नेपालमा मोबाइल सेवाको बिकासक्रम यसरी भएको थियो



देश दोस्रो चरणको लकडाउनमा छ । थाहा छैन, यो कति समयसम्म लम्बिने हो ? मानिसहरु घर मै कैदी जसरी जीवन बिताउन बाध्य छन् ।

तपाईं कल्पना गर्नुहोस्, यदि मोबाइल र इन्टरनेट न भएको भए हाम्रो समय कसरी बित्थ्यो ? भन्नुहुन्छ होला कटथ्यो तर निकै कष्टसँग किन कि अहिले तपाईंसँग इन्टरनेट छ । र, विश्वभर सूचना तथा जानकारी औंला चलाएर थाहा पाउन सक्नुहुन्छ । आफूलाई मन परेको फिल्म÷ सिरिज सजिलै हेर्न सक्नुहुन्छ । मोबाइलमा रिचार्ज सकियो एउटा म्यासेजको भरमा ब्यालेन्स प्राप्त गर्न सक्नु हुन्छ । मोबाइल इन्टरनेटले गर्दा जीवन केही सहज भएको छ ।

आउनुहोस् नेपालमा मोबाइल र मोबाईल इन्टरनेटको सुरुवात देखिको हालसम्म के कस्ता चरणहरु पार गर्दै आए सो बारेमा जानकारी लिउ ।

कमल धिताल

नेपालमा मोबाइलको शुरुवात
नेपालमा मोबाइल जीएसएम शुरुवात २२ वर्ष अगडि भएको इतिहास छ । जीएसएम मोबाइलको परीक्षण २०५६ वैशाख १ गते शुरु भएको थियो भने औपचारिकरुपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो ।

पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात् १जी थिए जुन उच्च वर्ग र ओहदाका मानिसको पहुँचमा मात्र सीमित थियो किन भने यो निकै महंगो थियो जुन मध्यम वर्गको पहुँच भन्दा बाहिर थियो ।

२०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान (हाल को नेपाल टेलिकम) ले प्रिपेड मोबाइलको शुरुवात गरेको थियो । यस अघि पोस्टपेड मात्र प्रयोगमा थियो ।

सरकारले नेपाली दूरसञ्चार संस्थानलाई २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरे पछि भने नेपालमा मोबाइल सेवा द्रुत गतिमा अघि बढ्यो । साथै, नेपाल टेलिकमले सीडीएमए सेवाको शुरुवात पनि सोही साल शुरु गर्यो जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको थियो ।

पहिला फोन गर्दा मात्र होइन मोबाइलमा आएको फोन उठाउँदा पनि पैसा लाग्थ्यो भन्दा तपाईंलाई विश्वास नलाग्न सक्ला २०६२ जेठ २३ गतेबाट इन्कमिङ कल निःशुल्क गरिएको थियो । सोभन्दा अघिसम्म आफूले उठाएको फोनको समेत पैसा तिर्नु पथ्र्यो ।

पहिला एक्लौटी रुपमा रहेको मोबाइल सेवामा जब तत्कालिन स्पाइस नेपाल (हाल को एनसेल) प्रवेश गर्यो नेपालमा मोबाइल सेवाले छलाङ मार्यो भन्न सकिन्छ ।

किनकि पहिला नेपाल टेलिकमको सिमकार्ड प्राप्त गर्नु भनेको निक्कै नै कठिन थियो । सर्वसाधारण मानिसले करिब ५ हजारसम्म पनि एउटा सिमका लागि खर्च गर्नु परेको थियो । जब नेपालमा मेरो मोबाइल( एनसेल) ले १ हजारमा सिम कार्ड दिन शुरु गर्यो । नेपाल टेलिकमको सिमको विकल्पमा मेरो मोबाइल प्रयोग हुन थाल्यो र प्रतिस्पर्धा बढ्न गई सजिलै सबैको हातमा मोबाइल पुग्न सफल भयो ।

तत्कालीन मेरो मोबाइलले दोस्रो पुस्ताको मोबाइल वितरण शुरु गरी मोबाइल इन्टरनेट जीपीआरएस (जेनेरल पब्लिक रेडियो सर्विस ) शुरुवात गरेको थियो । जसबाट नेपाली प्रयोगकर्ताले विश्वमा नयाँ प्रविधिको प्रयोग नेपालमा गर्न पाएका थिए । मोबाइलमा पहिले नौ अंकको नम्बर हुन्थ्यो । २०६१ वैशाख १ देखि १० अंकको बनाइएको हो ।

२०६४ साल जेठ ३ गतेदेखि नेपाल टेलिकमले तेस्रो पुस्ता थ्रीजी सेवा परीक्षण शुरुवात गरेको थियो । २०६५ सालमा मात्र मुलुकका तत्कालीन ७५ वटै जिल्लामा मोबाइल कवरेज पुगेको थियो ।

चौथो पुस्ता अर्थात् फोरजी भने नेपालमा २०७३ देखि शुरु भएको हो ।

२०७३ पुस महिनामा पोष्टपेडमा मात्र शुरुवात गरेको फोर जी सेवा करिब १ महिनापछि मात्र प्रिपेड मा दिएको थियो । फोरजी सेवा थ्रीजीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो ।

फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु)ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यस सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

हाल तपाईंले चलाउदै आउनु भएको मोबाइल सेवाको शुरुवात नेपालमा क्रमागत रुपमा यसरी बिकास भएको इतिहास रहिआएको छ ।

(लेखक धितालका बाँकी लेखहरू यस ब्लगमा हेर्न सकिन्छ ।)


क्लिकमान्डु