आयकरमा छुटले व्यवसायी लाभान्वित, आम करदाता जिल्ल



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट सार्वजनिक गर्दै करका दर र दायरामा केहि हेरफेर गरेको छ ।

सरकारले आयकरमा दिएको छुट सुविधाबाट उद्योगी व्यवसायीहरु लाभान्वित हुने देखिएपनि आम मानिसका लागि सहुलियत दिने उद्देश्यले भने कुनै छुटको घोषणा भएको देखिदैन ।

आयकर तिर्नुपर्ने वार्षिक ४ लाख रुपैयाँसम्मको सीमालाई बढाउन सरकारलाई दबाव भएपनि उक्त सीमा भने यथावत राखिएको छ । यो सीमा बढाउँदा साना र आम करदातालाई त्यसले प्रत्यक्ष फाइदा पुर्याउँथ्यो ।

तर सरकारले उद्योगी व्यवसायीहरुलाई लक्षित गरी पूर्वानुमानित आय विवरण बुझाउने कारोवारको सीमा २० लाखबाट बढाएर ५० लाख पु¥याईदिएको छ । त्यस्तै, कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा ५० लाख रुपैयाँबाट १ करोड पुर्याइएको छ । यसबाट उद्योगी–व्यवसायी मात्रै बढी लाभान्वित हुन्छन ।

आयकरमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र ५० लाख देखि १ करोडसम्मको कारोबारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै होटल, ट्राभल, ट्रेकिङ, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र संचारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था सरकारले गरेको छ । त्यस्तै, यी व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि पनि १० वर्ष पुर्याइएको छ ।

सरकारले सामुहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गरेको छ । तर यो व्यवस्थाले पनि आम करदातालाई कुनै राहत पुर्याउँदैन ।

आम करदातालाई थोरै राहत दिएको भनेको निवृतीभरणवापतको करयोग्य आय गणना गर्दा २५ प्रतिशत छुट दिने व्यवस्थाले मात्रै हो ।

आयकर तिर्ने सीमा नबढाइनुमा कर्मचारीको तलब वृद्धि पनि कारण रहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन । सरकारले सबै कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाउने निर्णय गरेको छ । यो तलब वृद्धिले आयकर तिर्नुपर्ने सीमा हेरफेर गर्दा खासै फरक नपर्ने देखिएपछि ४ लाख रुपैयाँ बराबरको सीमालाई यथावत राखिएको मन्त्रालय स्रोतको भनाइ छ ।


क्लिकमान्डु