वाणिज्य बैंकहरुको खुद नाफा बढेपनि प्रतिफल आरओई भने घट्यो, यस्तो छ कारण



काठमाडौं । गत वर्षको चैतदेखि शुरु भएको कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभावमा अझै पनि कतिपय क्षेत्रमा छ । जसको असर बैंक तथा वित्तीय संस्थामा समेत देखिएको छ ।

कोरोनाबीचमा अर्थात् चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुले व्यवसाय गरी राम्रो आम्दानी गर्न नसक्दा सेयरधनीले वाणिज्य बैंकहरुमा गरेको लगानीको प्रतिफल समेत घटेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको रिटर्न अफ इक्विटी (आरओइ) औषतमा ०.५९ बिन्दुले घटेको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको गत आवको चैत मसान्तसम्म औषत आरओई १४.४० थियो । जुन चालु आवको सोही अवधिमा १३.५४ प्रतिशत कायम भएको तथ्यांकले देखाएको छ ।
यसको अर्थ वाणिज्य बैंकहरुको सेयरधनीले गत वर्षको चैत मसान्तसम्म पाएका लगानीको प्रतिफलमा ०.५९ प्रतिशत कमी आएको हो ।

सो अवधिमा १३ वटा बैंकको आरओइ घटेको छ, भने १४ वटा बैंकको बढेको छ ।

गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा आरओइ घट्ने बैंकहरुतर्फ सबैभन्दा बढी हिमालयन बैंकको १०.५८ बिन्दुले र सबैभन्दा थोरै लक्ष्मी बैंकको सबैभन्दा कम ०.३२ बिन्दुले घटेको छ ।

साथै सो अवधिमा आरओइ बढ्ने बैंकहरुतर्फ सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको ५.१६ बिन्दुले र सबैभन्दा कम सानिमा बैंकको ०.२४ प्रतिशतले बढेको छ ।

के हो आरओई ? यसको असर कसलाई कस्तो पर्छ ?
सेयरधनीहरुले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी (आरओइ) भनिन्छ ।

जसमा लगानीकर्ताको लगानीमा पुँजीसँगै रिजर्भ र पेड अफ क्यापिटल समेत समावेश गरिएको हुन्छ ।
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्बमाथि छ । कुनै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको वाणिज्य बैंकको २ अर्ब रिजर्भमा हुँदा त्यसको कुल पुँजी १० अर्बको हुन्छ ।

यदि त्यो बैकले २ अर्ब रुपैयाँ नाफा कमाएमा त्यसको रिटर्न अफ इक्विटी २ भाग १० गर्दा २० प्रतिशत बैंकको रिटर्न अफ इक्विटी हुन्छ ।

चालु आवको चैत मसान्तसम्म २७ वाणिज्य बैंकको आरओई १३.५४ प्रतिशत छ । यसरी हेर्दा बैंकहरुमा औषतमा एकजना लगानीकर्ताले कुनै एक वाणिज्य बैंकमा १०० रुपैयाँ लगानी गर्दा चालु आवको चैत मसान्तसम्मको नाफाबाट १३ रुपैयाँ ५४ पैसा लगानीको प्रतिफल पाउँछ । जुन अघिल्लो आवको सोही अवधिमा १०० रुपैयाँ लगानी वापत १४ रुपैयाँ ४० पैसा थियो ।

सामान्यतयाः कुनैपनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गरेका हुन्छन् भने सोही रेसियोमा आरओई भएको बैंकलाई राम्रो आम्दानी भएको मानिन्छ ।

तर चालु आवको चैत मसान्तसम्म १६ वटा वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा कम छ । जसमा ५ वटा वाणिज्य बैंकको आरओई १० प्रतिशतभन्दा कम छ ।

सो अवधिमो ११ वटा बैंकको आरओई १५ प्रतिशतभन्दा धेरै छ ।

असार मसान्तसम्म बैंकहरुको आरओई बढ्छ- राष्ट्र बैंक
कोरोना भाइसर संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले २०७७ चैतदेखि गरेको लकडाउन र निषेधाज्ञाका कारणले बैंकहरुले पूर्णरुपमा नयाँ व्यवसाय बिस्तार गर्न सकेनन् ।

चालु आवको ९ महिनामा बैंकहरुले ४/५ महिना यता आएरमात्रै नयाँ व्यवसाय बिस्तार सहजरुपमा गरेको हुँदा गत वर्षको तुलनामा चालु आवको चैत मसान्तमा आरओई घटेको देखिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘अहिलेको बैंकहरुको गरेको आम्दानी नाफा भनेको मंसिरयता गरेको व्यवसायको हिस्सा बढी छ,’ उनले क्लिकमाण्डुसँग भने, ‘अवस्था सहज रहेमा चालु आवको अन्त्यसम्म बैंकहरुको आरओईमा गत वर्षको तुलनामा राम्रो वृद्धि हुने सम्भावना छ ।’

बैंकको नाफा घट्दा सम्पत्तिमाथिको प्रतिफल आरओईमा पनि असर पर्छ तर चालु आर्थिक वर्षको चैत मसान्तमा गत आवको सोही अवधिमा खुद नाफा भने १३.५० प्रतिशतले वृद्धि भएको छ । तर नाफा बढेपनि बैंकहरुको चुक्ता पुँजी बढ्दा आरओइ घटेको उनले बताए ।

चालु आवको चैत मसान्तमा वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ४४ अर्ब ७० करोड रुपैयाँ थियो ।

