ट्राफिक प्रहरीले फाइनान्स कम्पनी र सहकारी छुट्याउन नसक्दा कर्मचारी कारवाहीमा



काठमाडौं । निषेधाज्ञासँगै कोरोना संक्रमणबीच बैंकिङ सेवा प्रवाह गर्न हिडेका वित्त कम्पनीका कर्मचारीप्रहरीको कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरीले सहकारी संस्था र वित्त कम्पनीबीच फरक छुट्याउन नसक्दा वित्त कम्पनीका कर्मचारी कारवाहीमा परेका हुन् ।

सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवामा वर्गिकरण गरेको छ । भने, नेपाल राष्ट्र बैंकले क, ख, ग वर्गका बैंक तथा वित्त कम्पनीहरुलाई न्यून शखामार्फत् निषेधाज्ञामा बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको छ । जिल्ला प्रसाशन कार्यालय काठमाण्डौंले समेत शाखा नै तोकेर वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई सीमित शाखाबाट सेवा प्रवाह गर्न भनेको छ । सहकारी संस्थाको हकमा भने निषेधाज्ञामा सञ्चालनको अनुमति छैन ।

तर, ट्राफिक प्रहरीले भने वित्त कम्पनीहरुका कर्मचारीलाई समेत रोकेर कारवाही गरेको वित्त कम्पनी बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।

‘मलाई नै प्रहरीले रोकेर परिचयपत्र हेर्दै यो त सहकारी संस्था होइन ? सहकारीलाई खोल्ने आदेश छैन भनेर केही बेर सोधपुछ गर्दै रोकेर राख्यो,’ उनले क्लिकमाण्डूसँग भने, ‘यो महामारीमा हामीलाई पनि घरमै सुरक्षित भएर बस्नु पाए हुन्थ्यो हुन्छ तर राष्ट्र बैंकले नै सीमित शाखाबाट कारोबार सुचारु गर्न निर्देशन दिएको हुँदा वित्त कम्पनीका कर्मचारी कार्यालय हिडेका हुन् । आज फाइनान्स कम्पनीका अधिकांश कर्मचारीलाई ट्राफिक प्रहरीले बाटोमै राखेको छ । सञ्चालन हुने शाखाको नाम र कर्मचारीको नामावली नै राष्ट्र बैंक प्रहरी र सीडिओ कार्यालय पठाउँदा पनि कर्मचारीलाई दुरव्यवहार भयो ।’

फिल्डका ट्राफिक प्रहरीलाई वित्त कम्पनी समेत राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंकिङ कारोबार गर्ने संस्था नै हो भनेर बुझाउँदा समेत कर्मचारीको सवारी साधन नियन्त्रणमा लिएर नछोडेको उनले जानकारी दिए ।

हाल १८ वटा वित्त कम्पनीहरु सञ्चालनमा छन् । जसमध्ये १५ वटा कम्पनी उपत्यकामा शाखा कार्यालय भएका छन् ।

जिल्ला प्रशासन कार्यालय र राष्ट्र बैंकले नै १÷१ वटा शाखाबाट सेवा दिन आदेश दिएपनि फिल्डमा खटिएको प्रहरीले नबुझेर कर्मचारीलाई अनावश्यक कारवाही गरेको उनको गुनासो छ ।

‘माथिल्लो तहकाले राम्रोसँग बुझेर निर्देशन दिएपनि सोको कार्यान्यवन सबैतिर राम्रोसँग गराउन सक्नुपर्छ,’ उनले थपे, ‘फिल्डमा चेक जाँच गर्ने प्रहरी प्रशासनले बैंकिङ सेवा दिन हिडेका कर्मचारीलाई बाटोमा नै रोकेर केरकार गरेपछि माथिल्लो पदस्थका व्यक्तिहरुसँगको समन्यवको महत्व नै भएन ।’

वित्त कम्पनीहरुका कर्मचारी कार्यालय नपुग्दा संक्रमणको अहिलेको अवस्थामा अत्याआवश्यक भएर पैसा झिक्न आउने ग्राहक समस्यमा पर्नुका साथै एटीएमहरु समेत खाली रहेको उनले जानकारी दिए ।

यता, महानगरिय ट्राफिक प्रहरी महाशाखाले भने जिल्ला प्रशासन कार्यालयले नै फाइनान्स कम्पनी र सहकारी संस्थालाई एक हप्ता बन्द गराउने निणर्य भएको हुँदा रोकिएको जनाएको छ । कोरोना संक्रमण अत्याधिक बढेको हुँदा जिल्ला प्रशासन कार्यालयलबाट एक हप्ताको लागि केही वाणिज्य बैंक र विकास बैंकलाई मात्र न्यूनतम कर्मचारीबाट सेवा दिन भनिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले बताए ।

‘हिजोसम्म सीडिओ कार्यालयबाट नै फाइनान्स कम्पनी र सहकारीलाई बन्द गराउने कुरा आएको थियो र आज सोही अनुसार फिल्डका प्रहरीले गरेका हुन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर आज फाइनान्स कम्पनीको बारेमा भने के गर्ने छलफल भइरहेको छ, छफलफल पछिको निणर्य आउने बित्तिकै रोकिएका कर्मचारी र उनका सवारी साधान छुट्छन् ।’

जिल्ला प्रशासन कार्यालयको निर्णय र ट्राफिक प्रहरीबीच राम्रो सम्वन्यको अभावले गर्दा समस्या आएको उनले स्वीकारे ।

ट्राफिक प्रहरीले वित्त कम्पनीका कर्मचारीलाई रोकेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र महानगरिय ट्राफिक प्रहरी महाशाखासँग छफलफ गरी सकेको राष्ट्र बैंकका प्रवक्ताले देव कुमार ढकालले बताए ।

‘कर्मचारीलाई प्रहरीले रोकेको गुनासो आउने बित्तिकै सम्बन्धीत निकायमा छलफल भइसकेको छ’ उनले क्लिकमाण्डूसँग भने, ‘आइतबारदेखी यस्तो समस्यामा वित्त कम्पनीका कर्मचारी पर्दैनन् ।’ निषेधाज्ञामा सञ्चालन हुने बैंक तथा वित्त कम्पनीको निर्देशन बारेमा सम्बन्धीत निकायका माथिल्लो तह र तल्लोतहका प्रहरीबीचको समवन्य अभावमा सो समस्या भएको उनको भनाइ छ ।

शुक्रबार कतिपय स्थानमा सूचना विभागको परिचयपत्र बोकेर हिडेका पत्रकारलाई समेत प्रहरीले रोकेको थियो ।


क्लिकमान्डु