सेयर कर्नरिङको आशंकामा बोर्डले थाल्यो अध्ययन, नेप्से भन्छ- नेपालमा कर्नरिङ हुँदैन



काठमाडौं । पछिल्लो समय सेयर बजारमा सेयर कर्नरिङ बढेको अत्याधिक चर्चामा छ । सिमित व्यक्ति तथा समुहले कर्नरिङ गरी सेयर मूल्य बढाएको गुनासो लगानीकर्ताहरुको हो ।

गुनासो बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले यसको छानबिनका लागि कमिटि गठन गरी अध्ययन थालेको छ । बजारमा सेयर आपुर्ति कम भएका केही कम्पनीहरु मूल्यमा अस्वाभिक वृद्धि हुँदै गएपनि यसको छानबिन गर्न शुरु गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले बताए ।

‘सेयर कर्नरिङ भएको गुनासो आएको हो तर वास्तविकता पत्ता नलगाई बोर्डले कारवाही गर्न अप्ठ्यारो हुन्छ,’ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘पछिल्लो समय जुन-जुन कम्पनीको अस्वाभिकरुपमा मूल्य बढेको ती कम्पनीहरुको बोर्डले विस्तृत अध्ययन गर्दैछ, कर्नरिङ भएको हो/होइन र हो भने कसरी भएको हो ? त्यसको अध्ययन बोर्डले एकसाता अघिबाटै शुरु गरेको छ ।’

सेयर कर्नरिङ भएको हो÷होइन पत्ता लगाउनको दरिलो आधार चाहिने भएकाले बोर्डले नेपाल स्टक एक्सचेञ्चसँग समन्यव गरी अध्ययन गरिरहेको उनले बताए । गुनासो आएको वा कसैले भनेकै भरमा कर्नरिङ गरेको भनेर कारवाही गर्न नमिल्ने हुँदा वास्तविकता पत्ता लगाउन अघिल्लो साताबाट बोर्डले अध्ययन थालेको उनले जानकारी दिए ।

थोरै साधारण लगानीकर्ताको स्वामित्व भएको निश्चित व्यक्ति तथा समुहका स्वामित्व बढी भएको सेयरमा कर्नरिङ हुने आशंका बोर्डले गरेको छ । लगानीकर्ताले हल्लाको पछि लागेर दोस्रो बजारबाट सेयर खरिद गर्दा हावाको भरमा सेयर कारोबार गर्नुभन्दा कम्पनी मुल्यांकन गरेर मात्र लगानी गर्न उनले सुझाव दिएका छन् ।

पछिल्लो समय गोर्खा फाइनान्सलगायतका केही संस्थाहरुको सेयरमा कर्नरिङ भएको छ । गोर्खा फाइनान्समा दिपेन्द्र अग्रवाल र उनको समूहले गर्नरिङ गरेको बताइन्छ ।

तर, नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भने नेपालमा हालसम्म सेयर कर्नरिङ नभएको प्रष्ट पारेका छन् ।

‘रियलटाइममा डिमाण्ड र सप्लाई प्रत्येक लगानीकर्ताले आफ्नो युजरनेम र पासवर्ड लिएर गर्न किनबेच गर्न सक्छन्, कर्नरिङ हुने, थोरै सेयरको कृतिम डिमाण्ड र सप्लाई देखाउने कुरा भ्रम फैलाउने हल्ला मात्र हो,’ साउदले क्लिकमाण्डूसँग भने ‘अहिले बजार भनेको वास्तविक लगानीकर्ताको हातमा छ, सुचनाको आधारमा इसाइडर ट्रेडिङको कुरा होला, त्योसँग सम्बन्धित हाम्रो देशमा नियम नै छैन ।’

सोसँग सम्बन्धित नियम नभएको हुँदा कर्नरिङ भएको अशंका गरेर अध्ययन तथा छानबिन गरी बजारमा नकारात्मक हल्ला फैलिन दिन नहुने उनको भनाइ छ ।

बोर्डले आएको गुनासोको आधारमा अध्ययन गर्नु स्वाभिक भएको हुँदा र सोमा नेप्सेले समन्यव गरिरहेको उनको भनाइ छ । तर, बजारमा केही कम्पनीको मूल्य धेरै माथि गएको तर नेप्सेले हेरेन भन्ने विषय नितान्त अर्थहिन आक्षेपमात्र भएको उनले बताए ।