बैंकहरुको नाफा अर्बौमा देखिए पनि उनीहरुले आफूले कति लगानी गरेर कति नाफा कमाए भनेर हेर्ने सूचक नै आरओई हो ।

बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले वितरण योग्यनाफाको ३० प्रतिशतमात्र नगद लाभांश वितरण गर्न पाउने र बाँकी बोनस सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

जुन व्यवस्थाका कारण बैंकहरुले बोनस सेयर जारी गर्दा सेयरसंख्या बढ्नुका साथै चुक्ता पुँजी समेत बढी आरओई गत वर्षको चैत मसान्तको तुलनामा कम हुन आएको प्रवक्ता ढकालको भनाइ छ । सो अवधिमा बैंकहरुको चुक्ता पुँजी १६.४५ प्रतिशतले वृद्धि भएर ५ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।

यता, बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुले व्यवसाय बिस्तारमार्फत् आम्दानी घट्दा आरओई घटेको विश्लेषण गर्छन् ।

वास्तविक नाफामा वृद्धि नहुँदा आरओई घट्यो
कर्जा बिस्तार यस अवधिमा बैंकहरुको कर्जा विस्तार २४.२८ प्रतिशतले वृद्धि भएर ३५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । तर ब्याज आम्दानी भने २.४३ प्रतिशतले घटेर २ खर्ब ३९ अर्ब रुपैयाँमा सीमित भएको छ ।

साथै, सो अवधिमा बैंकहरुको प्रोभिजनअघिको नाफा ०.१२ प्रतिशतमात्र वृद्धि भएको छ ।
बैंकहरुको प्रोभिजन रिटर्न ब्याक हुँदा खुद नाफा बढी देखिए पनि वास्तविकरुपमा बैंकहरुको नाफा घट्दा आरओई समेत घटेको अध्यक्ष दाहालले बताए ।

कोभिडका कारण अर्थतन्त्र प्रभावित हुँदा राष्ट्र बैंकले साँवा ब्याज भुक्तानीको समयसीमा नाघेको कर्जालाई पनि निष्कृय कर्जामा देखाउन नपर्ने सुविधा दिएको थियो । कर्जाको पुनरसंरचना र पुनरतालिकिकरण गर्न पाउने व्यवस्था गरी सोमा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने राष्ट्र बैंकले सुविधा दिएको भएपनि बैंकहरुले सोभन्दा बढी प्रोभिजन गरेका थिए ।

जुन चालु आवको तेस्रो त्रैमासमा रिटर्न ब्याक भएर खुद नाफा बढेको देखिएको तर कर्जा बिस्तार गरी आम्दानी नबढ्दा वास्तविक नाफामा वृद्धि नभइ आरओई घटेको उनको भनाइ छ ।

वाणिज्य बैंकहरुको आरओई, कुन बैंकको कतिले घट्यो, कतिले बढ्यो ?
चालु आवको चैत मसान्तसम्म एनआएसी एशिया बैंकको आरओई सबैभन्दा धेरै २३.२६ प्रतिशत छ । गत आवको सोही अवधिको तुलनामा भने बैंकको आरओई ०.६६ बिन्दुले घटेको हो ।

साथै, सो अवधिमा सबैभन्दा थोरै सेञ्चुरी बैंकको ४.६४ प्रतिशत छ । जुन गत आवको चैत मसान्तको तुलनामा ७.५७ बिन्दु थोरै हो ।

बैंकहरुले सार्वजनिक गरेको चालु आवको तेस्रोे त्रैमासकोे वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा प्रभु बैंकको ४.७० बिन्दुले बढेर १८.४६ प्रतिशत, प्राईम बैंकको ३.३२ बिन्दुले बढेर १८.२० प्रतिशत र ग्लोबल आइएमई बैंकको २.७४ बिन्दुले बढेर १६.६६ प्रतिशत पुगेको छ ।

यस्तै, सो अवधिमा कुमारी बैंकको २.६१ बिन्दुले बढेर १४.१९ प्रतिशत, सिद्धार्थ बैंकको २.३५ बिन्दुले बढेर १५.४१ प्रतिशत र एनएमबि बैंकको २.३२ बिन्दुले बढेर १५.८२ प्रतिशत पुगेको छ ।

साथै, सो अवधिमा सिभिल बैंकको १.५९, माछापुच्छ«े बैंकको १.४५, सनराइज बैंकको ०.७४, सिटिजन्स बैंकको ०.५४, नेपाल इनभेष्मेण्ट बैंकको ०.२६ र सानिमा बैंकको ०.२४ बिन्दुले आरओई सो अवधिमा थप भएको छ ।

यस्तै, गत चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा हिालयन बैंकको १०.५८ बिन्दुले, एभरेष्ट बैंकको ९.२१ बिन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.७४ बिन्दु, सेञ्चुरी बैंकको ७.५७ बिन्दु र नेपाल एसबीआई बैंकको ६.३८ बिन्दुले आरओई घटेको छ ।

सो अवधिमा एनसीसी बैंकको १.९२ बिन्दु, नबिल बैंकको १.३७ बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको १.०५ बिन्दु र कृषि विकास बैंकको ०.८४ बिन्दुले आरओई घटेको छ ।

साथै, एनआइसी एशियाको ०.६६ बिन्दु, नेपाल बैंकको ०.३६ बिन्दु र लक्ष्मी बैंकको ०.३२ बिन्दुले आरओई सो अवधिमा घटेको छ ।


क्लिकमान्डु