५० जनाको नियन्त्रणमा ४० खर्बको सेयर बजार !



काठमाडौैं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले २९औं वार्षिकउत्सवको अवसरमा नयाँ ब्रोकरलाई लाइसेन्स दिने बताए ।

धितोपत्र बोर्डको अध्यक्षको रुपमा आएपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने बताएका अध्यक्ष ढुंगानाले त्यसपछि प्रादेशिक ब्रोकरको लाइसेन्स दिने कुरा उठाएका थिए ।

अहिले सेयर बजारमा ५० वटा ब्रोकर कार्यरत रहेका छन् ।

वार्षिकउत्सवमा अध्यक्ष ढुंगानाले नयाँ स्टक एक्सचेन्ज खोल्ने र ब्रोकर लाइसेन्स थप्ने बताएका थिए । धितोपत्र बोर्डमा ढुंगाना आएपछि बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने नीति च्याप्टर क्लोज लगभग भइसकेको छ । धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने भनेपछि केही बैंकले सहायक कम्पनी समेत खोलेका थिए ।

खुल्ला बजारमा व्यवसाय गर्ने अधिकार भएपनि स्टक ब्रोकरमा भने सीमित कम्पनीलाई मात्र लाइसेन्स दिएर व्यवसाय गर्न सक्ने अधिकार रहेको छ ।

धितोपत्र बोर्डमा डा. शुरविर पौड्याल अध्यक्ष हुँदा मापदण्ड बनाएपछि ब्रोकरको रुपमा काम गर्न सबैलाई अनुमति दिनुपर्ने बताएका थिए । यद्यपि पौडेलले त्यो नीति कार्यान्वयन भने गर्न सकेनन् ।

धितोपत्र बोर्डका पूर्वअध्यक्ष पौडेल खुल्ला बजार अर्थतन्त्र भनेपछि निश्चित व्यक्तिलाई मात्र सेयर ब्रोकरको लाइसेन्स दिने नीति ठीक नभएको बताउँछन् ।

‘खुला बजारमा नीतिमा चल्न सक्नेहरु चल्छन् भने नसक्नेहरु बाहिरिन्छन्, ग्राहकलाई राम्रो सेवा नदिएका कम्पनीलाई अहिले हाम्रो नीतिले जोगाएको छ,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

अहिले दैनिक १७ अर्ब बराबरको कारोबार हुन थालेको छ । जसमा ब्रोकरको संख्या जम्मा ५० वटा छ । बजारमा डिम्याट खोल्नेको संख्या ३५ लाख पुगेको छ । सेयर बजारमा लगानीकर्ताको चासो हेर्दा भोलिका दिनमा दैनिक २५ देखि ३०

अर्बसम्मको कारोबार हुने सम्भावना छ । यदी बजार बियरिस ट्रेण्डमा गएको अवस्थामा त्यो ८ देखि १० अर्ब रुपैयाँ हुनसक्छ ।
सेयर बजारका जानकार मुक्ति अर्याल सेयर ब्रोकरको लाइसेन्स सबैलाई खुला गर्नुपर्ने बताउँछन् ।

‘२ करोड चुक्ता पूँजी भएका ब्रोकरको जिम्मामा अहिले ४० खर्बको बजार रहेको छ, जसले जोखिम निम्ताएको हुन्छ,’ अर्यालले क्लिकमाण्डूसँग भने ।

सबैलाई खुल्ला गर्न नदिने हो भने पूँजीबजार ५० जनाको ठेक्कामा दिएजस्तो हुने टिप्पणी अर्यालको छ ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले नयाँ ब्रोकरको लाइसेन्स थप्ने बताएका छन् । नयाँ लाइसेन्स थप्दा ५० जनाबाट बजारको नियन्त्रण ७५ देखि १०० जनामा जाने हो ।

‘निश्चित संख्याभन्दा पनि न्यूनतम मापदण्ड पूरा गरेका सबैले ब्रोकरको लाइसेन्स पाउने नीति बन्नुपर्छ, यसमा चाहिने लगानी बढी भएको बनाउन भने सकिन्छ,’ पौडेलले भने ।

अहिले ब्रोकर कम्पनीको चुक्ता पूँजी २ करोड छ । यद्यपि यो पनि कागजमा मात्र भएको हुनसक्ने अनुमान छ ।

अहिलेको कारोबारको हिसाबले एउटा ब्रोकरले औसतमा दैनिक १६ लाख रुपैयाँ कमिसन पाएको देखिन्छ । गत साउन १ देखिको कारोबारको रकम हेर्दा चालु आर्थिक वर्षमा एउटा ब्रोकरले औसतमा १६ करोड रुपैयाँ कमिसनबाट कमाउन सक्ने देखिन्छ ।

आगामी दिनमा यो रकम बढ्ने हुँदा सेयर बजारबाट ५० जना ब्रोकरमात्र धनी धन्ने उनीहरुको लबिङ सबैभन्दा बलियो भन्ने देखिन्छ ।

यसैपनि बैंकलाई ब्रोकर लाइसेन्स रोक्नका लागि ब्रोकरले नै चलखेल गरेको आरोप लाग्ने गर्छ । पूर्वबैंकर पर्शुराम क्षेत्रीले केही दिन अगाडि सामाजिक सञ्जालमा बैंकलाई सेयर बजारको लाइसेन्स दिन नसक्नुको कारण ब्रोकरहरुको दबाबको कारण भएको उल्लेख गरेका थिए ।

‘प्रशासनिक क्षेत्रका मालिकहरुले ब्रोकर लाइसेन्स लिएर कार्टेलिङ गरेका छन्, जसले यो क्षेत्रमा नयाँ कम्पनीलाई आउनको लागि रोकेको छ,’ क्षेत्रीले भनेका थिए ।


क्लिकमान्डु