बजारमा नयाँ खालको उपकरण चाहियोः मेखबहादुर थापा



चार्टर्ड एकाउन्टेट्स मेखबहादुर थापा मर्चेन्ट बैंकर एशोसिएशनका अध्यक्ष हुन् । धितोपत्र बोर्डमा काम गरेका थापासँग सिदार्थ क्यापिटलमा समेत काम गरेको अनुभव छ । एनआईबिएल एस क्यापिटलका डेपुटी सीइओ रहेका थापासँग मर्चेन्ट बैंकिङको व्यवसाय तथा सेयर बजारको बढ्दो उत्तारचढावका विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानीः

मर्चेन्ट बैंकरहरुको अहिले व्यवसाय कस्तो छ ? कोभिडको समयमा कसरी चलिरहेका छन् ?

मर्चेन्ट बैंकिङ व्यवसायमा कोभिडको असर पक्कै पनि छ । लगानीकर्तालाई हामीले प्रत्यक्षरुपमा सेवा दिनुपर्ने हुन्छ । कोभिडको पहिलो लहरका बेला हामीले शाखाहरु बन्द गरेर भर्चुअलरुपमा सेवाग्राहीलाई सेवा दियौं । ब्रोकरहरुको डिआइएसको हकमा उनीहरुलाई एक्सेस दिएर सेवा दिएका थियौं । अहिले कोरोनाको दोस्रो चरणको जोखिम देखिएको छ । यसका लागि सरकारको मापदण्ड चाहिन्छ । हामीले अहिले सामाजिक दूरी कायम राखेर व्यवसाय चलाएका छौं । कोरोनाले गर्दा समग्रमा नकारात्मक असर व्यवसायमा परेको छैन । यो समयमा पनि नेप्से परिसूचक उकालो लागेको छ । जसले गर्दा कारोबार पनि बढ्यो । कोरोनाले गर्दा केही समय ठप्प भएपनि व्यवसायमा नकारात्मक असर भने परेको छैन ।

सबै बैंकहरुले सहायक कम्पनी खोलेका छन्, विकास बैंकले पनि खोलिसके । मर्चेन्ट बैंकिङ व्यवसायको भविष्य कस्तो देख्नुहुन्छ ?

मर्चेन्ट बैंकिङको व्यवसायको भविष्य त राम्रो नै देखिन्छ । जुन किसिमले यो व्यवसाय बढ्दो छ, यसको दायारासमेत बढ्दो क्रममा छ । ५ वर्षअघि निष्काशनमात्र गर्ने काम हुन्थ्यो । अहिले पोर्टफोलियो व्यवस्थापन, डिपीको काम गरेका छन् । पब्लिक इस्युमा बुक बिल्डिङ विधि आएको छ । मर्चेन्ट बैंकर यसका लगानीकर्ता भएका छन् । यसबाहेक कर्पोरेट क्षेत्रमा व्यवसायिक परामर्शदाताको रुपमा समेत मर्चेन्ट बैंकरले काम गरिरहेको अवस्था छ । मर्चेन्ट बैंकरले फण्ड व्यवस्थापन अन्तर्गत सामूहिक लगानी कोषसमेत संचालन गरेको अवस्था छ ।

सबै क्षेत्रमा जस्तै मर्चेन्ट बैंकिङ व्यवसायमा प्रतिस्पर्धा बढी छ । सबै वाणिज्य बैंकले सहायक कम्पनी खोलेर काम गरेका छन् । विकास बैंकले पनि शुरु गरिसके । भोलिका दिनमा बीमा कम्पनीले पनि गर्न सक्छन् । मर्चेन्ट बैंकर एशोसियनको अध्यक्षको हिसाबले भन्नुपर्दा कोही आउन चाहन्छ भने स्वागत नै गर्नुपर्छ । खुला बजारमा व्यवसाय गर्ने अधिकार छ । तर, आइसकेपछि के गर्ने हो भने साँच्चिकै काम गर्ने गरी आउनुपर्यो । एक दुईजना मान्छे राखेर अनावश्यक प्रतिस्पर्धा गर्ने काम गर्नु भएन ।

व्यवसायको दायरा फराकिलो पार्नका लागि के-कस्ता नीतिगत व्यवस्थाको आवश्यकता छ ?

