविक नै छ । जब खेल हुन्छ त्यसमा रेफ्रीले सिठ्ठी बजाउँछ । रेफ्रीले सिठ्ठी बजाउँदा कहिले काँही खेलाडीले गल्ती गरेको पनि हुन्छ । रेफ्रिले त सबै हेरिरहेको हुन्छ । त्यो आधारमा सिठ्ठी बजाउनु स्वभाविक हो । त्यसलाई अन्यथा लिनु हुँदैन । साना र ठूला लगानीकर्ताले कहिले काँही नियम मिचेका हुन सक्छन् त्यस्तो अवस्थामा नियामक निकायले सिठ्ठी बजाउदा स्वभाविक रुपमा लिनुपर्छ ।

तर, जहाँसम्म पुरानालाई बचाउन खोजे र नयाँलाई मारमा पारे भन्ने हुँदैन । पुँजीबजारका आधारभूत प्यारामिटर धेरैले नबुझेको हुँदा यस्तो प्रचार आएको हुन सक्छ । हिजोका दिनमा सम्बन्धित निकायले केही पनि भएन भनेर लगानीकर्ताको कुरा पनि आएको हो । आजका दिनमा पनि केहीले बोर्डको विज्ञप्तिलाई लिएर राम्रो पनि भनेका छन् कतिपयले राम्रो भएन पनि भन्दैछन् । तर लगानीकर्ताले आफूले टेकेको धरातल कस्तो छ भन्ने बुझ्नु जरुरी छ । त्यसैले आफूले टेकेको धरातल बलियो हुनुपर्छ । नियमभित्र रहेर लगानी गर भनेको भन्ने तरिकाले बुझ्नुपर्छ ।

नयाँ लगानीकर्ताहरु बुलमा धेरै प्रवेश गर्छन् । यस्तो अवस्थामा धेरै दुर्घटनामा पनि पर्ने सम्भावना हुन्छ । राष्ट्र बैंक, बोर्डले पनि कडाइ गरेको हुन्छ । यस्तो अवस्थामा नयाँ लगानीकर्ताले कस्ता कम्पनी छनोट गर्ने र कसरी योजना बनाउने ?

पुँजीबजार जसरी सबै व्यक्तिले असाध्यै सजिलो तरिकाले लगानी गर्न र पैसा कमाउन सहज हो भन्ने बुझ्नु हुँदैन । पुँजीबजारमा लगानी सहज तरिकाले त हुन्छ । जस्तै तपाईंले ४/५ करोड रुपैयाँमा रेष्टुराँ चलाउन खोजियो भने पनि खर्च गर्न समय लाग्छ । तर, पुँजीबजारमा लगानी गर्न सजिलो हुन्छ । धेरै साथीहरुले लगानी सजिलै गर्नुहुन्छ र फिर्ता ल्याउन निकै गाह्रो हुन्छ । त्यो हुँदा पुँजीबजार गाह्रो लाग्छ ।
म आफै पनि मास्टर्स डिग्री गरेर आएको हो । बुझेर आएको हो । २ वटासम्म बियरिस मार्केटको पीडा भोगेको छु । मुख्य कुरा लगानीकर्ताको स्वअनुसासनमा निकै सचेत हुनुपर्छ । कम्पनीको पीइ रेसियो, नेटवर्थ लगायतका प्राविधिक कुरा पनि हेर्नुपर्छ । कुन बेला कस्ता कम्पनीमा लगानी गर्ने, कुन बेला बाहिरिने भन्ने जान्नुपर्छ । यो निकै टेक्निकल विषय भएकाले आधारभूत कुरा पनि नबुझेर लगानी गर्नु हुँदैन ।

त्यो भए आजका दिनमा भन्दा क्षेत्रगत हिसाबले जाँदा कुन क्षेत्रका कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ ?

