कोरोनाः ६ हजार विकास आयोजना प्रभावित, व्यवसायीले ६५ अर्ब भुक्तानी पाउन बाँकी



काठमाडौं । कोरोना भाइरसको प्रकोप बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा भएसँगै यसको प्रभाव विकास आयोजनामा देखिएको छ ।

मुलुकभर सञ्चालनमा रहेका ६ हजारभन्दा धेरै आयोजना निषेधाज्ञाका कारण प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । नयाँ भेरियन्टको कोरोना भइरसको प्रकोप बढेसँगै ६३ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।

‘निषेधज्ञाका कारण मुलुकभर सञ्चालनमा रहेका सबै आयोजना प्रभावित भएका छन् । ८० प्रतिशत आयोजना ठप्प छन् । मजदुर र निर्माण साम्रगी उपलब्ध भएका आयोजना आंशिकरुपमा सञ्चालनमा छन्’, सिंहले भने, ‘ती आयोजना पनि पूर्ण क्षमतामा नभई १५ देखि २० प्रतिशत क्षमतामा सञ्चालन छन् ।’

सञ्चालनमा रहेका आयोजनामा पनि मजदुर र निर्माण साम्रागीको अभाव छ । कोरोनाका प्रकोप बढ्दो क्रममा रहेकाले मजदुर पनि त्रसित छन् । सरकारले विकास आयोजना अघि बढाउन सहजिकरण गर्न सकेको छैन ।

निषेधज्ञाका बिच काम गर्न चहाने निर्माण व्यवसायीलाई सहयोग तथा सहजिकरण गर्न सरकार चुकिरहेको छ । मजदुर तथा निर्माण क्षेत्र सम्बन्धी आवश्यक स्वास्थ्य मापदण्ड (प्रोटोकल) बन्न नसकेको उनी बताउँछन् ।

‘मूख्य सिजनमै काम गर्न सकिएको छैन । गत वर्ष पनि सिजन शुरु हुने वित्तिकै लकडाउन भयो । यो वर्ष पनि निषेधाज्ञा घोषणा गरिएको छ’, उनले भने, ‘नेपालमा विकास निर्माण सम्बन्धी धेरै काम हुने भनेको ३/४ महिना मात्रै हो । यही समयमै लकडाउन र निषेधाज्ञा घोषणा गरिएको छ ।’

सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष उत्साजनक रुपमा काम गर्न नसकिएको बताउँछन् । गत वर्ष लकडाउनको समयमा काठमाडौंका सडक चिल्लो पार्ने काममा डिभिजन सकिएको छ । यो पटक जोखिम पनि बढी छ । निर्माण स्थलमा काम गर्नेका हकमा आयोजनाले पासको व्यवस्था गर्ने भनिए त्यस्तो हुन सकेको छैन ।

कठिनाइका बाबजुत ट्राफिक चाप धेरै हुने स्थानमा भने मर्मत सम्भारको कार्यलाई प्राथमिकतामा राखिएको नेपालीले बताए । थेरै संख्यामा मजदुर प्रयोग हुने गरी काम अघि बढाइएको छ । सडक मार्किङ बाहेक अन्य काम गत वर्षको तुलनामा कमै गर्न सकिएको उनी बताउँछन् ।

निषेधाज्ञा अघि शुरु गरिएको फुटपाथ निर्माणको कामले पनि दैनिक लक्ष्यको ५० प्रतिशत मात्र प्रगति हासिल गर्न सकिएको छ । अहिले थापाथली, पुतलीसडक, दरबारमार्ग लगायत क्षेत्रमा डिभिजनले फुटपाथ निर्माण गरिरहेको छ ।

६५ अर्ब भुक्तानी पाउन बाँकी
सिजनमै काम गर्न नपाएकाले नेपालका निर्माण व्यवसायी आर्थिकरुपमा धरायसी हुने खतरा बढेको अध्यक्ष सिंह बताउँछन् । निषेधाज्ञा र लकडाउनका कारण निर्माण व्यवसायीले काम गर्ने दुई उर्भर सिजन गुमाएका छन् ।

फिल्डमा काम नभए पनि निर्माण व्यवसायीको ओभर हेड खर्च बढी रहेको छ । अन्य व्यवसायीले झैं निर्माण व्यवसायीले सरकारबाट राहत पाउन सकेका छैन ।

सरकारले प्रत्यक्ष राहत दिन नसके पनि निर्माण व्यवसायीले काम बापतको भुक्तानी पनि पाउन सकेका छैन । उनका अनुसार निर्माण व्यवसायीले सरकारबाट करिब ६५ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ । अहिले सरकारले यो रकम भुक्तानी गरिए निर्माण व्यवसायीलाई राहत मिल्लने उनले बताए ।


क्लिकमान्डु