सूर्तीजन्य पदार्थमा ५० देखि ७०% कर बढाउन सुझाव, ८ देखि १२ अर्ब राजस्व थप हुने अनुमान



काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सूर्तीजन्य पदार्थमा कर बढाउन नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सरकारलाई सुझाव दिएको छ ।

प्रतिष्ठानले बिहीबार भर्चुअल पत्रकार सम्मेलन गर्दै कोभिड १९ महामारीले देशको अर्थतन्त्र थलिएको अवस्थामा सुर्तीजन्य पदार्थमा लाग्ने करको बृद्धिले देशको राजस्वमा उल्लेखनीय टेवा पुग्ने र खपतमा कमि हुन गई जनस्वास्थ्यमा फाइदा पुग्ने सुझाव दिएको हो ।

प्रतिष्ठानकाअनुसार आगामी आर्थिक वर्षको बजेटमार्फत सूर्तीजन्य पदार्थको करमा ५० देखि ७० प्रतिशतले वृद्धि गर्दा ८ अर्ब देखि १२ अर्ब रूपैयाँसम्म बढी राजस्व संकलन हुने देखिन्छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक जय कुमार गुरूङले सूर्तीजन्य पदार्थमा लाग्ने कर सार्क मुलुकहरूको तुलनामा नेपालमा सबैभन्दा कम रहेको बताए । कर वृद्धिसँगै खपतमा कमी हुने र राजस्वमा पनि वृद्धि हुने गुरुङको भनाइ छ ।

कुल सरकारी राजस्वमा सूर्तीजन्य वस्तुबाट उठ्ने अन्तशुल्कको हिस्सा अन्य देशको तुलनामा नेपालमा न्युन छ ।

सन् २००९/१० मा सूर्तीजन्य वस्तुबाट प्राप्त हुने अन्तशुल्क कुल राजस्व को २ दशमलव ५४ प्रतिशत थियो । तर त्यो तथ्यांक अहिले घटेर २०१८/१९ मा १ दशमलव ८२ प्रतिशत बराबर रहेको छ ।

दक्षिण एसियाली मुलुकमध्ये चुरोटमा सबैभन्दा बढि कर लगाउने देश बंगलादेश हो । बंगलादेशले कुल राजस्वको ९ दशमलव ५३ प्रतिशत राजस्व संकलन अन्तशुल्कबाट संकलन गर्छ ।

सोही कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले सूर्तीजन्य पदार्थको खपत नियन्त्रणका लागि राज्य संयन्त्रले अबलम्बन गर्ने विभिन्न उपायहरुमध्ये करको दरमा वृद्धि पनि एउटा रहेको बताए।

नेपालमा सूर्तीजन्य पदार्थमा लाग्ने कर विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा धेरै तल मात्र रहेको छ । विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर तोकेकोमा नेपालमा भने ३० प्रतिशत बराबर मात्रै छ । जसमा अन्तस्शुल्क १६ दशमलव १८, मूल्य अभिवृद्धि कर ११ दशमलव ५ र स्वास्थ्य कर २ दशमलव ३९ प्रतिशत रहेको छ ।

प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालमा सन् २०२० मा मात्र चुरोट र बिंडी सेवनका कारण लाग्ने रोगहरुको उपचारका लागि वर्षेनी करिव ४० अर्ब रुपैयाँ बराबर खर्च हुने गरेको छ ।

तर सन् २०२० मा चुरोट र बिंडीबाट संकलन भएको राजस्व भने १८ अर्ब ५५ रूपैयाँ बराबर मात्र छ ।

हाल नेपालमा सूर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या कुल जनसंख्याका ३२ प्रतिशत रहेको पनि प्रतिष्ठानले जनाएको छ ।


क्लिकमान्डु