सर्कुलर, कर्नरिङ र इन्साइडर ट्रेडिङको सीमा तोड्न व्हिसलब्लोवरः नीरव पुडासैनीको लेख



हाम्रो सन्दर्भमा प्रत्येक दलका नेताहरु सूचना चुहावटको चास्नीमा पौडिन लालायित भएको भान हुन्छ । सायद भ्रष्टाचारको पहिलो अन्तर्य यो नै होला ।

सूचनाको अनधिकृत चुहावटले पार्ने दूरगाामी प्रभावको ख्याल नै नगरिकन सूचना चुहाउन सधै भगिरथ प्रयास गर्नुको मुख्य कारण भ्रष्ट नियत हो भन्दा अन्यथा हुँदैन ।

यस्ता रोइलोहरु सधैं जस्तो छापाहरुमा देखिने विषय भइसक्यो हिजोआज । चाहे त्यो सरकारी नीति निर्णय तथा बजेटमा पर्न सक्ने करका दर सम्बन्धी गोप्य सूचना नै किन नहोस् ।

हुन त उनीहरु देशको राजनीति सुरक्षा, अर्थव्यवस्था वा विदेश नीति सम्बन्धि गोप्य कुराहरुको आदानप्रदान गर्न पछि पर्दैनन् भने अन्य कुराहरु गौण हुने नै भयो ।

त्यस्तै गरी यी अगुवाहरुको सिको गर्दै अन्य क्षेत्रहरुमा पनि पहुँच र सम्पर्कका आधारमा सूचना चुहावट हुनु कुनै नौलो कुरो भएन भनेर चित्त बुझाउन पर्ने अवस्था छ ।

माथि उल्लेखित क्षेत्रहरुमा सूचना चुहावटको कारण तत्काल ठूलो प्रभाव नदेखिने भएका कारण यस्तो विषयले चर्चा नपाएको हुन सक्छ । तर सेयर बजारमा प्रत्येक सूचनाको आ-आफ्नै महत्व हुन्छ ।

सूचनाहरु चुहावटको असर बजारमा तत्काल देखिन्छ र त्यसको दीर्घकालीन असरले बजारलाई चिरकालसम्म प्रभावित पार्छ । सूचनाहरुको अनधिकृत चुहावट हुनु भनेको देशमा दण्डहिनता मौलाउनु हो । यसले देशमा उच्छृंखलता बढेको, गैरकानूनी काम तथा हुकुमी शासनको बोलवाला भएको तर्फ संकेत गर्दैन् भन्नु गलत हुन्छ ।

आजको वैश्विक युगमा सूचना सबैभन्दा ठूलो सम्पत्ति र औजार हो । तसर्थ यसको पहिलो प्राप्तिमा संसारका जो कोही लागेका हुन्छन् । यही दौडमा दण्डहिनताको खोलभित्र सूचनाहरुको अनधिकृत चुहावट हुन्छ ।

यस्तै सूचनाहरुको बुइ चढेर सेयर बजारमा इन्साइडर डिलिङमार्फत् कारोबार गर्नेहरुको जमात बढेको छ भन्दा अन्यथा हुँदैन । बजारमा आइनसकेको सूचिकृत कम्पनीका संवेदशिल सूचनाको आडमा कारोबार गर्नु इन्साइडर ट्रेडिङ हो ।

यो पूर्णरुपले एउटा गैरकानूनी कार्य हो । तसर्थ यस्ता कार्यहरुलाई रोक्नु यस विरुद्ध बिगुल फुक्नु जरुरी छ । सूचनाको गलत प्रयोग गरेर अनुचित लाभ लिन खोज्नेको पर्दाफास गर्नु नै बिगुल फुक्नु हो ।

विश्व कर्पोरेट जगतमा यसलाई व्हिसलब्लोवर भनिन्छ । त्यसकारण बिगुल फुक्ने कार्यलाई कानूनले नै संरक्षण दिनुको साथै यस कार्यलाई कानूनी रुपमै स्पष्ट पारिनुपर्छ । व्हिसलब्लोवर त्यो व्यक्ति हो जसले आफ्ना कम्पनीको गलत क्रियाकलापहरुलाई समाजमा मिडियामार्फत् बाहिर ल्याउँछ । गलत कुरा बाहिर ल्याउने जो कोही व्हिसलब्लोवरलाई राज्यले संरक्षण दिन जरुरी हुन्छ । तर राज्य (राज्यका निकायहरु) आफै सूचना चुहावटमा नलागेको अवस्थामा मात्रै ।

अमेरिका, बेलायतलगायत विकसित राष्ट्रहरुमा यस सम्बन्धि प्रष्ट कानून बनिसकेको छ र व्यवहारमा देखिन पनि थालिसकेको छ । ‘अफिस अफ दि विसल ब्लो प्रोटेक्सन प्रोग्राम’ त्यसैको एउटा कडी हो । हुन त नेपालमा पनि राइट टु इन्फरमेसशन याक्ट नभएको होइन । यो राम्रो शुरुवात हो तर यसको परिमार्जन र सरलिकरण हुन जरुरी देखिन्छ ।

सूचनामा पहुँच हुनु राम्रो हो तर समय अगावै होइन । व्हिसलब्लोवर सम्बन्धि कानूनले तत् क्षेत्रका कर्मचारीहरुलाई आ–आफ्नो कार्यालयमा भएका गलत कार्यहरुलाई बाहिर ल्याउने उत्प्रेरित गर्छ ।
यस्तो हुन सकेको खण्डमा सेयर बजारमा देखिएका इन्साइडर ट्रेडिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङ जस्ता गैरकानूनी कार्यहरुले दण्डित हुने स्थितीको सिर्जना हुन सक्थ्यो ।

नेपालको सन्दर्भमा जसरी देशको एक मात्र नियामक नेपाल धितोपत्र बोर्डले संशयगत आशंका जाहेर मात्रै गरेर पानीमाथिको ओभानो हुने प्रयास गरिरहेको छ । त्यसको अन्त्य हुन पनि व्हिसलब्लोवर र त्यसको संरक्षण सम्बन्धि कानून जरुरी पर्छ । जसरी पत्रकारहरुले आफ्नो स्रोतको सुरक्षा गरेका हुन्छन् त्यसैगरी राज्यले पनि व्हिसलब्लोवरको सुरक्षाको कानून बनाएर गर्न जरुरी छ ।

व्हिसलब्लोवर्सहरु दुई प्रकार हुन्छन् । आन्तरिक र बाह्य । आन्तरिक व्हिसलब्लोवर्सले कम्पनीमा भइरहेको गलत क्रियाकलापको सूचना त्यही कम्पनीमा आफूभन्दा उच्च ओहदाका अधिकारीलाई सूचना दिने गर्छन् ।

त्यस्तै बाह्य व्हिसलब्लोवरले कम्पनीको अनधिकृत कार्य मिडिया अथवा कानूनको पालना गराउने संयन्त्र जस्तै पुलिस, अख्तियारआदिलाई दिने गर्छन् ।

नेपालको सेयर बजारमार्फत् सूचनाको दममा कर्नरिङ तथा सर्कुलर ट्रेडिङ गर्न खोज्नेहरुलाई तह लगाउन पनि यस सम्बन्धि कानून आवश्यक हुन्छ । सम्बन्धितले यसतर्फ बिमर्श गर्न ढिला नगरौं ।


क्लिकमान्डु