हामीले नियामकले गरेको व्यवस्थाअनुसार नै सबै काम गरेका छौं । हाम्रो काम गर्ने र गराउने सोचमा परिवर्तन हुनुपर्छ । कम्पनी तथा नियामकले सोच फराकिलो पार्नुपर्ने हुन्छ । अहिले गर्ने व्यवसायको दायारा पनि ठूलो नै छ । कर्पोरेट एड्भाइजरीको स्कोपको कुनै सीमा छैन । हामीले यसमा धेरै नै ठूलो व्यवसाय गर्न सक्छौं । बुक बिल्डिङको कुरा पनि आएको छ । यसमा जस्ता खाले कम्पनी पनि आउन सक्छन् । ती कम्पनीलाई ल्याउन सकिन्छ । बैंक तथा वित्तीय संस्थाले अनिवार्य गरेको कारण मात्रै अहिले ऋणपत्र निष्काशन गरिरहेका छन् । भोलिका दिनमा रियल सेक्टरले पनि ऋणपत्र ल्याउन सक्छन् ।

उदाहरणका लागि चिलिमे कम्पनीले विभिन्न प्रोजेक्ट बनाएको छ भने डिबेन्चर निकाल्न किन नसक्ने ? यस्तै शिवम् सिमेन्टले क्षमता विस्तार गर्न चाहेमा ऋणपत्र निकाल्न सक्छ । त्यो हिसाबले हामीले सोच्नुपर्छ । यसबाहेक प्राइभेट भेञ्चर क्यापिटल फण्डमा असीमित काम गर्न सकिन्छ । सूचिकृत नभएका कम्पनीमा समेत लगानी गर्न सकिन्छ । यसका लागि मर्चेन्ट बैंकर पनि प्राविधिकरुपमा सक्षम हुनुपर्यो । बिस्तारै डेरिभेटिभ मार्केट, सर्ट सेल होला । यी सबै काम गर्ने मर्चेन्ट बैंकरले नै हो । नियामक निकायले पनि समयअनुसार व्यवसायका नयाँ क्षेत्र खोल्दै जानुपर्छ ।

मर्चेन्ट बैंकरले सेयर बजारमा प्रत्यक्ष प्रभाव हुने सामूहिक लगानी कोषको कोष व्यवस्थापकका रुपमा काम गरिराखेका छन् । आइपीओको आरक्षण पाएर मर्चेन्ट बैंकरहरु ज्वाईँमात्र भए भन्ने आरोप छ नि ?

यसमा बुझाईको अलिकति समस्या देखिएको छ । सामाजिक सञ्जालमा विभिन्न खाले व्यथा पोखिएको होला । सबैभन्दा पहिला सामूहिक लगानी कोष के हो भन्ने बुझाइमा समस्या देखियो । सामूहिक लगानी कोष भनेको मर्चेन्ट बैंकर त होइन । हामीले फण्ड म्यानेजर मात्र हो । त्यो फण्ड त सर्वसाधारण जनताको हो । सामूहिक लगानी कोषले पाएको आरक्षण फण्ड म्यानेजरको रुपमा मर्चेन्ट बैंकरले पाएको होइन । जो लगानीकर्ताले सामूहिक लगानी कोषले आरक्षण पाएको विरोध गर्नु भएको छ । उहाँहरुले नबुझेर गरेको हो । सामूहिक लगानी कोषको लगानीकर्ता त सर्वसाधारण नै हो । फण्ड म्यानेजरका रुपमा हामी एनआइबिएल एस क्यापिटलले सुविधा पाएको होइन ।

अर्को मार्केट म्यानुपुलेसन गर्ने कुरा हल्ला धेरै हुन्छ । कतिपय अवस्थामा भएको पनि होला । यसमा नियामक निकायले हेनुपर्छ । सामूहिक लगानी कोषले लगानी गर्ने भनेको नियमले तोकेको क्षेत्रमा लगानी गर्ने हो । सामूहिक लगानी कोषले कुनैपनि स्टक किन्दा वा बेच्दा जवाफ दिनुपर्ने हुन्छ ।

पछिल्लो समय केही सामूहिक लगानी कोषले भित्री सूचनाका आधारमा समेत कारोबार गरेको देखियो नि ?

