कोरोना कहरमा पनि भेरी बबई आयोजना काम नरोकिए पनि छैन प्रगति



काठमाडौं । कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माण कार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता एवम् सिनियर डिभिजनल इञ्जिनियर (सिडिई) ईश्वरीप्रसाद तिवारीले निषेधाज्ञाबीच बाँध र विद्युत् गृहको निर्माणकार्य सञ्चालन भए पनि मजदुर र सामग्रीको अभाव रहेको बताए ।

‘राष्ट्रिय गौरवको आयोजनाको काम नरोक्ने सरकारको नीतिअनुसार जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर हेडवक्र्स (बाँध) र पावरहाउस (विद्युतगृह)जस्ता संरचनाको काम रोकिएको छैन,’ उनले भने ।

ठेकेदारले निर्माण सामग्री र मजदुरको अभाव देखाइरहेको आयोजनाले जनाएको छ ।

कोरोना महामारी फैलिएपछि झण्डै १०० मजदुर कार्यरत थिए । हाल मजदुरको संख्या घटेर ६० मा सीमित रहेको बताइएको छ । सीडीई तिवारीले आयोजना आसपासमा पर्ने जहरे, रामघाटलगायतका स्थानमा कोरोना सङ्क्रमण फैलिएपछि मजदुर काममा आउन छाडेको बताए । लामो समयदेखिको निषेधाज्ञाका कारण बजारमा सिमेन्ट, रड (सरिया)को अभाव छ ।

निर्माण सामग्री उत्पादक कम्पनी बन्द हुनु र बजारमा मोटो तथा गुणस्तरीय सरियाको अभाव रहेकाले आयोजनाको काम प्रभावित हुने समस्या देखिएको छ ।

पहिलो चरणको सुरुङ (टनेल) निर्माणपछि आयोजनाले दोस्रो चरणको काम अघि बढाएको हो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९/८० मा दोस्रो चरणअन्तर्गतका बाँध, विद्युत् गृहलगायतका संरचनाको निर्माण सम्पन्न गरिसक्नुपर्छ ।
चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच विसं २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका अनुसार हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेर आयोजनाले प्रशंसा बटुलेको थियो ।

भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको बाँध (ब्यारेज) निर्माण गर्न लागिएको हो । एक सय १४ मिटर लामो र १४ मिटर अग्लो बाँधको निर्माण हुँदैछ ।

दोस्रो चरणका संरचना निर्माणमा रु ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने बताइएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत् सोही नगरपालिकाको हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

त्यस्तै लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ ।


क्लिकमान्डु