कञ्चनपुरको चाँदानी-दोधारामा ५०० कन्टेनर अट्ने सुख्खा बन्दरगाह बन्दै
काठमाडौं । कञ्चनपुरको चाँदनी–दोधारामा पहिलो पटक नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह अर्थात् एकीकृत जाँच चौकी बनाउने भएको छ ।
समितिले आज समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै चाँदनी–दोधारामा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको जनाएको हो ।
समितिले उक्त बन्दरगाहका लागि मास्टर प्लान तयार पारिसकेको जनाएको छ । समितिले हाल पूर्णमास्टर प्लान बनाएर ईएआई र डीपीआर स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयमा मास्टर प्लानको प्रतिवेदन पठाएको समितिका कार्यकारी निर्देशन आशीष गजुरेलले जानकारी दिए ।
त्यस्तै, समितिका सिभिल इन्जिनियर कमलप्रसाद जोशीले उक्त सुख्खा बन्दरगाह कसरी बनाउने, कति खर्च लाग्नेसहित मास्टर प्लान बनाएको बताए ।
सुदुरपश्चिम प्रदेशमा रहेका ९ वटा जिल्ला र गोदवारी राजधानी रहेको कञ्चापुरको चाँदनी–दोधाराको निर्माणका लागि १९ हजार ५३९ वर्ग किलोमिटर ओगटेको इञ्जिनियर जोशीले बताए ।
हाल उक्त बन्दरगाहसम्मको सडक जोड्नका लागि सरकारले ६.२ किलोमिटर सडक बनाइ रहेको उनले जानकारी दिए । समितिले बन्दरगाह तथा एकीकृत जाँच चौकीका लागि २८० सामूदायिक वनको उपयोग गर्ने भएको छ ।
समितिले पहिलो पटक बनाउने भएको बन्दगाहमा विभिन्न सेवा सुविधा उपलब्ध हुनेछ । जसमा भन्सार जाँचदेखि बैंक, क्वारेन्टिनलगायत सम्पूर्ण सेवाको सुविधा हुनेछ ।
‘हाल नेपालमा वस्तु तथा सेवाको आयातको लागि भैरहवा, नेपालगञ्जबाट गर्दै आएका छौं,’ इञ्जिनियर जोशीले भने, ‘तर, कञ्चनपुरबाट आउन सकेमा छिटो, छरितो, लागत कम, सस्तो हुनेछ ।’
समितिका अनुसार दोधरा चाँदनी बन्दरगाह निर्माण सम्पन्न भएमा सहज तरिकाले आयात तथा निर्यात गर्न सक्ने विश्वास लिएको छ । साथै, कञ्चनपुरको वासिन्दाको जनजीवन अझ सहज हुने समितिले दावी गरे ।
रेलवेबाहेक अन्य पूर्वाधार बनाउन ७ अर्ब
समितिले दुई चरणमा बजेट छुट्टयाएको छ । पहिलो चरणमा सुख्खा बन्दरगाहको लागि रेलबाहेकको सम्पूर्ण पूर्वाधार बनाउने छन् ।
उक्त पूर्वाधार निर्माणका लागि ६ अर्ब ९८ करोड १६ लाख ७६ हजार खर्च हुने अनुमान गरिएको छ । साथै दोस्रो चरणमा रेलवे कटेक्टिभिटी रहेको छ । जहाँ कार्गो, कार्गो ह्यान्डलिङका सम्पूर्ण पूर्वाधार बनाउने भएको छ । उक्त पूर्वाधारको लागि १२ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । तर, उक्त पूर्वाधार दोस्रो चरणमा बन्ने भएकाले समय लाग्ने जोशीको भनाइ छ ।
समितिको अनुसार चाँदनी बन्दरगाह निर्माण सम्पन्न हुनका लागि ३ वर्ष १० महिना लाग्ने जनाएको छ । जसमा मास्टर प्लान बनाउनका लागि ३ महिना, ईआए र डीपीआरका लागि १५ महिनाको समय तोकिएको छ । साथै, टेन्डर आह्वानका लागि ४ महिना रहेको छ भने निर्माणको लागि २ वर्ष समयअवधि राखिएको छ ।
समितिका कार्यकारी निर्देशक गजुरेलले आगामी एक वर्षभित्र ईआए, डीपीआर सकेर सोही वर्षमा टेन्टर आह्वान गर्ने योजना बनाएको बताए ।
‘कहिलेकाँही ईआए र डीपीआर बनाउन ढिलो पनि हुनसक्छ । तर, समितिले योजना बनाएअनुसार सम्पूर्ण कार्य समयमै भएमा तोकेकै समयवधिमा सम्पन्न गर्नेछ,’ उनले भने ।
५ सय कन्टेर अट्ने क्षमताको पार्किङ बन्ने
सुख्खा बन्दरगाहमा तीन वटा गेट हुनेछन् । जसमा बनाउने भनिएको गेट आयात, निर्यात र मानिसको आवतजावतका लागि छुट्टाछुट्टै हुनेछ । जसबाट ट्रक तथा कन्टेनर वस्तु तथा सेवा आयात निर्यात हुनेछ ।
समितिले सो बन्दरगाह पाँच वर्षको निर्माण मोडालीटीमा करिब ५ सय वटा ट्रक तथा कन्टेर पार्किङ गर्न सक्ने क्षमताको निर्माण गर्ने भएको छ । तर, आगामी दिनमा अर्थात ४० वर्षपछि ३० हजार क्षमताको निर्माण गर्ने योजना बनाएको जोशीकोे भनाइ छ ।
त्यसैगरी चाँदनीको बन्दरगाहमा २ वटा वेयरहाउस बन्नेछ । साथै, सो बन्दरगाहमा बैंक, किचन, ल्याव, ट्रक पार्किङ, वाटर ट्याङ एरिया, क्यान्टिन ब्लक, आर्मी पुलिस फोर्स अफिस, रेलवे प्लेटफर्म, कन्टेनर यार्ड र रेलवे वेयरहाउस बन्नेछ ।
त्यस्तै, पहिलो पटक समितिले बनाउँदै गरेको चाँदनीको सुख्खा बन्दरगाहको सर्वसाधारण तथा वासिन्दाको कुनै विरोध नरहेको कार्यकारी निर्देशक गजुरेलको भनाइ छ ।