दबावमा काम गर्दा माथिल्लो तामाकोशीमा समस्या, फेरि सुरुङबाट पानी चुहियो



काठमाडौं । काम नै नसकिइकनै परीक्षणका लागि दबाव दिस्ता कस्तो जटिला आइपर्छ भन्ने उदाहरण बन्न पुगेको छ माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ।

नियमित रुपमा प्रक्रिया मिलाएर काम गर्न पाएको भए कुनै पनि समस्या नदेखिने भएपनि प्रधानमन्त्री, ऊर्जा मन्त्रालयका तर्फबाट दिइएको दबाव कार्यान्वयन गर्न लाग्दा आयोजनामा एकपछि अर्को गर्दै समस्यामा फसेको छ । विगत १० वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको माथिल्लो तामाकोशीको सुरुङ परीक्षणको क्रममा पानी चुहिने समस्या देखिएको छ ।

आयोजनाका एक अधिकारीका अनुसार मुख्य सुरुङको गेटनिर पानी चुहिने समस्या देखिएको छ । यसअघि पनि सुरुङका विभिन्न स्थानमा पानी चुहिने समस्या देखिएका कारण बाँधमा नै पानी बन्द गरेर मर्मत् सम्भार गरिएको थियो ।

मर्मत् गरेर पुनः मंगलबारदेखि सुरुङमा पानी हालिएको थियो । पुनः पानी चुहिने समसया देखा परेपछि पानी रोकेर मर्मत गर्न लागिएको छ । हाल बाँधबाट सुरुङमा पानी जान रोकिएको छ । आयोजनामा दुई वटा अडिट सुरुङमध्ये एउटामा पानी चुहिने समस्या देखिएको बताइएको छ ।

पानी चुहिएको बन्द गर्न झण्डै दुई साताको समय लाग्न बताइएको छ । प्राविधिक कर्मचारीले उक्त समस्याको समाधान गर्ने र उनीहरु आयोजनास्थल लामाबगरमा नै रहेका छन् ।

अन्य स्थानमा भने देखिएको समस्या समेत मर्मत गरेपछि समाधान भएको बताइएको छ । आयोजनाका सबै उपकरणको समेत पानी हालेर परीक्षण गरिएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट गत वैशाखमा नै पहिलो यूनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने कार्यतालिका थियो ।

परीक्षणमा समस्या आएपनि कार्यतालिका धकेलिदै आएको छ । पानी चुहिने समस्या समाधान भएपनि अन्य कुनै समसया नदेखिए आगामी असारको पहिलो सातासम्म बिजुली उत्पादन शुरु हुने अपेक्षा गर्न सकिन्छ ।

आयोजनाबटा बिजुली उत्पादन हुँदासम्म लागत ८० अर्ब रुपैयाँभन्दा माथि पुग्ने छ । शुरुमा ३५ अर्ब लागत भनिएको भएपनि ब्याज, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा प्राकृतिक विपत्तीका कारण लागत बढेको हो ।


क्लिकमान्डु