‘मेरो कित्ता’बाट करिब ८ सयले लिए सेवा, छिट्टै ४० वटा कार्यालयमा शुरु गर्ने तयारी



काठमाडौं । नापी विभागले आफ्नो सेवाहरू क्रमिक रुपमा प्रविधिमैत्री, झन्झटरहित, चूस्त–दुरुस्त, छिटो, छरितो एवं प्रभावकारी बनाउनका लागि अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न शुरू गरिएको ‘मेरो कित्ता’बाट हालसम्ममा करिब ८ सयले सेवा लिएको छ ।

नापी विभाग अनुसार विभागले शुरु गरेको करिब २ महिनाको अवधिमा ७ सय ९० जनाले सेवा लिएको जनाएको छ ।

विभागले गत वैशाख २ गते ‘मेरो कित्ता’को उद्घाटन क्रममा उपत्यकाका ३ वटा कार्यालयमा कलंकी, डिल्लिबजार र भक्तपुरमा शुरु गरेको थियो ।

त्यस्तै, विभागले चालु आर्थिक वर्षमा उपत्यकाका सबै नापी कार्यालयमा ‘मेरो कित्ता’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

हालसम्ममा डिल्लिबजार, कलंकी, भक्तपुर र चाबहिल नापी कार्यालयमा मेरो कित्ता सञ्चालनमा ल्याइसकेको छ । सो चारवटै कार्यालयबाट दुई महिनाको अवधिमा ७ सय ९० जनाले ‘मेरो कित्ता’को माध्यमबाट सहजै सेवा लिएको विभागका सूचना अधिकारी दामोदर ढकाल बताउँछन् ।

उक्त ‘मेरो कित्ता’ वेवसाइटबाट नक्सा प्रिन्ट तथा राजश्व तिर्न सक्नेछन् । तर, करिब दुई महिनाको अवधिमा सो वेवसाइटबाट अधिकांश नक्सा प्रिन्ट भएको ढकालले बताए ।

‘मेरो कित्ता शुरु भएदेखि हालसम्ममा जग्गाधनीहरूले अधिकांश नक्सा प्रिन्टका लागि आवदेन दिएको छ,’ उनले भने, ‘जग्गा पास गर्नुभन्दा अगाडि जग्गाको नक्सा आवश्यक पर्दछ । साथै, बैंक तथा वित्तीय संस्थाहरूमा ऋण लिनुपर्ने अवस्थामा पनि जग्गाको नक्सा आवश्यक पर्दछ । त्यसैले नक्सा प्रिन्ट बढी भएको देखिन्छ ।’

कुनै पनि जग्गाधनीलाई आफ्नो नक्सा लिएर धितो राख्न जानु परेको अवस्थामा अनलाइनबाटै आवेदन दिएर प्रिन्ट गर्न सक्ने व्यवस्थाले सहज बनाएको उनको विश्वास छ । साथै, हालसम्ममा जति पनि सेवाग्राहीले सेवा लिएका छन् । उक्त सेवाग्राहीबाट कुनै पनि गुनासो नआएको उनले जिकिर गरे ।

त्यसैगरी हाल भने उक्त आवेदन दिनेको संख्या घटेको बताए । कोरोनाले गर्दा अधिकांश व्यापार व्यवसाय बन्द भएको अवस्थाले गर्दा गर्दा निवेदन दिनेको संख्या न्यून रहेको उनले जानकारी दिए ।
त्यस्तै, विभागले चालु आवमा उपत्यकाका सबै नापी कार्यालयमा ‘मेरो कित्ता’ सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । सोही अनुसार कार्यहरू भइरहेको नापी कार्यालयले जनाएको छ ।

विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार उपत्यकाका ८ वटामध्ये वटा कार्यालयमा सञ्चालनमा आएको छ ।

विभागले चालु आवमा उपत्यकाका सबै कार्यालयमा सञ्चालनमा ल्याउनका लागि निरन्तर काम गरिरहेको थियो । तर, कोरोनाले गर्दा केही काम रोकिए पनि लिएको लक्ष्यअनुसार सञ्चालनमा ल्याउने गरी तयारी गरेको उनको भनाइ छ ।

‘कोरोना तीव्र रुपमा बढेकाले सरकारले लागू गरेको निषेधाज्ञाले अपेक्षा गरेअनुसार निरन्तर कार्य गर्न सकेको छैन । तर, अझै असार महिना पूर्ण बाँकी भएकाले सो अवधिमा उपत्यकाका सबै कार्यालयमा सञ्चालनमा ल्याउने लक्ष्य बनाएको छ,’ उनले भने ।

कोरोनाको संक्रमण नभएको भए हालसम्ममा ५ वटा कार्यालयमा सञ्चालनमा आइसक्ने अवस्था थियो । कोरोनाले गर्दा केही मात्रामा भने जस्तो काम गर्न पाएको छैन । तथापी असारमा पूर्ण खुकुलो भएमा लक्ष्य हासिल गर्ने उनको विश्वास छ । विभागले चालु आवमा उपत्यकामा मनमैजु, साँखु, टोखा र ललितपुरमा सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

आगामी वर्षसम्ममा ४० वटा सञ्चालनमा ल्याउने
देशभर १ सय २६ वटा नापी कार्यालय छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयन ल्याउने उल्लेख गरेको छ ।

तर, बजेटमार्फत् देशभर कार्यान्वयनमा ल्याउने भनिए पनि विभागले आगामी वर्षसम्ममा ४० वटा नापी कार्यालयमा सञ्चालन ल्याउने जनाएको छ ।

जसमा चालु आवसम्ममा ८ वटा सञ्चालनमा ल्याउने भएको छ भने आगामी वर्षमा ३२ वटा नापी कार्यालयमा कार्यान्वयन ल्याउने लक्ष्य लिएको ढकाल बताउँछन् । सोही अनुसार विभागको तयारी रहेको उनको भनाइ छ ।


क्लिकमान्डु