सिद्धबाबा सुरुङमार्ग बनाउन ठेक्का आह्वान, ६ महिनाभित्र ठेक्का लगाउने लक्ष्य



काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग बन्ने भएको छ ।

सिद्धबाबा सुरुङमार्ग बनाउन सडक विभाग गुणस्तर अनुसन्धान तथा बिकास केन्द्रले शुक्रबार (जेठ ७ गते) अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

मृत्युमार्गको रुपमा पहिचान भएको सिद्धबाबा सडक खण्डलाई व्यवस्थित गर्न सुरुङमार्ग निर्माण गर्न लागिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । सिद्धबाबा पहिरोका कारण हालसम्म सय जनाभन्दा धेरैले अकालमै ज्यान गुमाइसकेका छन् ।

‘सिद्धबाबा पहिरोले ठूलो जनधनको क्षति गराएको छ । यो समस्या हल गर्न सडक विभागले लामो समयदेखि प्रयास गरिरहेको छ’, महानिर्देशक थापाले भने, ‘रक सेड र सुरुङमार्ग निर्माण गरि पहिरो व्यवस्थापन गर्न खोजिएको हो ।’

अन्तर्राष्ट्रिय बोलपत्र भएकाले डेढ महिनाको समय दिइएर प्रस्ताव माग गरिएको छ । करिब एक महिना प्रस्तावको अध्ययन तथा मूल्यांकन गरिनेछ ।

प्राविधिक रुपमा सक्षम देखिएकाको आर्थिक प्रस्ताव खोल्न खोल्न कम्पनीको प्रतिनिधिलाई बोलाइने छ । प्राविधिक र आर्थिक प्रस्तावमा अब्बल देखिएको निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिनेछ । सबै प्रक्रिया पूरा गर्दा अबको ६ महिनाभित्रमा ठेक्का सम्झौता हुने थापाको अनुमान छ ।

सूरुङमार्गको प्रारम्भिक डिजाइन स्विस सहयोग नियोग (एसडीसी)ले तयार पारेको हो । सिद्धबाबाको समस्या हल गर्न अर्थमन्त्रालयले एसडीसीसँग सहयोग मागेको थियो ।

एसडीसीले सिद्धबाबा खण्डको अध्ययन गर्न विज्ञ टोलि नेपाल पठाएको थियो । उक्त टोलिले २०७७ मा प्रारम्भिक डिजाइन तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

त्यही डिजाइनलाई आधार मानेर इपीसी इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा सुरुङमार्ग बनाउन खोजिएको उनले बताए । साथै निर्माणको पर्यवेक्षणमा पनि एसडीसीले सहयोग गर्ने बताइएको छ । सिद्धबाबा ढुंगा र माटो मिश्रित पहाड हो । वर्षातको समयमा पहाडको माटो पानीले बगाउने भएकाले सर्पोट नपाएको ढुंगा पहाडबाट खस्ने गर्छ ।

सिद्धबाबा करिब साढे २ किलोमिटर खण्डमा सुरुङमार्ग र रकसेड निर्माण हुनेछ । सुरुङमार्ग १.२ किलोमिटर र रकसेड १.३ किलोमिटर लम्बाइको हुनेछ । साना ढुंगा खस्ने ठाउँमा रकसेड निर्माण गरिनेछ ।

१० अर्ब लागत
सुरुङमार्ग निर्माणमा भ्याट र अन्य खर्चगरी करिब १० अर्ब रुपैयाँ लाग्ने पूर्व अनुमान रहेको महानिर्देशक थापा बताउँछन् । निर्माण खर्च भने ८ अर्ब रुपैयाँ रहेको छ ।

सुरुङमार्ग बनाउने अर्थमन्त्रालयले २०७६ मंसिरमा १० अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चिता गरेको थियो । त्यस समय यसअघि सिद्धबाबा सुरुङमार्ग डिजाइन एण्ड बिल्ट मोडलमा बनाउन खोजिएको थियो ।

सुरुङमार्गमा जमिन मुनि धेरै काम गर्नु पर्ने भएकाले डिजाइन एण्ड बिल्टको विकल्पमा इपीसी मोडलमा बनाउन खोजिएको हो । अहिले मोडल इपीसी भनिए पनि यो डिजाइन एण्ड बिल्ट र इपीसी मोडलको हाइब्रिट भएको थापाको भनाइ छ ।

नेपाली निर्माण व्यवसायलाई प्राथमिकता

नेपाली निर्माण व्यवसायीलाई प्राथमिकता राखेर सुरुङमार्गको ठेक्का निकालिएको महानिर्देशक थापाले बताए । अन्तर्राष्ट्रिय बोलपत्र भए पनि नेपाली ठेकेदारसँग जेभीमा ठेक्का हाल्नेलाई प्राथमिकतामा राखिएको बताए । नेपाली जेभी साझेदारको हिस्सा २५ प्रतिशत गरिएको छ । यो आयोजनाको भ्याट बाहेको लागत ८ अर्ब रुपैयाँ हो । विगत ३ वर्षदेखि १० वर्षसम्म २ अर्ब रुपैयाँको कारोबार गरेको नेपाली निर्माण व्यवसायीले ठेक्कामा सहभागी हुन पाउँछ । यो सुरुङमार्गको ठेक्का पनि धेरै चीन र भारतको निर्माण व्यवसायीको सहभागीता धेरै रहेन विभागको भनाइ छ ।

५ वर्षसम्म मर्मत सम्भार र सञ्चालन ठेकेदारबाटै

सिद्धबाबा सुरुङमार्ग इपीसी मोडलमा निर्माण गर्न खोजिएको हो । निर्माण व्यवसायीले सुरुङमार्गको प्लानिङ, डिजाइन, इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन, ५ वर्षसम्म सञ्चालन, मर्मत सम्भार, २ लेनको स्टयन्डर हाइवे टनेल, रकसेड स्ट्रक्चर, रकफलमिटिगेसन, पहुँचमार्ग निर्माण गर्नुपर्छ ।


क्लिकमान्डु