सार्वजनिक सवारीसाधनमा जीपीएस जडानः चालु आर्थिक वर्षभित्रै सफ्टवेर तयार हुने



काठमाडौं । सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि लागू गर्न खोजिएको ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) भेहिकल ट्र्याकिङ प्रणालीको सफ्वेयर चालू आर्थिक वर्षभित्रै तयार हुने भएको छ ।

यातायात व्यवस्था विभागले चालू आर्थिक वर्षभित्रैमा जीपीएस भेहिकल ट्रयाकिक प्रणालीको सफ्टवेयर तयार गर्नेगरी कार्य अघि बढाएको छ ।

‘चालु आर्थिक वर्षभित्रमै जीपीएस प्रणालीको सफ्टवेयर तयार हुन्छ, सफ्टवेयर निर्माण गर्ने परामर्शदाता छनोट भई ठेक्का सम्झौता भइसकेको छ’, विभागका निर्देशक रामचन्द्र पौडेलले क्लिकमाण्डूसँग भने, ‘परामर्शदाताले सफ्टवेयर निर्माण कार्य शुरु गरिसकेको छ ।’

२०७७ पुसमा करिब १ करोड रुपैयाँमा पेस/जीयोकम/हाईटेक भ्याली जेभीले सफ्टवेयर विकासको जिम्मेवारी प्राप्त गरेको हो । परामर्शदाताले सफ्टवेयर र हार्डवेयरको स्पेसिफिकेसन तयार गरिरहेको छ ।

विभाग र परामर्शदाताबीच सफ्टवेयर र हार्डवेयरको स्पेसिफिकेसन तयार गर्नका लागि मात्र सम्झौता भएको थियो । तर, हार्डवेयर र सफ्वेयरको संयोजन बिना जीपीएसको प्रभावकारीता बारेमा विस्तृत जानकारी प्राप्त गर्न सम्भव हुँदैन ।

निर्देशक पौडेल

ठेक्का सम्झौतामा परामर्शदाताले जीपीएस हार्डवेयर जडान गर्नुपर्ने उल्लेख थिएन । परामर्शदाताले २०७७ चैतको पहिलो सातादेखि काठमाडौं-बनेपा रुटमा सञ्चालन भइरहेको मयूर यातायातका ३ गाडीमा नमूनाको रुपमा जीपीएस प्रणाली जडान गरेको छ ।

यही नमूनाको आधारमा जीपीएसका लागि आवश्यक पर्ने सफ्टवेयरको कोडिङ भइरहेको छ । नमुना परीक्षणका लागि प्रयोग गरिएको सर्भर पनि परामर्शदाताकै रहेको छ ।

६ महिना सफ्टवेयरको काम गर्ने र ६ महिनामा हार्डवेयरको काम गर्ने समय सिमा तोकिएको छ । सफ्टवेयर विकासको कार्य सकिएपछि पाइलट प्रोजेक्टको रुपमा काठमाडौं-पोखरा, काठमाडौं-वीरगंज र काठमाडौं-जनकपुरका १०० वटा गाडीमा जीपीएस प्रणाली जडान गरिनेछ ।

पाइलेट प्रोजेक्टको सर्भर भने सरकारी डाटा राख्ने केन्द्र (जीआईडीसी) मा राखिनेछ । पाइलेट प्रोजेक्ट अवधि १ वर्षको रहनेछ । पाइलट प्रोजेक्टको सफलताको आधारमा अन्य रुटका गाडीमा पनि जीपीएस जडान गरिनेछ ।

जीपीएसले सवारीसाधनको गति, अवस्था र स्थानको जानकारी लिन मद्दत गर्छ । सवारी साधनको निगरानी गर्न जीपीएस प्रणाली जोड्न लागिएको हो ।

जीपीएस जडान गरिएपछि दुर्घटना न्यूनीकरण हुने दावी निर्देशक पौडेलको दाबी छ । तीव्र गतिका कारण दुर्घटना हुँदै आएकोमा गति तीव्र भएको खण्डमा तुरुन्त चालकलाई म्यासेज जान्छ । त्यसरी चालकको निगरानी हुने र उसको व्यवहार परिवर्तन हुनुका साथै अटेर गरे कारबाहीसम्म गरिने जनाइएको छ ।

जीपीएसले सवारीसाधन कुन रुटमा गुडेको छ । सवारीसाधनको गति कति छ । सवारीसाधनको लोकेसन ट्रयाक गर्न सकिन्छ ।

त्यस्तै गाडी कहाँ छ भन्ने कुराको जानकारी प्राप्त हुनेछ । जीपीएस प्रणाली पूर्ण रुपमा कार्यान्वय आएपछि सवारीसाधनलाई यात्रुले नै ट्र्याक गर्न सकिने मोबाइल एप तथा वेबको विकास गरिनेछ ।

जीपीएस जडान भएको सवारीसाधनको अवस्था बारे यात्रुले मोबाइल एप र वेवबाट पनि जानकारी लिन सकिन्छ । मोबाइल एप र वेब यात्रु, डाइभर र प्रहरीले हर्न सक्छन् । जीपीएसको निगरानी भने यातायात व्यवस्था विभागबाट हुनेछ ।

मोबाइल एप र वेबको मद्दतबाट यात्रुले आफू जाने स्थान, रुट र गाडीको अवस्था वा गाडी कहाँ छ भनेर हेर्न सक्ने छन् । मोबाइल एप रहेको लोकेसन हेरेर यात्रु गाडी आइपुग्ने स्थानसम्म जान सक्छन् ।


पुष्प दुलाल