यसमा मैले यसै भन्न सक्ने अवस्था छैन । हाम्रो बजारमा सूचनाहरु निकै तरल हुन्छ । जुन किसिमले गोपनीयता हुनपर्ने हो त्यसमा चासो भएको पाइँदैन । हाम्रो बजारमा मर्जर, हकप्रद तथा लाभांशको हल्ला महिनौदेखि चलेको हुन्छ । धेरैजसो अवस्थामा सत्य पनि हुन्छ । यो बजारका लागि गंभीर कुरा हो । यसमा नियामक निकाय नै चनाखो हुनपर्छ । सूचिकृत कम्पनीका संचालकलाई जिम्मेवार समेत बनाउनुपर्छ ।

सेयर बजारको चासो निकै बढेको छ, डिम्याट खाता खोल्नेको संख्या बढेको छ । यसले नेपालको सेयर बजारलाई कस्तो प्रभाव पार्ला ?

जुन किसिमको चासो सेयर बजारमा देखिएको छ । यो उत्साहजन छ । तर, उत्साहजनक भएपनि बजारमा सही सूचना दिन सकिएन भने यसले दुर्घटना पनि निम्त्याउन सक्छ । अहिले डिजिटल युगमा सेयर बजार प्रवेश गरेको छ । यो बेलामा नियामक तथा सबै खाले स्टेक होल्डरले लगानीकर्तालाई सूचना दिने र जनचेतना जगाउने कुरामा मेहनत गर्नुपर्छ । अहिले लगानीकर्ताहरु सेयर बजारमा आएका छन् । कति बुझेर आएका होलान् कति नबुझेर आएका छन् ।

बजारमा जोखिम पनि हुन्छ भन्ने कुरामात्र सूचित गर्नुपर्छ । पूँजी बजारमा आएका लगानीकर्तालाई दीर्घकालीन रुपमा टिकाउने चुनौती हो । अहिले सेयर बजार बुलिस ट्रेण्डमा छ । भोलि बियरिसमा जाँदा अहिले आएका लगानीकर्ता पुनः बजारमा नफर्किने खतरा छ । सेयर बजारमा जोखिम पनि छ कमाइ पनि हुन्छ । बुझेर लगानी गर्नुपर्छ भनेर सबैलाई सूचना दिनुपर्छ ।

सेयर बजारमा चर्चा बढेको बेलामात्र हुनेगर्छ । मुद्रा बजारसँगै पूँजी बजारलाई पनि अगाडि बढाउने बेला हो । हाम्रो वित्तीय आवश्यकता पूर्ति गर्ने माध्यम मुद्रा बजार मात्र होइन, पूँजी बजार पनि हो कुरा बुझाउनुपर्छ । ठूलो लगानीका लागि विदेशी लगानी ल्याउनुपर्यो या बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने हो या पूँजी बजारबाट सम्भव हुने हो । यसको लागि सबैले सकारात्मक पहल गर्नुपर्छ ।

अहिलेको बुलिस ट्रेण्डलाई कुन कुराले सहयोग गरेजस्तो लाग्छ ?

