क्वारेन्टिन र आइसोलेसनका लागि होटल कति सहज ?: यसो भन्छन्- हानका उपाध्यक्ष शाह



काठमाडौं । यतिबेला कोरोना भाइरसको संक्रमणको जोखिम उच्च विन्दूमा छ । हरेक दिन हजारौं संख्यामा संक्रमितहरु थपिरहेका छन् । संक्रमित थपिएका मात्रै छैनन्, स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना हुँदा अस्पतालमा भर्ना हुनैपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको छ ।

स्वास्थ्य मन्त्रालयले संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा बेड नपाउने अवस्था सिर्जना हुन लागेको भन्दै सबैलाई सतर्क रहन सूचित पनि गरिसकेको छ । यस्तो अवस्थामा संक्रमित भइ अस्पताल भर्ना हुनुैपर्ने अवस्थामा अस्पतालमा सहजै बेड पाउन सकिने अवस्था पनि छैन ।

वर्तमानमा देखिएका संकटपूर्ण अवस्था र गत वर्षको अभ्यास हेर्दा धेरैले होटललाई क्वारेन्टिन र आइसोलेसनका लागि उपयुक्त विकल्प हुन सक्ने सुझाव पनि विभिन्न सञ्चारमाध्यमबाट दिइरहेका छन् ।

उनीहरु अहिले होटलमा गेस्टको संख्या निकै कम भएको, कतिपय होटलहरु बन्द रहेको भन्दै होटललाई क्वारेन्टिन र आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने उपयुक्त विकल्प अगाडि सारेका छन् ।

होटल एसोसिएसन नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले गत वर्ष जस्तो अहिले होटल प्रयोग गर्न सहज नभएको बताए ।

‘गत वर्षमा विदेशबाट नेपाल आउनेलाई क्वारेन्टिन राख्नका लागि होटललाई प्रयोग गरिएको थियो, उनीहरु संक्रमित थिएनन्,’ उनले भने, ‘तर अहिले अवस्था फरक छ संक्रमणको दर उच्च छ भने क्वारेन्टिनभन्दा पनि आइसोलेसनको माग बढी छ ।’

उनका हालसम्म हानले यसबारेमा कुनै निर्णय गरिसकेको छैन । न त सरकारले नै हानसँग यसका लागि कुनै पहल अगाडि बढाएको छ । तर सरकारले माग गरेको र आवश्यकताका आधारमा होटलहरुले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्न भने सकिने उनको भनाइ छ ।

शाहले अहिले होटललाई आइसोलेसनका रुपमा प्रयोग गर्नु पर्दा ४ वटा विषय महत्वपूर्ण हुने बताए ।

जसमा सबैभन्दा पहिले होटल र अस्पतालको दूरी टाढा हुनु भएन । उनले कोरोनाको नयाँ भेरियन्ट पहिलोको तुलनामा कडा देखिएका संकेतका आधारमा संक्रमितका लागि एउटा मेडिकल टीम, अक्सिजनको आवश्यकता हर समय आवश्यक पर्ने देखिएको छ । त्यसैले अस्पताल र होटलको दुरी टाढा हुन नहुने उनको भनाइ छ ।

त्यसैगरी दोस्रो विषय कामदार र कर्मचारीहरुको छ । जसमा कर्मचारीले कोरोना संक्रमितको उपचारका लागि आउन सहज मान्ने अवस्था रहन्न । यदि कसैले सेवाका लागि आउन चाहेको अवस्थामा पीपीईलगायतका सामग्रीको उपलब्धता र उनीहरु आफै संक्रमित भएमा राज्यबाट निःशुल्क उपचार तथा बीमाको व्यवस्था हुनु आवश्यक रहेको शाहको भनाइ छ ।

तेस्रो पक्ष भनेको होटल रहेको स्थान र त्यहाँ वरिपरीको समूदाय । गत वर्षका एकाध घटनालाई हेर्दा छरछिमेक तथा समूदायबाट क्वारेन्टिन राख्न समेत समस्या आएको थियो । यस्तो हुँदा सरकारले क्वारेन्टिन वा आइसोलेसनका रुपमा होटललाई प्रयोग गर्दै गर्दा उक्त होटल रहेको समूदायका विषयमा सरकारले जिम्मेवारी लिनुपर्छ ।

त्यसैगरी चौथो नम्बरमा खर्च आउँछ । शाहका अनुसार गत वर्ष होटलहरुले क्वारेन्टिनमा राख्दा ११ हजार रुपैयाँमा ७ दिनसम्म सेवा दिएका थिए । तर अहिले पीपीईलगायतका सामग्रीमा पनि ठूलो खर्च हुने र उनीहरुलाई दिने सेवा सुविधा पनि राज्यले एकतर्फी तोक्दा घाटा हुने भएकाले सहमतिमै खर्चको टुंगो लगाउनुपर्ने शाहको भनाइ छ । बिरामीलाई कम्तीमा चार पटक पौष्टिकयुक्त खाना खुवाउने, औषधि खुवाउने लगायतका काममा मेडिकल र होटलका कर्मचारीमा खर्च ठूलो हुने भएकाले खर्चको निर्धारणमा सरकारले ध्यान दिनुपर्ने शाहको भनाइ छ ।

यता काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले होटललाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्ने विषयमा अहिले कुनै छलफल नभएको बताए ।

बरु काठमाडौंमा छिट्टै १ हजार बेडको कोरोना उपचारका लागि आइसोलेसन सेन्टर बनाउनका लागि आफूहरु लागीपरेको उनको भनाइ छ ।


क्लिकमान्डु