‘बोर्डले दैनिक कारोबारको तथ्यांक स्यं नै हेर्नसक्छ भने माग गरेको तथ्यांक सुचना तुरुन्तै दिइरहेका छौँ, यसअघि अजोड, विशाल बजार कम्पनी, राष्ट्रिय बीमा, माउटेन इनर्जी लगायतका कम्पनीको डाटा सेबोन पठाएका छौँ भने वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको कारोबार समेत रोक्का गरेका छौँ,’ साउदले क्लिकमाण्डूसँग भने, ‘मूल्य माथि गयो नेप्सेले हेरेन भनिएको छ । तर एक कम्पनीको मूल्य कतिसम्म माथि जना पाउने वा नपाउने भनेर कहाँ तोकिएको छ ? शंका लागेमा सेबोन आफैंले पनि नेप्सेको डाटा हेर्न मिल्छ ।’

एकले अर्कालाई आक्षेप लगाउनुभन्दा बजारलाई व्यवहारिकरुपमा बुझेर मात्र लगानी गर्नुपर्ने उनको सुझाव छ ।

‘कर्नरिङ भएको रहेछ भने नेप्से सम्धै सचेत छ, जिम्मेवारी बहनबाट भाग्न मिल्दैन, हामी हेर्छौ, हामीले हेर्न मिल्ने सबै सेवोेनले पनि हेर्न मिल्छ, उताबाट पनि हेर्न सक्छन्,’ साउदले भने, ‘सेयर बजारमा सुचनाको ठुलो भुमिका हुन्छ । तर, त्यसमा कर्नरिङ भयो भएको हो भन्नलाई प्रमाण चाहिन्छ, बिनाप्रमाण कर्नरिङ भएको हो भनेर हामी भन्दैनौँ ।’

कर्निरिङ तथा सर्कुलर टे«डिङ भएको अंशका तथा गुनासोमा नेप्सेले धेरै पटक विस्तृत अध्ययन गरेको भएपनि सो नपाइएको उनले जानकारी दिए । अहिलेको अवस्थामा कुनै एक कम्पनीको सेयर मूल्य बढेकै भरमा कर्नरिङ भएको भनेर बिनाप्रमाण जिम्मेवारी निकायमा बसेर भन्न मिल्ने उनको भनाइ छ ।

मूल्यमा अस्वाभिक उतरचढाव हुँदा नेप्सेले यस्ता कुरालाई सिस्टमबाटै सर्किटब्रेक गरेर कन्ट्रोल गर्छ । प्रति कारोबारमा २ प्रतिशतको तलमाथि र दिनभरीको कारोबारमा १० प्रतिशको उतरचढाब भन्दा बढीलाई सिस्टमले कन्ट्रोल गर्ने हुँदा सिस्टमभन्दा बाहिर गएको बिषयमा मात्र सेबोनले प्रश्न गर्न मिल्ने उनले बताए ।

‘बजारमा के हल्ला फैलिएको छ भनेर सुन्नुभन्दा लगानीकर्ताले लगानी गरिने कम्पनी कस्तो हो ? त्यसको प्रतिफल के आउँछ ? त्यो मुल्यांकन गर्न आवश्यक छ,’ उनले थपे, ‘कसैले सेयर किन्छ वा बेच्छ भने किन ? भनेर प्रश्न गर्न मिल्दैन, यहाँ १ सय रुपैयाँको सेयर घटेर २०/२५ रुपैयाँ पुगेका पनि छन् भने सय रुपैयाँको सेयर बढेर हजारौं रुपैयाँ पनि पुगेको छ ।’

अहिले चौतर्फिरुपमा व्यापार व्यवसाय बन्द भएको अवस्थामा सबै क्षेत्रका लगानीकर्ता पुँजी बजारमै लगेका छन् । जसकारणले गर्दा बजारको माग अनुसार अन्य कम्पनीहरुसँगै स-साना पुँजी भएको कम्पनीहरुको खरिद बिक्री बढ्दा सेयर मूल्य बढेको उनले बताए ।

नेपालको पुँजी बजार स्वतन्त्र अर्थतन्त्रमा चलेको बजार हो । बजारमा माग र आपुर्तिको आधारमा बिक्रीकर्ता र खरिदकर्ताले आफ्नो किसिमले मूल्य निर्धारण गर्ने हुँदा मूल्य बढ्यो भन्दैमा आत्तिनु पर्ने वा कर्नरिङ भएको भन्न नमिल्ने उनको भनाइ छ ।


पुष्प दुलाल