हामीले नेप्से परिसूचक १२ सयभन्दा तल हुँदा प्राविधिक दृष्टिकोणले कम छ भनेका थियौं । अहिले हेर्दा नेप्से परिसूचक धेरै नै बढिसकेको छ । अहिले धेरै क्षेत्रको ओभर भ्यालु भएको देखिन्छ । बैंकबाहेक लघुवित्त तथा बीमाको व्यवसायको बृद्धिदर राम्रो देखिन्छ । बैंकिङमा पनि कोभिडले तहसनहस हुन्छ भन्ने अनुमान थियो । त्यो भएन । कम्पनी अनुसार भन्ने हो केहीको मूल्य बढी छ । अहिलेको इन्डेक्स बढाउनका लागि पछिल्लो समय आएका कम्पनीको ठूलो योगदान छ । बैंकको नै सेयर मूल्य हेर्यो भने दोब्बर भएपनि खासै बढेको छैन । तर, बीमा र जलविद्युत् अन्य क्षेत्रका कम्पनीको सेयर मूल्य धेरै नै बढेको हो ।

यसबाहेक अहिले बुलिस ट्रेण्ड आउनुको पछाडि ब्याजदर अर्को कारण हो । यसबाहेक डिजिटलले पनि यसलाई सहयोग पुर्याएको हो । पूँजी बजारको बिस्तार नै धेरै बढेको छ । भोलिका दिनमा जति नै बढ्दै जान्छ त्यही अनुसार घट्ने सम्भावना हुन्छ । लगानीकर्ताले आफ्नो नाफा कसरी बुक गर्ने भनेर सोच्नुपर्छ । बजार जति माथि जान्छ त्यही अनुसार जोखिम बढ्दै गएको हुन्छ । यो कुरालाई लगानीकर्ताले बुझ्नुपर्ने हुन्छ ।

धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा बुक बिल्डिङ प्रणाली लागू गरेको छ । यसले पूँजी बजारमा रियल सेक्टरका कम्पनी भित्र्याउन कस्तो भूमिका खेल्ला ?

बुक बिल्डिङ प्रणालीलाई स्वागत गर्नुपर्छ । यो विश्वव्यापीरुपमा कार्यान्वयनमा आएको विधि हो । हाम्रोमा ढिलो भएपनि आएको छ । हाम्रो सोच जहिले पनि साधारणसभा लगानीकर्ताको दृष्टिकोणले मात्र सोच्यौंं । भोलिका दिनमा उद्यमी नै जन्माउन सकिएन भने लगानीकर्ता आउन सक्दैनन् । नियामक निकायले दुवैलाई ब्यालेन्सरुपमा हेर्नुपर्छ ।

बुक बिल्डिङ प्रणाली आएपछि मर्चेन्ट बैंकरको हिसाबले हेर्दा निजी क्षेत्रका कम्पनी सोधीखोजी गरेका छन् । उनीहरुको निकै चासो बढेको छ । अहिलेसम्म दुई÷तीनवटा कम्पनीले सम्झौतासमेत गरिसकेका छन् । सेयर बजारले अर्थतन्त्रको ऐना भएन भन्ने थियो । यो सफल भएमा रियल सेक्टरका कम्पनी आएमा बजार अर्थतन्त्रको ऐना बन्छ । रियल सेक्टर कम्पनीलाई पारदर्शी हुनका लागि दबाब दिन्छ । पारदर्शीताले नियामकले हेर्ने दृष्टिकोण फरक हुन्छ । पहिला जस्तो तितो अनुभव रियल सेक्टरको कम्पनीमा नहोला ।

सेयर बजारको दोस्रो कारोबारमा नयाँ उपकरणहरु थप्ने कुरा आएको छ । ती उपकरणहरु के के हुन सक्छन् ? र, हामी कतिको तयार छौ नयाँ उपकरणको कारोबार गर्नका लागि ?

