बाढीका कारण झण्डै साढे ५०० मेगावाट बिजुली प्रणाली बाहिर, डेढ दर्जन आयोजनामा क्षति



काठमाडौं । मंगलबार रातीदेखि देशव्यापीरुपमा आएको बाढी तथा पहिरोका कारण करिब डेढ दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको प्रराम्भिक विवरण प्राप्त भएको छ ।

पछिल्लो समाचार अनुसार निर्माणाधिन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा झण्डै १ अर्ब बराबरको क्षति पुगेको छ ।

सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योति ढुंगानाले हिँजोदेखि कास्की जिल्लास्थित मादी नदिमा आएको भयंकर बाढीले आफ्नो आयोजनामा ठूलो क्षति पुगेको बताएका छन् ।

उनले निर्माणाधीन आयोजानको हेडवक्स, पावरहाउस, कामदार आवास एरियालगायतका स्थानमा ठूलो क्षति भएको बताए ।

यस्तै, लोडर,एक्साभेटर, पेनस्टक पाईप, कर्सर प्लान्ट, आरएमसि प्लान्ट, हेभि जेनेरेटर लगायत पावरहाउस एरियाबाट के कति मेसिनरी बगाएको छ त्यो एकिन हुन सकेको छैन ।

यस्तै, अन्य सञ्चालनमा रहेका आयोजनामा क्षति पुगेको छ । दोर्दी करिडोरमा निर्माणमा रहेका आयोजनामध्ये केहीमा सामान्य क्षति भएको भएको विवरण आएपनि थप विवरण आउन सकेको छैन ।

मनसुनी बर्षाका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि विद्युत्को माग धान्न नेपाल विद्युत् प्राधिकरणले ठूलो मात्रामा भारतबाट बिजुली आयात गरेको छ । कूल २३२ मेगावाट क्षमताका दर्जन बढी आयोजनामा क्षति पुगेको छ ।

यस्तै, प्राधिकरणको मस्र्याङदी करिडोरमा रहेका आयोजनामा समेत केही असर परेको छ । विवरण अनुसार झण्डै ५०० मेगावाट क्षमता बराबरका परियोजनाबाट विद्युत् उत्पादन रोकिएको ऊर्जा उद्यमीहरुले जानकारी दिएका छन् । वर्षात् कहिलेसम्म रहने हो र त्यसले अझै कस्तो असर पार्ने हो भन्ने बारेमा तत्काल केही भन्न नसकिने अवस्था रहेको उनीहरुको भनाइ छ ।

लगाताराको वर्षाले नदी तथा खोलामा पानीको बहाब बढेसँगै सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरूमा क्षति हुने क्रम बढेकाले पानी नरोकिदासम्म यसै भन्न सकिने अवस्था नभएको बताइन्छ । जलविद्युत् आयोजनाका उपकरणमा नदीको बालुवा, तथा लेदो पसेकाले पनि केही दिन विद्युत् उत्पादन बन्द हुने उनीहरुको भनाइ छ ।

मेलम्ची र आसपासको क्षेत्रमा भारी बर्षा भएकाले इन्द्रावती तेस्रोको विद्युत् उत्पादन बन्द भएको छ । कूल ७.५ मेगावाट क्षमताको सो आयोजना मंगलबार साँझदेखि बन्द रहेको छ । मुख्य संरचना सुरक्षित रहेको भएपनि बाँधको गेटमा समस्या देखिएको बताइन्छ ।

नेशनल हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाको क्षतिको बारेमा मूल्याकन भइरहेको जनाइएको छ । सो कम्पनकिा अध्यक्ष कुमार पाण्डेका अनुसार क्षतिको मूल्यांकन भइरहेको जानकारी दिए । यस्तै, सो आयोजनाको ३ वटा टावरमा क्षति पुगेको छ ।

यस्तै, लमजुङमा आयोजनास्थल रहेको ४ मेगावाट क्षमताको राधी विद्युत् कम्पनीमा क्षति पुगेको छ । मुख्य संरचनामा क्षति भएको विवरण नआए पनि प्रसारण लाइनको टावरमा क्षति पुगेका कारण विद्युत् उत्पादन बन्द भएको बताइएको छ । यस्तै ३ मेगावाट क्षमताको मिदिम किरापुमा क्षति पुगेको छ । लेदो मिसिएको पानी विद्युत् गृहमा छिरेपछि समस्या आएको बताइएएको छ ।

उता मुस्ताङमा आयोजना स्थल रहेको १३.६ मेगावाटक्षमताको थापाखोलाको बिजुली उत्पादन बन्द भएको छ । बाँध क्षेत्रमा पहिरो खसेका कारण बिजुली उतपादमना अवरोध आएको हो ।

उता १२ मेगावाट क्षमताको झिमरुक खोला जलविद्युत् आयोजना बन्द भएको छ । खोलामा लेदो मिसिएको पानी आएपनि बिजुली उत्पादनमा समस्यामा आएको हो ।

कास्कीमा आयोजना स्थल रहेको १२ मेगावाट क्षमताको नामार्जुन मादीमा समस्या आएको छ । खोलामा पानीको सतह बढी भएकाले बाँधमा क्षति पुगेको छ । उता ४५ मेगावाट क्षमताको भोटेकोशीको उत्पादन मंगलबार साँझ बन्द भएपनि हाल शुरु भएको छ ।

मस्र्याङदी करिडोरमा रहेको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ ५ मेगावाट क्षमताका सिउरी खोला र घलेम्दी, १० मेगावाट क्षमताको तल्लो मोदीलगायतका आयोजनाबाट सिबव्दुत् उत्पादन बन्द भएको छ । सो क्षेत्रमा भारी बर्षा भएकाले के कति मात्रामा क्षति भएको हो भन्ने बारेमा विवरण प्राप्त हुन सकेको छैन ।

प्राधिकरणका अनुसार बाढीका कारण समस्या नआओस् भनेर १४४ मेगावाट क्षमताको कालीगण्डकी ए, ६९ मेगावाट क्षमताको मस्र्याङदी, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए, १५ मेगावाटको गण्डक र १५ मेगावाट क्षमताको मोदी बन्द गरिएको छ ।

नदीको माथिल्लो तटमा बर्षा भइरहेकाले ती विद्युत् गृह यो समाचार तयार पार्दासम्म पनि बन्द अवस्थामा रहेको छ । प्राधिकरणले अवस्था हेरेर केही आयोजनालाई आंशिक रुपमा सञ्चालन भएपनि पूर्ण क्षमतामा चलाउन समस्या रहेको छ ।

देशका आयोजनामा विद्य्ुत् उतपादनमा समस्या भएपछि भारतबाट झण्डै ६०० मेगावाट बढी बिजुली आयात गरिएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । केन्द्का अनुसार मंगलबार साँझ देशभित्रको कूल माग ११३० मेगावाट मात्रै रहेको थियो ।

यो समाचार तयार पार्दासम्म प्राधिरकणको नोटिस बोर्डमा भारतबाट ७ हजार ६५६ मेगावाट घण्टा बिजुली आयात भएको छ । ४०० मेगावाट घण्टा जिबुली समस्यामा रहेको छ ।

कूल माग भने २३ हजार ६६० मेगावाट घण्टा रहेको छ । कूल माग १२३९ मेगावाट रहेको छ । प्राधिकरणका आयोजनाबाट ६ हजार ३० मेगावाट घण्टा र निजी क्षेत्रका आयोजनाबाट ९ हजार ५७४ मेगावाट घण्टा बिजुली प्रणालीमा रहेको छ ।


पुष्प दुलाल