ससर्ती हेर्दा बजारमा वार्षिक रुपमा दिने प्रतिफल र अहिले तिर्ने मूल्यकै आधारमा लगानी गर्ने हो । त्यो भनेको बैंकको मुद्दति निक्षेप होला । त्यसैले पुँजीबजारमा बैंकिङ क्षेत्र राम्रो हो भन्ने लाग्छ । किनभने २७ वटा वाणिज्य बैंक सबैले हरेक वर्ष लाभांश दिइरहेका छन् । वार्षिक रुपमा प्रतिफल दिने बैंक नै हो । अरु कम्पनीमा लगानी गर्ने भनेको बुलिस मार्केटको विशेषता नै हो । बुलिस ट्रेन्डमा धेरै कम्पनीका फन्डाहरु निकै चल्छन् पनि ।

पोर्टफोलियोको व्यवस्थापन कसरी गर्ने र बुल मार्केटमा बुक प्रोफिट कहिले बुक गर्ने ?

धेरै लगानीकर्तामा यही समस्या हुन्छ । पुँजीबजारमा आउनु हुन्छ र कमाउनु पनि हुन्छ । ६/७ महिना अघि पुँजीबजारमा छिरेका लगानीकर्ताहरु अधिकांशले धेरै कमाउनु भएको छ । तर त्यो पैसा त्यहाँबाट निकालेर अन्य क्षेत्रमा कहिले लगानी गर्नुहुन्छ भन्ने हो । बजार बढ्दा सबैले कमाउने हो । घट्न थालेपछि सबैको घट्ने हो । यदि यथास्थानमा बस्ने हो भने त १० लाखबाट करोड पनि पुग्छ र बसिराख्यो भने पनि १० लाखमै पनि झर्न सक्छ । त्यसो हुँदा पुँजीबजारमा लगानी गर्दा आत्मअनुशासन हुनुपर्छ । तपाईंले डेडिकेटेड योजना बनाएर यति लगानी गर्छु र यति पुगेपछि त्यो कम्पनीबाट बाहिरिन्छु भन्ने योजना बनाउनुपर्छ । त्यसमा प्लस र माइनसको चक्रिय कुराहरु पनि साथीहरुसँग सोध्नुपर्छ । अनुभवीसँग सिक्नुपर्छ । तपाईंले ३ सयमा किनेको सेयर ६ सयको लक्ष्य राख्नु भयो भने त्यसैमा लकअप गर्नुहोस् । लगानीको प्रतिफल ल्याएर राख्न सक्नु भयो भन सफल हुनुभयो होइन भने असफल हुनुपर्छ ।

म बुल र बियरिसमा दुबैमा लगानी गर्छु । मैले ११ सयमा नेप्से हुँदा ऋण गरेर पनि लगानी गरेको छु । साथै केही कम्पनीमा लगानी गरेको हुन्छु । जुन लामो समयसम्म ढुक्कसँग राख्छु । मैले नबिल बैंक ५९६ रुपैयाँमा किनेर आजसम्म राखेको छु । मैले केही सेयर ट्रेडिङ पनि गरेको हुन्छु । त्यसै अनुसार पोर्टफोलियो बनाएको हुन्छु । मैलै ३५ सयसम्म नेप्से परिसूचक पुग्छु भनेको छु भने त्यो पुग्नुभन्दा केही अगाडिबाट बिक्री गर्न शुरु गर्छु । र, बीचमा केही लगानी गरेका कम्पनीलाई गोडमेल गर्छु । आज राम्रो भएको कम्पनी केही समयपछि नराम्रो हुन सक्छ ।

म न्यूनतम विन्दुमा पुग्दा लोन पनि लिन्छु र बजार बुलिस ट्रेन्डको उच्चतम विन्दुमा लोन फ्रि हुन्छु । तर, यहाँ त उच्च बुलमा हुँदा धेरै लगानीकर्तासँग लोन हुन्छ । त्यो लोनले पछि पीडा दिन्छ । त्यसैले लगानीकर्ताहरु आत्मअनुशासनमा बसेर लगानी गर्नुपर्छ । कहिले भित्रिने र कहिले बाहिरिने भन्नेमा आफूले योजना बनाउनुपर्छ । उपयुक्त समयमा प्रवेश गर्ने र उपयुक्त समयमा बाहिरिन सक्नुपर्छ ।


पुष्प दुलाल