हामी तयार छौं कि छैनौ भन्ने प्रश्न नै उपयुक्त होइन । हामीले जहिले पनि सबै चिज भएपछि गर्छु भनेर त्यो कहिल्यै हुँदैन । नेपालको माटो सुहाउँदो बनाएर उपकरण ल्याउनुपर्छ । बुक बिल्डिङ पनि बाहिरको जस्तो छैन । हामी तयार छैनौं भनेर बस्यौं भने कहिल्यै पनि हुँदैन ।

सबैभन्दा पहिला गर्न सक्ने इन्ट्र डे ट्रेडिङ र सर्ट सेलिङ गर्न सक्छौं । केही स्टकहरुमा फरवार्ड कन्ट्रयाक ल्याउन सक्छौं । यसबाहेक इन्डेक्स फ्युचर बेस्ड डेरिभेटिभ ल्याउन सकिन्छ । यसका लागि सेलेक्टिभ कम्पनीको इन्डेक्स बनाउनुपर्छ । लिडिङ कम्पनी छानेर इन्डेक्सको डेरिभेटिभ बजार शुरु गर्न सकिन्छ । यसका लागि अक्सन मार्केट चलाउनुुपर्छ । सर्ट सेलमा हुँदै नभएको सेयर बेच्ने हो । त्यसका लागि सेयर दिनुपर्ने हुन्छ । यसका लागि अक्सन मार्केटमा सहभागी हुन पाउनुपर्यो । त्यसमा पनि सहभागी हुन पाइएन भने तपाईँले कसैसँग उधारो लिएर सेटलमेन्ट गर्ने हो । बजारमा नयाँ खाले उपकरण चाहिएको छ । उपकरण ल्याउने काम स्टक एक्सचेन्जले हो । नियामक निकायले पनि चासो दिनुपर्छ ।
यसबाहेक कर्पोरेट बण्ड, डिबेन्चर बन्डको कारोबार हुनुपर्यो । यसबाहेक ओटीसी मार्केटमा काम गर्न सक्छौं । यसबाहेक पिइभिसी ल्याउन सक्छौं । अहिले हामीले ओपन इन्डेट फण्ड ल्याएका छौं ।

एनआइबिएल एस क्यापिटलले के काम गर्दै छ ?

एनआइबिएल एस क्यापिटल मर्चेन्ट बैंकिङमा सम्भव भएसम्म सबै सेवा दिइरहेको छ । इस्यु म्यानेजर, आरटिएस, डिपी सबै सुविधा दिएका छौं । डिपी सेवाको लागि इन्भेष्टमेन्ट बैंकको शाखाबाट र कतिपय स्थानमा छुट्टै शाखा समेत सञ्चालन गरेर दिएका छौं ।

अहिले हामीले व्यवस्थापन गरेको ३ वटा सामूहिक लगानी कोष बजारमा छ । सम्बृद्धि फण्ड, सहभागी फण्ड र प्रगति फण्ड ३ वटा बजारमा छ । जसमा २ वटा क्लोज हो भने एउटा ओपन हो । जुन हामीले पहिलो पटक ल्याएका हौं ।

त्यसबाहेक प्राइभेट इक्विटी भेन्चर क्यापिटलको क्षेत्रमा काम गर्ने तयारीमा छौं । हामीले बैशाख १३ गतेदेखि एनआइबिएल सम्बृद्धि फण्ड २ भनेर निष्काशन गर्न लागेका छौं । यो क्लोज इन्डेट हो । एनआइबिएल सम्बृद्धि १ पुसमा सकिन लागेको छ । यसको सिरिजको रुपमा २ ल्याउन लागेका छौं । यो १ अर्ब २० करोड साइजको हो । १० वर्षे अवधीका लागि यो कोष ल्याउन लागिएको हो । यो ब्यालेन्स टाइपको फण्ड हो । यसका २०/३० प्रतिशत डिबेन्चर र मुद्दती निक्षेपमा लगानी गर्ने हो बाँकी सेयर बजारमा लगानी गर्ने हो ।

अहिलेसम्म सम्बृद्धि फण्डमा साढे ६३ प्रतिशत लाभांश बाँडेका छौं । साउनमा केही लाभांश दिनुपर्छ । अहिलेसम्म हाम्रो न्याब हेर्दा साढे १५ को हाराहारीमा छ । लगानीको दोब्बरभन्दा बढी प्रतिफल दिन सकिन्छ ।


पुष्प दुलाल