कोभिड बिरामीलाई अक्सिजन सहयोग गर्न बन्द भए देशभरका डण्डी उद्योग



काठमाडौं । कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको आपूर्ती उद्योगमा ठप्प भएसँगै देशभरका अधिकांश डन्डी उद्योगहरू बन्द भएका छन् ।

देशभर कोरोना बिरामीका लागि अत्यावश्क अक्सिजन अभाव भएसँगै डण्डी उद्योग बन्द भएका हुन् ।

हाल देशभर तीव्र रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । साथै, उक्त बिरामीका लागि आवश्यक अक्सिजन अभाव भएसँगै सरकारले उद्योगसँग भएको सिलिण्डर फिर्ता गर्न निर्देशन दिएको छ ।

बजारमा अक्सिजन अभाव भएपछि अधिकांश उद्योग बन्द भएको नेपाल स्टिल रोलिङ एशोसिएनको वरिष्ठ उपाध्यक्ष किरण कुमार शाखले बताए ।

उनका अनुसार देशभरका अक्सिजन उद्योगहरूले पर्याप्त मात्रामा पुर्याउन नसकेको बेला निषेधाज्ञामा उद्योगलाई अक्सिजन प्रदान गर्न सम्भव नभएको बताए । देशभर करिब २६ वटा डन्डी उद्योग छन् । त्यसमा देशमा अक्सिजन अभाव भएपछि उद्योग बन्द गरेको उनको भनाइ छ ।

‘निषेधाज्ञा भएपछि अधिकांश उद्योगले करिब एक हप्तासम्म सबै उद्योग सञ्चालन गरेका थिए । तर, पछिल्लो समय संक्रमण बढ्दै गएको र अक्सिजन अभाव भएपछि अधिकांश उद्योग धमाधम बन्द गरिरहेका छन्,’ उनले भने ।

हाल विभिन्न स्थानमा रहेको उद्योगहरूमा पुलिसहरूले छापा मारिरहेको र उद्योगबाट ग्यास फिर्ता लिइरहेको अवस्थामा उद्योग सञ्चालन गर्ने कुनै सम्भावन नरहेको उनको भनाइ छ ।

‘कतिपयले कम्पनीभित्र भित्रै गोेप्य रुपमा उद्योग सञ्चालन गरेमा थाहा छैन । तर, उक्त उद्योगहरू पनि केही दिनमा बन्द हुनेछ,’ उनले भने ।

फलामे तथा डन्डी उद्योगहरूलाई ४० देखि ४५ सिलिन्डरको आवश्यक पर्दछ । तर, अक्सिजन उत्पादन गर्ने उद्योगीहरूले कोरोना संक्रमणको लागि पर्याप्त प्रदान गर्न नसकेको बेला उद्योगलाई प्रदान गर्दैन । त्यसैले अधिकांश उद्योग बन्द अवस्थामा रहेको उनले जिकिर गरे ।

उनका अनुसार केही उद्योेगलाई केही मात्रामा उद्योग चलाउनको लागि केही सिलिन्डर रिफिल गरेमा उद्योग सञ्चालन गर्न अनुरोध गरेको छ । तर, अक्सिजन उद्योगले रिफिल गर्न नमान्दा समस्या भइरहेको उनको भनाइ छ ।

‘अहिले जति पनि उद्योगमा भएको सिलिन्डर लगभग खाली जस्तै रहेको छ,’ उनले भने, ‘सरकारले निषेधाज्ञा कडा गर्नका लागि ठाउँ ठाउँको प्रहरीहरुले भरपाई गरेर फिर्ता लिईरहेको छ । साथै, सरकारले सिलिन्डर प्रयोग गर्न निर्देशन दिएकाले उद्योग बन्द गर्न बाध्य भएका छौं ।’

त्यस्तै सरकारले स्वास्थ्य प्रयोजनबाहेक अन्यमा प्रयोग गर्न नदिने निर्देशन दिएपछि उद्योगलाई दिन ठप्प भएको उनको गुनासो छ । साथै, अहिले निषेधाज्ञाले सम्पूर्ण उद्योग बन्द भई आगामी दिनमा आवश्यक अनुसार डन्डी तथा फलाम आपूर्ति गर्न निकै कठिन अवस्था सिर्जना हुने उनको बुझाइ छ ।


क्लिकमान्डु