बैंक तथा वित्त कम्पनीले एक महिनामा दिए साढे २ अर्ब सेयर धितो कर्जा, कुन बैंकले कति दिए ?



काठमाडौं । बैंक तथा वित्त कम्पनीले एक महिनामै करिब साढे २ अर्ब रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

बैशाख महिनामै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ९१ अर्ब ८४ करोड ४० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । बैशाख मसान्तसम्म ९४ अर्ब रुपैयाँ बढी सेयर धितोमा कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ ।

चालु आवको बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ८१ अर्ब ६१ करोड २० लाख, विकास बैंकहरुले १० अर्ब १८ करोड ४० लाख र र वित्त कम्पनीहरुले २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् ।

चैत मसान्तसम्म वाणिज्य बैंकहरुले ७८ अर्ब ९९ करोड ४० लाख, विकास बैंकहरुले १० अर्ब ३२ करोड ४० लाख र वित्त कम्पनीहरुले २ अर्ब ५७ करोड ९० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो समय बैंक तथा वित्त कम्पनीमा सेयर धितोको कर्जाको माग बढ्दै गएको थियो । कोरोना भाइरसको संक्रमणका कारण अन्य क्षेत्रमा लगानी गर्ने उचित वातावरण नभएपनि सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ ।

अहिले कोरोना भाइसरको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा सेयर बजारतर्फ लगानीकर्ता आकर्षित भएका हुन् ।

यस्तो अवस्थामा बैंकबाट कर्जा लिएरै भएपनि सुरक्षित भएर अनलाइन प्रणालीमार्फत् सेयरमा लगानी गरेको जानकारहरु बताउँछन् ।

राष्ट्र बैंकको प्रवधान अनुसार सेयर धितो राखी बैंक तथा वित्त कम्पनीले ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । एक महिनाको अवधिमा लगानीकर्ताले वाणिज्य बैंकहरु प्रवाहित सेयर धितो कर्जा थप भएको छ ।

चैत मसान्तको तुलनामा वाणिज्य बैंकहरुको सेयर धितोमा जाने कर्जा बैशाख मसान्तसम्म २ अर्ब ६१ करोड १८ लाख रुपैयाँले थप हुँदा विकास बैंकहरुको १३ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरुको १ करोड ३० लाख रुपैयाँले घटेको देखिन्छ ।

१ महिनामा १८ वाणिज्य बैंकले सेयरधितो कर्जा बढाउँदा ७ वटाको घट्यो
गत चैत मसान्तसम्म प्रवाहति सेयर धितो कर्जामा बैशाख मसान्तसम्म आइपुग्दा १८ वटा वाणिज्य बैंकको थप भएको छ । तर सो अवधिमा ७ वटा वाणिज्य बैंकको भने सेयर धितो कर्जा १ महिनाको अवधिमा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

केन्द्रीय बैंकद्वारा सार्वजनिक तथ्यांकमा नेपाल एसबीआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर धितो कर्जाको तथ्यांक भने समावेश गरिएको छैन ।

वैशाख महिनामा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकबाट र सबैभन्दा थोरै कृषि विकास बैंकको सेयर धितो कर्जा थप भएको छ ।

साथै, सो अवधिमा कुमारी, नेपाल बैंक, सिभिल, एनसीसी, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र एनआइसी एशियाद्वारा प्रवाहित सेयर धितो कर्जाभने १ करोड देखि ४३ करोड रुपैयाँसम्म घटेको छ ।

चैत मसान्तको तुलनामा बैशाख मसान्तमा कुन बैंकले कति थप गरे ?
राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार गत चैत मसान्तसम्म प्रवाहित सेयर धितो कर्जामा बैशाख मसान्तसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब १७ करोड ७९ लाख रुपैयाँ, एनएमबी बैंकले ५० करोड रुपैयाँ, प्राइम बैंक ४४ करोड ४६ लाख रुपैयाँ, नविल बैंकले ४२ करोड ४७ लाख रुपैयाँ र सानिमा ३९ करोड ७५ लाख रुपैयाँ थप गरेको छ ।

यसैगरी, सेञ्चुरी बैंकले २४ करोड ६६ लाख रुपैयाँ, लक्ष्मी बैंकले २१ करोड १४ लाख रुपैयाँ, सनराइज बैंकले १५ करोड ४५ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैंकले १२ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा थप भएको छ ।

प्रभु बैंकले ८ करोड ५७ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकले ७ करोड २४ लाख रुपैयाँ, मेगा बैंकले ५ करोड ८० लाख रुपैयाँ, हिमालयन बैंकले २ करोड ५९ लाख रुपैयाँ र सिटिजन्स २ करोड ४३ लाख रुपैयाँ चैत मसान्तमा प्रवाह गरेको सेयर धितो कर्जामा बैशाख मसान्तसम्म थप गरेका हुन् ।

साथै, माछापुच्छ्रे बैंकले २ करोड २६ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूले १ करोड ४२ लाख रुपैयाँ, एभरेष्ट बैंकले ८० लाख रुपैयाँ र कृषि विकास बैंकले २३ लाख रुपैयाँ सेयर धितो कर्जा वैशाख महिनामा थप गरेका हुन् ।

मूल्य रू १० लाखमा 


क्लिकमान्डु